© २०२३
बुटवल,४ फागुन । ग्यास सिलिन्डर पड्किएर घाइते भएका सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगिदै छ । भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लैजान लागिएको हो ।
भण्डारीलाई बम्बईको नेशनल वर्न सेन्टरमा उपचारका लागि लैजान लागिएको हो । उनको उपचार टिममा क्रिटिकल केयर हेड डा. प्रदीप तिवारी सहित ६ जना विशेषज्ञ चिकित्सक रहेका छन् ।
बुधवार राती बुद्धनगरस्थित घरमा ग्यास पडकिएर घाइते भएका भण्डारीको कीर्तिपुर वर्न अस्पतालमा उपचार गरिएको थियो । कीर्तिपुरमा उपचार सम्भव नभएपछि उनलाई मुम्बई लगिएको हो । ग्यास पड्किएर घाइते भएकी भण्डारीकी आमा हरिकलाको भने बिहीवार निधन भएको छ । भण्डारी गुल्मी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
चन्द्र र उनकी आमा हरिकला बुद्धनगरस्थित भाइको घरमा बस्थे । माथिल्लो तलामा भाइ हरिहरको परिवार बस्थ्यो भने तल्लो तलामा चन्द्र र उनकी आमा हरिकला ।
चन्द्र भण्डारी बुधबार राति नेपाली कांग्रेसका नेता सबुज बानियाको छोराको बिहेमा गएका थिए । उनी उतै खाना खाएर आउने भएकाले भान्सामा केही पाकेको थिएन ।
चन्द्र साढे ९ बजेतिर चन्द्र घर फर्किए । कांग्रेस नेता एनपी साउदले गाडीमा घरमै छोडेर फर्किएका थिए ।
त्यसको केहीबेरमा ठूलो बिस्फोटको आवाज आयो । भाइ हरिहर र बुहारी दौडिँदै तल्लो तल्लामा झरेका थिए ।
उनीहरूका अनुसार भुइँ तल्लामा धेरै धुवाँ थियो । चन्द्र भण्डारी छटपटाउँदै प्यासेजतिर आउँदै थिए । आमा भान्सा बाहिरको एक कुनामा कपडा जलेको अवस्थामा लडिरहेकी थिइन् ।
भान्सामा ग्यासको चुल्हो जस्ताको त्यस्तै छ । सिलिण्डरमा रेगुलेटर र पाइप पनि जोडिएकै अवस्थामा छ । चुल्हो बाहिर रहेको ग्यासको सिलिण्डर पनि राम्रै अवस्थामा थियो ।
घरको भान्साको ढोका फुटेको छ । झ्यालको सीसा फुटेको छ । भान्सा बाहिरको सानो स्टोरमा लगाइएको युपीभीसीको छानो उडेको छ भने ढोकाको सीसा पनि फुटेको छ ।
विस्फोटको आवाज सुनेपछि सामुन्नेका छिमेकी भरत घिमिरे छोरालाई लिएर भण्डारीको घरमा पुगेका थिए । चन्द्रका भाइ हरिहर गुहार गुहार भन्दै सहयोग मागिरहेका थिए । घिमिरे सहितका छिमेकी घरमा छिर्दा चन्द्र भण्डारी कपडा जलेको अवस्थामा कुर्सीमा बसेर मलाई बचाउ भन्दै याचना गरिरहेका थिए ।
घटनाको १५ मिनेटमै उनीहरुलाई अस्पताल पुर्याइएको घिमिरेले बताए ।