© २०२३
आज मितब्ययिता दिवस हो । मितब्ययिता भनेको कमभन्दा कम खर्च गरेर आम्दानीको केही भाग बचत गर्नु भन्ने जनाउँछ । संस्कृतमा एउटा भनाइ छः यावत जीबेत् सुखम् जीबेत्, ऋणं कृत्वा घृतं पिबेत् । यसको अर्थ हुन्छः जति बाँचिन्छ सुखसँग बाँच्ने, ऋण गरेर पनि घिउ पिउने । अधिकांश मानिसमा यो कुरा लागू भएको देखिन्छ । यो मितब्ययिताको ठीक उल्टो कुरा हो । यहिँबाट शुरु हुन्छः भ्रष्टाचार, कमिशनखोरी, शोषण, बेइमानी, चोरी चकारी, अपराध, डकैती, लूटपाट बस्तुहरूको दुरूपयोग आदि आदि । ऋण गरेर घिउ खान थालियो भने त्यो ऋण तिर्नुपर्दा अर्कोसँग ऋण लिनुपर्छ । ऋण चुलिँदै गयो भने बास बस्ने थलो बेच्नुपर्छ । बास हराउँछ । गास हराउँछ । परिवारको तङ्गभङ्ग हुन्छ । तर, आम्दानीसँग मेल खाने खर्च गरियो र केही मात्रामा बचाउँदै गइयो भने त्यो बचत निश्चित समयमा काम लाग्छ । जस्तै बिरामी पर्दा उपचार गर्न सहयोग मिल्छ । कुनै भैपरि आउने काममा सहयोगी हुन्छ । अहिलेको यो समाज भनेको पूँजीवादी समाज हो । पूँजी छैन भने मानिसलाई बाँच्न सम्भव हुँदैन । आफै बाँच्न समस्या हुन्छ भने सामाजिक काम कसरी गर्नु ? त्यसकारण पनि मितब्ययी हुनु नितान्त आवश्यक छ ।
पैसामामात्र हैन, हरेक कुरामा मितब्ययिता अपनाउनु जरुरी हुन्छ । कतिपय मानिसले घरमा धारा जोडिएको छ, मिटरमा चढेको पैसा तिरिएकै छ, किन पानीको बचत गर्ने भनेर पानीलाई मोटरले तान्ने र ब्यापक दुरूपयोग गर्ने गर्छन् । यसो गर्दा एकातिर पानी दुरूपयोग हुन्छ भने अर्को उपभोक्ताको धारामा पानी नगएर खानको लागि पनि समस्या हुन सक्छ । खाद्यान्नहरूको दुरूपयोग गर्नेहरू थुप्रै हुन्छन् । आम्दानी बेसी छ भनेर त्यसको दुरूपयोग गर्नुहुँदैन । बचत गरेर सामाजिक काममा लगाइयो भने त्यसले समाजलाई फाइदा हुन्छ । लगानी गर्नेको नाम सार्वजनिक रूपमा लिइन्छ । कुनैपनि बस्तुको निर्माणको शुरुवात ब्यक्तिबाट हुन्छ । त्यो मितब्ययी ब्यक्तिबाटै भएको हुन्छ । आजभोलि कतिपय मानिसले एकजनालाई प्रयोग गर्न दशौँ थरीका कार, मोटरसाइकिल किन्ने गरेका हुन्छन् । ग्यारेज गाडीले भरिएको हुन्छ । गाडीहरू फेर्दै एक्लै हिँड्न शान ठान्छ । एकै ठाउँमा पुग्नु छ, तर, छिमेकीलाई लिफ्ट दिँदैन । यस्ता अहम्वादी स्वभावहरू बढिरहेका छन् । जबकी एउटा गाडी नै उसलाई पर्याप्त हुन्छ भने जथाभाबी गाडी किनेर थुपार्नुको आवश्यकता किन ? उसले त्यसरी गाडी किन्नको लागि धन कहाँबाट प्राप्त गर्छ ? त्यो धन अरूबाट शोषण गरेको हुन्छ । कुनै न कुनै अनियमितता गरेर कमाएको हुन्छ । सामाजिक सेवामा पनि उसले कमाउने ठाउँमामात्र लगानी गर्न पुग्छ र आफूलाई समाजसेबी भन्दै आएको हुन्छ । यो मितब्ययिताको परिभाषाभित्र पर्दैन ।
मितब्ययी हुनु भन्दैमा सन्तुलित खाना नै नखाने, कपडा किन्न कञ्जुस्यायीँ गरेर जाडोमा पनि न्याना कपडा नलगाउने, पैसा खर्च हुन्छ भनेर पढ्नका लागि किताव पनि नकिन्ने, बालबच्चालाई शिक्षा दिन नखोज्ने, परिवारलाई असन्तुष्टिमा राख्ने भन्न खोजिएको छैन । आवश्यकतामा खर्च गर्नुपर्छ । बचत मात्र गर्छु भनेर पनि हुँदैन । कञ्जुस भएर गरेको बचत प्रत्युपादक पनि हुन पुग्छ । उचित कुरामा ऋण लिएर पनि काम गर्नुपर्छ । तर, घिउ पिउनको लागि ऋण काढ्न थालियो भने त्यो मितब्ययिताको विरुद्धमा हुन्छ । मितब्ययी किन बन्नु आवश्यक हुन्छ भने त्यसबाट समाजलाई सहयोग गर्न सकिन्छ । आफ्नै जीवनका विभिन्न अबसरहरूमा काम लाग्छ । जस्तै बिरामी पर्दा उपचार खर्चमा काम लाग्छ । समाजमा घट्ने कतिपय दैबी प्रकोपमा परेका मानिसलाई सहयोग गर्न सकिन्छ । ट्रष्ट खडा गरेर सामाजिक क्षेत्रमा लगानी गरी सामाजिक ब्यक्तित्व विकास गर्न सकिन्छ । कुनै उद्योग, प्रतिष्ठान खोल्न सकिन्छ । नेपालकै सन्दर्भमा भन्नुपर्दा कतिपय मानिसले छोराछोरीको विहे गर्दा लाखौँ हैन, करोडौँ रूपैयाँ खर्च गर्न तयार हुन्छन् । तर, नगरपालिकाका कण्टेनरमा खाना खोजेर बाँचेका नाबालकहरूलाई कसैले सहयोग गर्न चाहन्न । जबसम्म मितब्ययी भएर जम्मा हुन आएको पूँजीलाई समाज सेवामा लगानी गर्ने सोँच मानिसमा पलाउँदैन तबसम्म समाजमा उन्नति हुन सक्दैन । यो कुरा सबैले बुझ्नु जरुरी हुन्छ ।