© २०२३
बुटवल,१ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यही फागुन १० गते सात दलीय सत्ता गठबन्धन भत्किएर पुरानो ५ दलीय गठबन्धन ब्युंतिने दावी गरेका छन् । सोमबार रुपन्देहीको क्षेत्र नं १ मा आयोजित कार्यकर्ता भेलामा महामन्त्री थापाले नेपाली कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग वार्तामा रहेको र राष्ट्रपति चुनावमा कांग्रेसले प्रस्ताव गरेको उम्मेदवार निर्वाचित हुने बताए । पुसको १० गते निर्माण भएको एमाले नेतृत्वको गठबन्धन फागुनको १० गतेसम्म भत्किन्छ थापाले भने । निर्वाचन अघिको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन ब्युँतिने उनको दाबी छ ।
राष्ट्रपतिमा पनि कांग्रेसले नै प्रस्ताव गरेको उमेदवार निर्वाचित हुने महामन्त्री थापाले बताए । एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भए सिंहदरबार र शीतलनिवासबाट समानान्तर सत्ता चल्ने उनको भनाइ छ । सबै पार्टीले यो कुरा भोगिसकेकाले एमाले उमेदवारलाई भोट नहाल्ने महामन्त्रीको दाबी छ ।