© २०२३
बुटवल, २५ माघ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दशौदी निर्वाचित भएका छन् । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको सीटमा उपनिर्वाचन भएको हो । सत्ता गठबन्धनका दशौदीले ४०२६ मतभार पाएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका माधव आचार्यले ३७२० मतभार पाएका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रबीर रायले १९२ मतभार पाएका छन् । निर्वाचनमा ३०५ मतदातामध्ये ३०४ जनाले मतदान गरेका थिए ।
रुपन्देहीको मर्मवारी गाउँपालिकाकी उपाध्यक्ष आशा सिंह भारतमा रहेकाले मतदानमा सहभागी नभएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीका अनुसार प्रदेशसभातर्फ ८७ मतमध्ये सबै र पालिकातर्फ २१८ मध्ये २१७ मत खसेको हो ।
सत्ता गठबन्धनको नागरिक उन्मुक्तिबाहेक सबै दलले एमालेका उम्मेदवार दसौंदीलाई समर्थन गरेका थिए ।