© २०२३
बुटवल,२७ माघ । रुपन्देहीको तिलोत्तमामा जारी आठौं मणिमुकुन्द रनिङशिल्ड भलिबल प्रतियोगिताको फाइनलमा जिल्ला भलिबल संघ स्याङजा र जिल्ला भलिबल संघ नवलपुरका बीच प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रबार भएको सेमिफाइनल खेलमा नवलपुरले जिल्ला भलिबल संघ गुल्मीलाई र स्याङ्जाले पर्वतलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । फाइनल प्रतिस्पर्धा माघ २८ गते शनिबार हुनेछ ।
नवलपुरले गुल्मीलाई ३–१ को सेटमा जित निकालेको हो । उसले २५–२३, २५–१८, १९–२५ र २५–१९ को अंकसहित गुल्मीलाई पन्छाउंदै फाइनलमा पुगेको हो । शुक्रबार नै भएको दोस्रो सेमिफाइनल खेलमा स्याङ्जाले जिल्ला भलिबल संघ पर्वतलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । स्याङजाले पर्वतमाथि २५–२१, २५–१५ र २५–२० को अंकसहित जित निकाल्न सफल भएको हो ।
प्रतियोगिता अन्तरगत अन्तिम दिन शनिबार बिहान तेस्रो स्थानका लागि जिल्ला भलिबल संघ गुल्मी र जिल्ला भलिबल संघ पर्वतका बीच विहान १० बजेदेखि हुने खेल संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए । यसैगरी फाइनल खेल दिउसो १ बजे हुने छ ।
तिलोत्तमा–२ स्थित क्लबको खेल मैदानमा जारी प्रतियोगिताको विजेताले रनिङ शिल्डसहित नगद १ लाख ५० हजार, उप विजेताले १ लाख नगद र तृतीय हुने समूहले ५० हजार र सान्त्वना हुने समूहले ३० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए ।
विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैरी बेस्ट सटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।