© २०२३
रोल्पा नगरपालिका–९ रिसवाङकी जुनकुमारी घर्ती तरकारी बेच्न दिनहुँ सदरमुकाम पुग्छिन । घर छेवैमा तरकारी संकलन केन्द्र स्थापना गरिए पनि उनी डोको वोकेर तरकारी विक्री गर्न निस्कन्छिन । पिठ्यूँमा ४०/५० किलो तरकारीले भरिएको डोको बोकेर घरवाट सदरमुकाम पुग्न उनलाई झण्डै २ घण्टा लाग्ने गर्छ । तरकारी वोकेर मात्र हैन बालवच्चा विरामी पर्दा समेत डोकोमा बोकेर अस्पताल ल्याउन उनलाई सहज लाग्छ ।
रोल्पाका प्रायः सवै वडामा सडक पहुँच पुगेको छ । वर्षातको समय वाहेक अन्य सिजनमा जिल्लामा प्रायः सवै वडा सम्म गाडी पुग्ने गर्दछ । टोल टोल सम्म गाडीको सुविधा विस्तार भए पनि ग्रामीण क्षेत्रका रोल्पालीहरूलाई गाडी भन्दा डोको नै प्यारो लाग्ने गर्दछ । डोको विनाको यहाँको दैनिकी करिव करिव असम्भव जस्तै वनेको छ । तरकारी विक्री गर्न सदरमुकाम आउँदा होस् या बिरामी लिएर अस्पताल पुग्दा होस डोको नै प्रयोग हुन्छ । किसानको दैनिक कामका अतिरिक्त अन्य सामान ढुवानीको समेत भरपर्दो सामाग्री बनेको छ रोल्पामा डोको । गाउँमा तरकारी संकलन केन्द्र भए पनि मैले दैनिक उत्पादन गर्ने तरकारी डोकोमा बोकेर सदरमुकाम ल्याउँछु रोल्पा नगरपालिका–९ गर्पाकी शितला वुढाले भनिन् । गाउँमा उत्पादन भएको तरकारी गाउँमै बिक्री गर्ने सजिलोका लागि तरकारी संकलन केन्द्र स्थापना भए पनि मलाई सदरमुकाम आएर विक्री गर्न नै सजिलो लाग्ने भएकाले उत्पादित तरकारी डोकोमा बोकेर ल्याउने गरेको छु कृषक बुढाले भनिन् ।
गाडीको भरपर्दो सुबिधा पनि छैन, गाडी मिलिहाले भाडा निकै चर्को तिर्नु पर्दा तरकारी बेचेको पैसा भाडामै ठिक्क हुने भएकाले तरकारी बिक्री गर्न आउँदा पैदल हिँड्ने गरेको अर्का कृषक जुनकुमारी घर्तीको भनाइ छ । १५ मिनेट दुरीको बाटोमा अटोले प्रति सवारी १ सय र तरकारीको प्रति डोका १ सय भन्दा बढी लिने भएकाले आफूहरू गाडी प्रयोग नगरि पैदलै हिँड्ने गरेको उनको भनाइ छ । गाउँगाउँमा सडक बिस्तार भए पनि गरिव विपन्न र किसानलाई भन्दा सम्पन्नवालालाई नै फाईदा पुगेको छ घर्तीले भनिन् ।
गाउँमा विरामी पर्दा सजिलोको लागि हरेक टोलमा स्टेचरको व्यवस्था गरे पनि लामो दुरीमा डोको प्रयोग गरेर अस्पताल लैजाने गरेको रोल्पा नगरपालिका १० धवाङका महिला स्वास्थ्य स्वयमसेविका भिमा महराको भनाइ छ । गाउँकै हेल्थपोष्टमा आउनको लागी स्टेचर प्रयोग भए पनि सदरमुकाममा रहेको अस्पताल सम्म जाँदा डोको प्रयोग हुन्छ महराले भनिन् । सडक विस्तार सँगै गाउँमै एम्बुलेन्स आउने भए पनि चर्को भाडाका कारण परिवार तथा छिमेकीले डोकोमा वोकाएरै अस्पताल लैजाने चलन हटेको छैन महराले भनिन ।
ग्रामीण क्षेत्रमा निकै लोकप्रीय र बहु उपयोगी मानिएको डोको पछिल्लो पुस्तासम्म आउदा लोप हुने हो की भन्ने चिन्ता देखिन थालेको छ । डोको वुन्ने सिप सिक्न नयाँ पुस्ताले चासो नदेखाएका कारण लोप हुन सक्ने भन्दै आफुहरूले पुस्ता हस्तान्तरण कार्यक्रम अन्तरगत डोको, नाङ्लो वुनाई तालिम संचालन गरेको जेष्ठ नागरिक जिल्ला संघ रोल्पाका अध्यक्ष तेजराज आचार्यले जानकारी दिए । डोको बहुउपयोगी हुनुको साथै नेपाली मौलिक वस्तु पनि भएकाले यसको संरक्षणमा लाग्नु पर्ने आचार्यको सुझाव छ । स्थानीय वाँस निगालो वाट वन्ने डोको, सुपो, मान्द्रो जस्ता सामानको ठाउँमा प्लाष्टिकजन्य वस्तुले स्थान लिदा मौलिक सामग्री लोप हुँदै गएको प्रति अध्यक्ष आचार्यले चिन्ता व्यक्त गरे ।
बाँसको डोको, मान्द्रो, सुपो जस्ता परम्परागत सामाग्री उत्पादन गरि जीविकोपार्जन गरिरहेका व्यक्तिहरूको पेशा समेत संकटमा पर्दै गएको छ । वर्षभरि यस्ता सामान उत्पादन गरेर दशै तिहारको समयमा बिक्री गर्न सदरमुकाम झर्ने चलन समेत घट्दै गएको वताईन्छ । जिल्लाका धान उत्पादन नहुने ठाउँका मान्छेहरूले बाँस र चोयाबाट निर्मित विभिन्न सामाग्रीहरू उत्पादन गरि धान संग सटही गर्ने चलन समेत बिस्तारै हट्दै गएर वस्तु विनिमयको सट्टा मुद्रा विनिमय हुन थालेको बताइन्छ ।
वाँस निगालोवाट उत्पादीत वस्तुलाई प्लाष्टिकजन्य वस्तुले विस्थापन गर्न थालेसँगै व्यवसायीक रूपले उत्पादन गरिदै आएका वास निगालो उत्पादन पनि कम हुदै गएको वताईन्छ । विगतमा वास निगालोलाई बहु उपयोगी सामाग्रीको रूपमा प्रयोग गर्दा यसको संरक्षणमा समेत जोड दिदै आएकोमा पछिल्लो दिनमा यसको संरक्षणमा त्यती ध्यान पुग्न सकेको छैन सामुदायिक वन उपभोक्ता महासंघ रोल्पाका अध्यक्ष मनसिं डाँगीले भने । वर्षेनी सामुदायिक वनमा वृक्षारोपण गर्दा वास निगालो रोपणलाई प्रवद्र्धन गर्ने गरि प्रोत्साहन गरिरहेका छौ अध्यक्ष डाँगीले भने ।