© २०२३
दश बर्षे सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएका पीडित तथा सरोकारवालाहरूको अन्तक्र्रिया कार्यक्रममा बेपत्ता पारिएका परिवारहरूले आयोगसँग पीडा व्यक्त गरेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालले गुल्मीको सदरमुकाम तम्घासमा आयोजना गरेको कार्यक्रममा वेपत्ता पारिएका व्यक्तिका परिवारलाई अहिलेसम्म सरकारले कुनै वास्ता नगरेको भन्दै उनीहरूले आफ्नो पीडा पोखेका छन् ।
जीवनभर साथ दिने जीवन साथी र आफन्त नहुँदाको पीडाले एकातिर सधैभरि मुटु भक्कानिने र अर्कातिर यति लामो समयसम्म पनि सरकारले वेपत्ताहरूको खोजी र उनीहरूको मर्दो ज्यूँदोको अवस्थाको वारेमा यकिन गर्न नसकेको भन्दै आयोगका सदस्यहरूसँग उनीहरूले गुनासो गरेका हुन् ।
बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगले गुल्मीमा पहिलो पटक आयोजना गरेको उक्त अन्तक्र्रिया कार्यक्रममा आयोगले हालसम्म गरेका र भविष्यमा गर्ने कामकारवाहीवारे जानकारी गराउने, पीडित परिवारसँग छलफल गर्ने, पीडितहरूको अपेक्षा बारेमा जनकारी हासिल गर्ने र विस्तृत अनुसन्धानको कार्यबारे जानकारी गराउने उद्देश्यले जिल्लामा उक्त कार्यक्रमको आयोजना गरिएको आयोगका सदस्य आई बहादुर गुरुङ्गले बताए ।
अन्तक्र्रिया कार्यक्रममा वेपत्ताको हकमा गुल्मी जिल्लाबाट आयोगमा परेका उजुरीहरू मध्ये २४ वटा उजुरीहरू बिस्तृत छानविनमा रहेको र आयोगको क्षेत्राधिकार भित्र नपरेका ४ सय १४ थान उजुरी सत्य निरूपण तथा मेलमिलाप आयोगमा पठाइएको र उक्त पठाएका उजुरीहरू मध्ये १ सय ३७ थान उजुरी फिर्ता आई बिस्तृत छानविनमा लैजाने निर्णय गरिएको आयोगका सदस्य गुरुङ्गले जानकारी गराएका थिए ।
कार्यक्रममा आयोगले आगामी दिनमा विस्तृत छानविनको क्रममा व्यक्ति वेपत्ता पारिएको घटना घटेको स्थानमै गई पीडितको सहभागितामा पीडित मैत्री व्यवहारको माध्यमबाट पीडित परिवार, घटनाका साक्षीहरू, आयोगलाई जानकारी दिन चाहने व्यक्तिहरूसँग सोधपुछ गरी थप प्रमाण संकलन गर्ने लक्ष्य रहेको समेत बताइएको छ ।
गुल्मी जिल्लाबाट परेका कुल २७ थान उजुरीहरू मध्ये बिस्तृत छानबिनमा २४ वटा, सत्य निरूपण तथा मेलमिलाप आयोगमा पठाइएको १ र तामेलीमा २ थान रहेको आयोगले जनाएको छ । à