© २०२३
सल्यान, पुस- साक्षरता कार्यक्रमले बालवालिकाको सिकाइमा प्रभावकारी नतिजा निकालेको छ । जिल्लाका सामुदायिक विद्यालयमा संचालन भैरहेको कार्यक्रमले विद्यार्थीको पठनसीप र पढ्ने बानीको विकासका लागि राम्रो प्रभाव पारेको हो । बागचौर नगरपालिका वडा नम्बर १० स्थित सरस्वती नमुना आधारभुत विद्यालय भाटभिटेका प्रधानाध्यापक मोतिराम बुढाथोकीले साक्षरता कार्यक्रमले गर्दा फरक शैलिको पढाई हुने र यसले विद्यार्थीको सिकाइ क्रियाकलापमा धेरै नै सुधार गरेको बताए । उनले भने, “हाम्रो विद्यालयमा रुम टु रिडको कार्यक्रम सन् १०१९ देखि सुरु भएको हो । पहिले कक्षा ५÷६ का विद्यार्थीलाई किताब पढ्न नै समस्या थियो । अहिले त १÷२ कक्षाका विद्यार्थीले पनि सजिलै संग पढ्न सक्छन् ।“
सल्यानमा रुम टु रिडले सन् २०१८ देखि ३० वटा र सन् २०१९ देखि २४ वटा विद्यालयमा कार्यक्रम संचालन गरेको थियो । २०२२ बाट थप ४४ वटा विद्यालयमा साक्षरता कार्यक्रम सुरु भएको रुम टु रिडका कार्यक्रम अधिकृत बाबुराम पोखरेलले जानकारी दिए । प्रारम्भिक कक्षामा पढाइ लेखाइ कार्यक्रम र प्राथमिक कक्षा लक्षित पुस्तकालयले गर्दा विद्यार्थीको पठनसीपमा विकास भएको देखिन्छ ।
शान्त वातावरण तथा कक्षा कोठा व्यवस्थापनसंगै बालबालिकाले खेल्दै, गाउंदै पढ्छन् । कक्षाको छेउको ¥याकमा ‘बुक कर्नर’ र त्यहाँ कथा, कविता लगायत ठुला चित्रहरू भएका किताबको व्यवस्था गरिएको छ भने विद्यालयमा पुस्तकालय पनि स्थापना गरिएको छ । तालिम प्राप्त शिक्षकले चित्रहरू देखाउँदै शैक्षिक सामग्रीको प्रयोग गरेर विद्यार्थीलाई खेलाउँदै पढाउँदै गर्छन् । साक्षरता कार्यक्रम लागू भएका यहांका विद्यालयमा यसरी नै पठनपाठन भैरहेको छ । शिक्षकको क्षमता विकासका लागि तालिम, कक्षाकोठा तथा पुस्तकालय केन्द्रित गतिविधिलाई चुस्त दुरुस्त राख्नका लागि सहजकर्ताबाट नियमित अनुगमन तथा सहयोग हुने गरेको दलित विकास समाज सल्यानका साक्षरता कार्यक्रम संयोजक टेकराज शाहीले बताए ।
रुम टु रिड को कार्यक्रम लागु भएपछि पढाउने नयाँ तरिका, शिक्षक सिकाई सामग्रीको प्रयोग गर्ने नयाँ तरिका थाहा भएपछी पहिले भन्दा अहिले बालबालिकालाइ सिकाउन धेरै सजिलो भएको तालिम प्राप्त शिक्षकहरु बताउँछन् । सहिद भरत स्मृति माध्यमिक विद्यालय बागचौर ५ सिर्पाका शिक्षक रमादेवी बुढाथोकीले मनोरञ्जनपुर्ण वातावरणमा सिकाउदा विद्यार्थीले सजिलो संग बुझ्ने गरेको बताइन । “हाम्रो बिद्यालयमा यो शैक्षिक वर्ष देखि कार्यक्रम सुरु भएको छ । मैले दुई चरणको नेपाली भाषा शिक्षण तालिम लिइसकेको छु । नेपाली बिषयको ९० मिनेटको कक्षा हुन्छ । पहिले भन्दा अहिले धेरै सजिलोसँग विद्यार्थीले सिकेको जस्तो लाग्छ“, उनले भनिन् ।
