© २०२३
भैरहवा–परासी सडक खण्डमा रहेको जाफरी आयल सप्लायर्समा जिल्ला अनुगमन समितिले छापा हानेको छ । जाफरी आयल सप्लायर्सबाट बिक्रि हुने ईन्धन कम परिमाणमा दिने गरेको स्थानियको उजुरी पछि अनुगमन समितिले उक्त पेट्रोल पम्पमा अनुगमन गरेको हो ।
ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा रहेको जाफरी आयल सप्लायर्सले डिजल दिदा कम परिमाणको दिएको जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा गुनासो आएको थियो । गुनासो बारे बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको नेतृत्वमा गुणस्तर तथा नापतौल कार्यालयका मनोज कुमार पौडेल, बाणिज्य कार्यालय भैरहवाका बेद प्रसाद उपाध्याय, ओमसतिया गाउँपालिकाका खगेन्द्र ढुंगाना, पत्रकार लगायतको टिमले पेट्रोल पम्पमा अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा तथ्यांक लिएको र सो बारे अनुसन्धान पुरा भएपछि मात्र पेट्रोल पम्पले बदमाशी गरे वा नगरेको भन्न मिल्ने अनुगमन समिति संयोजक नारायण पाण्डेयले बताए । नियमित अनुगमन र गुनासोको आधारमा अनुगमन गर्ने गरेको समितिले यस अघि पनि भैरहवाका बिभिन्न पेट्रोल पम्पमा अनुगमन गरेको थियो । भारतीय गाडीहरूलाई आवश्यकता भन्दा बढी ईन्धन दिएको आरोप सहित समितिले ३ वटा पेट्रोल पम्पमा सिलबन्दी समेत गरेको थियो । अहिले सोही सडक खण्डमा रहेको पेट्रोल पम्पले कम परिमाणमा ईन्धन दिएको भन्ने उजुरी परेको हो । जाफरी आयल सप्लायर्सका सञ्चालक जावेद जाफरीले भने आफ्नो पेट्रोल पम्पमा त्यस्तो कार्य नभएको दाबी गरे । उनले आफू ईमान्दारी पूर्वक तोकिएको परिमाणमा ईन्धन बिक्रि गर्ने गरेको बताए । “सबै गाडीहरूको क्षमता फरक फरक हुन्छ मैले ट्यांकीको आधारमा तेल दिने हैन” जाफरीले भने ।