© २०२३
सल्यान(बुटवल टुडे) माघ – सल्यानको त्रिवेणी गाउँपालिकाले किसानहरुले पालेका पशुहरुको बन्ध्याकरण तथा कुकुर र विरालोलाई रेविज विरुद्धको खोप लगाउने भएको छ । जसका लागि यही माघ २० गते गाउँपालिकाले पशु स्वास्थ्य शिविर सञ्चालन गर्दैछ । त्रिवेणी गाउँपालिकाको वडा नम्बर २ कारागिठीमा सञ्चालन हुने उक्त शिविरमा निःशुल्क रुपमा सेवा प्रदान गरिने छ । पशु बन्ध्याकरण, कुकुर र विरालोलाई रेविज विरुद्ध खोप, बाख्रामा आन्तरिक परजीवि नियन्त्रण तथा पशुपन्छीको उपचार र औषधि वितरण गरिने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढाले जानकारी दिए ।
अर्काे मिति तय गरेर वडा नम्बर ५ मा पनि पशु स्वास्थ्य शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । पालिकाको सबै वडावासीलाई सेवा दिनेगरेर शिविर सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले जानकारी दिए । गाउँपालिकाले गत वर्ष वडा नम्बर ३ र ४ मा शिविर सञ्चालन गरेको थियो ।
पशुपालनका लागि उपयुक्त वातावरण रहेको त्रिवेणी गाउँपालिकामा यो व्यवशायलाई प्रवद्र्धन गर्नका लागि ‘कृषकको उत्पादन, त्रिवेणी गाउँपालिकाको अनुदान कार्यक्रम’ सञ्चालन हुँदैछ । लोकल कुखुरा उत्पादनका लागि कृषकलाई सहयोग देखी उन्नत पशु खरिद, खोर तथा गोठ सुधार लगाएतका कार्यक्रमका लागि अनुदानको कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष रावतले बताए ।अर्थतन्त्रको महत्वपूर्ण स्थान ओगटेको कृषि र पशुपालन व्यवसायलाइ प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरु संचालन गरि पशु उत्पादन एवम उत्पादकत्व वृद्धि मार्फत पालिकाको आयआर्जन बढाउने गाउँपालिकाको लक्ष रहेको छ ।