साक्षरता कार्यक्रम अन्तर्गत नेपाली भाषा शिक्षक तालिम र कार्यक्रम लागू भएका विद्यालयको गएको हालै अवलोकन पनि सम्पन्न भएको छ । जिल्ला समन्वय समिती सल्यानका प्रमुख बेलाराम रावल, शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लिलाधर बबाल,नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नवीन पौडेल, गैर सरकारी संस्था महासंघ सल्यानका अध्यक्ष दिपेन्द्र कुमार शाही लगायत पत्रकारको टोलिले शारदा र बागचौर नगरपालिकामा साक्षरता कार्यक्रम अन्तर्गत विभिन्न क्रियाकलापहरुको स्थलगत अवलोकन गरेको हो । शिक्षामा गुणस्तर ल्याउने उद्देश्यले संचालन गरिएको यो कार्यक्रम लागु भएपछि विद्यार्थीले कक्षा कोठामा रमाएर पढ्न गरेको र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण पनि बढेको पाइएको अवलोकनमा सहभागिहरुले बताए ।
पछिल्लो पटक कार्यक्रम लागू भएका चार स्थानिय तहका ४४ वटा विद्यालयका नेपाली भाषा शिक्षकहरुले दोश्रो चरणको तालिम गत बुधबार पूरा गरेका छन् । बागचौर नगरपालिकाका ११ जना र दार्मा गाउँपालिकाका ११ जना गरी २२ जना शिक्षकहरुको लागि बागचौरमा र शारदा नगरपालिकाका ११ जना र सिद्ध कुमाख गाउँपालिकाका ११ जना गरी २२ जना शिक्षकहरुको लागि श्रीनगरमा तालिम आयोजना गरिएको थियो । जिल्ला स्तरिय टोलिले तालिमको अवलोकन गरेको थियो भने सो अवसरमा तालिममा सहभागी शिक्षकले कक्षा शिक्षण अभ्यास पनि गरेका थिए । पछिल्लो पटक (सन् २०२२ देखी) शारदा नगरपालिका, बागचौर नगरपालिका, सिद्धकुमाख गाउँपालिका र दार्मा गाउँपालिकाका ११÷११ वटा विद्यालयमा साक्षरता कार्यक्रम सुरु भएको छ । यस पटक सम्बन्धित स्थानिय तहको पनि ५० प्रतिशत साझेदारी रहेको रुम टु रिडका कार्यक्रम अधिकृत पोखरेलले जानकारी दिए ।
यो कार्यक्रम लागू भएर चार वर्ष पूरा भैसकेका विद्यालयमा भने स्वामित्व हस्तान्तरण कार्य भैरहेको उनले जनाए । साक्षरता कार्यक्रम निकै प्रभावकारी रहेकाले यसको निरन्तरताको लागि दिगोपना योजना बनाइएको बागचौर– १० को सरस्वती नमुना आधारभुत विद्यालयले जनाएको छ । स्वामित्व ग्रहन गरिसकेको यस विद्यालयले भैलो कार्यक्रमबाट ३० हजार रुपैया संकलन गरिएको र चार वटा सामुदायिक वनबाट पनि सहयोगको प्रतिबद्धता प्राप्त भएको जनएको छ । भाषा शिक्षकले अन्य शिक्षकलाइ सीप हस्तान्तरण गरिरहेको पनि विद्यालयले जनाएको छ ।
रुम टु रिड(पढ्नका लागि कोठा) र स्थानिय तहहरुको साझेदारी एवम दलित विकास सल्यानको स्थानिय सहजीकरणमा साक्षरता कार्यक्रम सञ्चालन भैरहेको छ । स्थानिय सरकारले पनि कार्यक्रमको अपनत्व लिएर बजेट समेत विनियिजन गरेर साक्षरता कार्यक्रमलाइ थप प्रभावकारी बनाउन लागिपरेका छन ।