© २०२३
सल्यान गर्पा स्थित दानवाङका हरिबहादुर डाँगीको आफ्नो बारी, काल्नामा बाँस र निगाला घारि छ । कतिपय बाँसघारी उनले आफै फैलाइरहेका छन् भने कतिपय बाँस र निगालाघारि उनको बाबुबाजेका पालाका हुन् ।
यहि बाँस र निगालाघारी उनी र उनको बाउबाजेको जीवन जीउने आधार बन्यो र बनिरह्यो । हुन त पछिल्लो समय बाँसको चोयाका सामग्री बनाउने कार्य धेरैले छाडिसके । तर हरिबहादुर भने आफ्ना बाउबाजेले अंगालेको पेशालाई निरत्नरता दिँदै बाँसबाट आकर्षक र टिकाउ सामग्री निर्माण कार्यलाई निरन्तरता दिँदै आएका छन् । उमेरले उनी ५५ वर्ष पार गरिसके । तर उमेर ढल्कदै गएपनि बाँसको चोयालाई आकर्षक आकर्षक सामग्रीमा रूपान्तरण गर्ने जोशमा कत्ति पनि कमी आएको छैन ।
यस्तै सारपानी गर्पाकै युवा तिलक बाँठा पनि चोयाँका सामग्री बनाउने पेशामा छन् । तरकारी खेतीका अलावा फुर्सदको समयमा उनले टोकरी, छिटनी बनाएर विभिन्न बजारमा लगेर बेच्ने गर्छन् । र एक लाख बढि कमाइ पनि गर्छन् ।
साविकको सारपानी गर्पा गाउँ विकास समितिमा पर्ने दानवाङ गाउँका अरूले पनि चोयाँको काम गर्छन् । तर उनीहरू आफ्नो घरका लागी मात्रै चाहिने सामग्री निर्माण गर्छन् ।
तै पनि काम चलाउ । हरि बहादुर तथा तिलक भने चोयाँमा आफ्नो सिप र कला पोखेर आर्कषक छिटनी, टोकरी, झाँपी निर्माण गर्छन् र सल्यान, दाङका विभिन्न बजारमा लगेर बिक्री गर्ने गर्छन् । हरि बहादुरले भने, ‘मैले बनाएका चोयाँका सामग्री दाङको लमही र सल्यानको श्रीनगर सम्म लग्छु । सामग्री भएपछि विक्रिको चिन्ता छैन, खोसाखोस हुन्छ ।’ उनले बाँसका सामग्री उत्पादन र विक्रि गर्ने हो भने मनग्य आम्दानी लिन सक्ने प्रशस्त सम्भावना देखेका छन् । तर उनी भन्छन्, ‘यसलाइ व्यवशायीक रूपमै अगाडी बढाउनुपर्याे ।’ यसका लागी बारि, ढिक काल्नामा बाँर, निगालाका घारि बढाउनुपर्ने र नयाँ युवा पुस्तालाई सिप हस्तान्तरण गर्दै प्रोत्साहन गर्नुपर्ने हरि बहादुरको भनाइ छ ।
चोयाँको सामग्री विक्रि गर्न विभिन्न ठाउँमा जाँदा झाँपी र टोकरिको माग धेरै रहेको उनको अनुभव छ । ‘यी सामग्री विवाह, पुजाआजामा कोसेलि (पाउर) लैजानमा प्रयोग हुने गर्छ,’ उनले भने । पुजा सामग्री राख्न पनि झाँपी र टोकरी उपयुक्त मानिन्छ । हरि बहादुरले एउटा झाँपि पाँच सय, छिटनी दुइ सय रूपैयाँ सम्म विक्रि हुने गरेको बताए । दानवाङमा देवीराम बुढा, शंकर घर्तीले पनि चोयाँको सामग्री निर्माण गर्नेगरेका छन् । उनीहरूले डोका, भकारि, डाली लगाएतका सामग्री पनि निर्माण गर्छन् । गाउँमा अरूले उत्पादन गरेका बाँसजन्य सामग्री हरि बहादुरले खरिद गर्छन् । आफूले उत्पादन गरेका र अरूबाट खरिद गरेका चोयाँका विभिन्न सामग्री बेचेर उनले महिनामा ३० हजार भन्दा बढि आम्दानी गर्दै आएका छन् । पहिले पहिले धान लगाएतका अन्न संग छिटनी, टोकरी साट्ने गरिएपनि हिजो आज नगद रूपैयाँमा विक्रि हुने गरेको बताए । उनले भने, ‘मेरा बुवाका नौ भाइले पनि यहि पेशा गरेर जीवन गुजारा गरे, मैले पनि चोयाँको सामग्री बनाउने पेशा छाड्न सकेन ।’
चोयाँबाट हातकै कला मार्फत विभिन्न स्वरूपमा ढालेर आकर्षक र उपयोगी भाँडो बनाउनु मिहेनती पेशा भएको जनाउँदै हरि बहादुरले यो सिप सिक्न कसैले तत्परता नदेखाउँदा पछिल्ला पिडीले चोयाँका सामग्री देख्न नै नपाउने हुन् की भन्ने चिन्ता व्यक्त गरे ।