© २०२३
शिक्षक भनेको बालबालिकालाई ज्ञान दिने प्राज्ञिक अभिभावक हो । शिक्षक विद्वान हुन्छ । बुद्धिजीबी हुन्छ । तार्किक हुन्छ । ज्ञानी हुन्छ र हुनुपर्छ । उसले भनेको, बोलेको, लेखेको कुरा नै विद्यार्थीको लागि ज्ञान हुन्छ । त्यसैले त भनिन्छ स्वदेशे पुज्यते राजा विद्वान सर्बत्र पुज्यते । हाम्रो इतिहासमा यस्ता धेरै गुरुहरू थिए जुन मरेको हजारौँ बर्ष पुग्दा पनि अहिले गौरबकासाथ नाम लिइन्छ । गुरुकूल चलाएका वशिष्ठ, विश्वामित्र, याज्ञबल्क्य, भरद्वाज, अग्निहोत्री, बृहस्पतिलगायतका नामहरू अहिले पनि ऋषिमुनिको रूपमा लिइन्छन् । उनीहरूले रचना गरेको वेद अहिले पनि हाम्रो धर्मशास्त्र बनेको छ । बाल्मिकीले रचना गरेको रामायण विश्वकै ठूलो ग्रन्थ मानिन्छ । अहिले विज्ञान तथा प्रविधिले फड्को मारेको छ । अनेकन प्रविधिहरू रचना गरिएका छन् । शिक्षकले पढाउने तरिका फेरिएको छ । तैपनि शिक्षक भनेको शिक्षक नै हो जसले साना बाबुनानी देखि लिएर डिग्री, फिलोसफीसम्मका विद्यार्थीहरूलाई विधा अनुसारका ज्ञान दिन्छन् । शिक्षकले ज्ञान दिएकै कारण आज मानिसले अनेकन सफलता पाउन सकेको छ । त्यसकारण शिक्षकहरू ज्ञानका खजाना मानिएका हुन् ।
नेपालको सन्दर्भमा भन्नुपर्दा शिक्षकहरूमा कतिपय कमी कमजोरीहरू पनि रहेका छन् । कतिपय अयोग्य शिक्षकहरू राजनीतिज्ञको चाकरी गरेर शिक्षक बन्न सफलता पाएका छन् । माथिल्लो तहका शिक्षक बन्न पुगेका छन् । नेताहरूका झोला बोकेर तलब पकाउनेको संख्या यहाँ निकै ठूलो छ । उनीहरूलाई स्थानीय तह वा जिल्लातहको प्रशासनले कारबाही गर्न सक्तैन । एकमुष्ट हाजिर गरेर पैसा कुम्लाएका छन् । खासगरी कतिपय सरकारी शिक्षकहरूमा यस्तो देखिन्छ भने आवासीय विद्यालयका शिक्षकहरूले शिक्षालाई बिक्रीको बस्तु बनाएका छन् । विद्यार्थी पिट्ने रोग जहाँतहिँ देखिन्छ । शिक्षकले निर्मम तरिकाले पिट्ने गर्दा कैयौँ विद्यार्थीहरू घाइते भएका, श्रबणशक्ति गुमाएका घटनाहरू समाचार बन्ने गरेका छन् । शिक्षकको ब्यबहार पनि एउटा पाठ हुन पुग्छ विद्यार्थीका लागि । कतिपय शिक्षकले भट्टिमा मादक पदार्थ खाइदिने गर्दा विद्यार्थीले यो खाने चिज रहेछ भनेर सानैदेखि खान थाल्छन् । सुर्ति, चुरोट खाने, अपशब्दहरू प्रयोग गर्ने शिक्षकका बानीले विद्यार्थीलाई त्यहि पाठ पढाउँछ । शिक्षकका कुलतलाई बिद्यार्थीले अपनाएका हुन्छन् । चारित्रिक विचलन भएका शिक्षककै गतिविधि देखेर वा सुनेर विद्यार्थीले साना नाबालिकहरूलाई बलात्कार गर्न पुग्छन् । यसमा शिक्षकहरू सजग हुनु जरुरी हुन्छ ।
कतिपय मुलुकमा शिक्षकको पद पाउन निकै ठूलो योग्यता हाशिल गर्नुपर्छ । शिक्षकलाई सम्मानकासाथ हेरिन्छ । खँदिलो ज्ञान भएकाहरूमात्र शिक्षक बन्ने मौका पाउँछन् । नेपालमा शिक्षकलाई अन्यत्र नबिकेर शिक्षक बनेको भनेर हेय दृष्टिबाट हेर्ने गरिन्छ । शिक्षकका ब्यवहारले पनि यस्तो मूल्यांकन गर्ने अवसर दिएको छ । यो राम्रो कुरा होइन । केही बर्षयता भने शिक्षामा सुधार आएको छ । विद्यार्थीलाई शिक्षकले बालमैत्री बनेर पढाउनु पर्ने वातावरण बनेको छ । यस्तो दवाव पनि सिर्जना गरिँदै छ । बालबालिकाका साना गल्ती देख्दासाथै छडी हातमा लिएर पिट्न जाने शिक्षकहरूलाई अब विद्यालयमा पढाउने मौका गुम्दैछ । त्यसरी नै समयअनुसार प्रविधिको प्रयोग गर्न नसक्ने शिक्षकलाई पनि अब अलविदा गर्नुपर्ने अवस्था सिर्जना हुँदैछ । सिप नभएकाहरू शिक्षक बन्न पाउनु हुँदैन । माथिबाट भनसुन गरेर होइन, आफ्नो योग्यता र क्षमताको आधारमा शिक्षक हुनुपर्छ । सरकारले पनि शिक्षकलाई आदरभाव गर्नु आवश्यक छ । किनभने तिनै शिक्षकले पढाएर नै सरकारका महŒवपूर्ण पदमा पुगेको हो भन्ने कुरा बिर्सन हुँदैन । शिक्षक दिवसको अवसरमा शिक्षकलाई कस्तो तालिम दिने, कस्ता मानिसहरूलाई शिक्षण संस्था चलाउने जिम्मेवारी दिने, उनीहरूलाई के कस्ता सुबिधाहरू दिने भन्नेतर्फ सरकारमा बस्नेहरूले विचार विमर्श गर्नु जरुरी छ ।