© २०२३
आज विश्व प्राणी दिवस हो । प्राण भएको, श्वास प्रश्वास लिन सक्ने बस्तुलाई प्राणी भनिन्छ । भनिन्छः प्राणीको पहिलो मुहान पानी हो । सानासाना किटपतंग पनि प्राणी हुन् । तर, ती सबै पानीबाट उत्पत्ति भएका भने होइनन् । पानीमा पहिले एक कोषीय जीबको उत्पत्ति भयो । हजारौँ बर्षको अन्तरालमा बहुकोषीय, त्यो संक्रमण हुँदै पानीमा बस्ने माछा, चेपागाँणाका रूपमा र त्यसबाट पानी र जमीनमा बस्ने उभयचर हुँदै जमीनमामात्र बस्न सक्ने जनावरको रूपमा विकसित भएको कुरा जीव विज्ञानले बताउँछ । मानिस त्यसरी नै अहिलेको अवस्थामा आएको हो । जब एप प्रजातिको बाँदरको एउटा हुल मरुभूमिमा पुग्यो र बालुवामा हिँड्न थाल्यो त्यसरी हिँड्ने क्रममा उसलाई ठूलो संघर्ष गर्नुप¥यो । हिँड्दा पाइतालाहरूको विकास भयो । पुच्छर लोप भयो । यसो हुन पनि लाखौँ बर्ष लागेको मानिन्छ । हरेक जीबहरूमा समय बित्दै जाँदा तिनमा कुनै न कुनै शारीरिक परिवर्तन हुन्छ । किनभने तिनीहरूले संघर्ष गरिरहेका हुन्छन् । संघर्ष गर्ने क्रममा परिवर्तन निश्चित छ । यसमा रूपान्तरण हुनको लागि लाखौँ वा करोडौँ बर्ष पनि लाग्न सक्छ ।
विश्व ब्रह्माण्ड वा प्रकृतिमा कति प्रजातिका प्राणी छन् भन्ने यकीन अहिलेसम्म हुन सकेको छैन । जीब बैज्ञानिकहरूले यो कुरालाई खोज अनुसन्धानको विषय बनाइरहेका छन् । साथै कति नयाँ प्रजातिका प्राणीको विकास र कति प्रजाति लोप भएका छन् यो पनि अनुसन्धानको विषय बनेको छ । डाइनोसर भन्ने प्राणी लोप भएको कुरा उठेको छ । त्यसरी नै डोडो नामको चरा प्रजाति पनि लोप भएको बताइन्छ । प्रकृतिले हरेक प्राणीलाई मिलाएर राख्ने गरेको हुन्छ । यी सबै प्रजातिका प्राणीलाई प्रकृतिले नै आहार जुटाइदिएको छ । प्रकृतिले कसैलाई प्वाँख उमारिदिएको छ । कसैलाई साकाहारी बनाएको छ । कसैलाई मांसाहारी बनाएको छ । कति प्राणीहरू पानीभित्र बसिरहेका छन् । कतिलाई कडा खालका दाह्रा र नंग्रा दिएको छ । कतिलाई चेतना दिएको छ । मांसाहारी जनाबरको लागि तिनले खानाको रूपमा प्रयोग गर्न मिल्ने अरू जनावर उत्पादन गरिदिएको छ । कति जनावरले घाँसपातमात्र खान्छन् । कतिले माटो खान्छन् । कतिले फलफूल खान्छन् । मानिसले अनाज, सागपात, तरकारी, फलफूल, माछा मासु आदि खान जानेको छ । मानिस बाहेक अन्य प्राणीले काँचो बस्तु खान्छन् । प्रकृतिले प्राणी जगतमा यस्तो जीवन चक्र बनाइदिएको छ कि एकको अभावमा अर्को अपुरो हुन पुग्छ ।
मानिसले आगोको उत्पत्तिबाट पोलेको चिज खान पाएपछि उसमा चेतना पलाएको भन्ने मान्यता छ । सबैभन्दा विबेकशील प्राणी मानिस हो । त्यहि चेतनाले गर्दा मानिसले सबैभन्दा बढी प्राणीहरूको उपयोग गरेको छ । भीमकाय मानिएको हात्तीलाई मानिसले भारी बोकाएको छ । घोँडालाई भार बोकाएको छ । गोरुलाई जोतेको छ । भैँसीलाई दुहेको छ । बाघलाई पिंजडामा थुन्न सकेको छ । कतिपय प्राणीलाई मासुको रूपमा प्रयोग गरेको छ । सबैखाले प्राणी यदि प्रकृतिमा हुन्थेनन् भने मानिस बाँच्न सक्ने थिएन । हरेक प्राणीको आाफ्नै खाले भूमिका हुन्छ । र, त्यो भूमिकाले एकअर्कालाई परिपुरक बनाएको हुन्छ । प्राणीको चक्र (जैबिक विविधता) लाई अहिले मानिसले खल्बलाउँदै गएको छ । मानिसको बढ्दो जनसंख्याले उसलाई धानिन मुस्किल पर्दै गएको छ । धानिनको लागि हरेक प्रकारका बस्तु उपयोग गर्नु पर्ने अवस्था सिर्जना भएको छ । यसरी उपयोग गर्ने क्रममा कैयौँ प्रजातिका प्राणीहरू लोप हुने खतरा बढ्दै छ । त्यसैले मानिसलाई नियन्त्रण गर्नुपर्छ भन्ने सन्देश विश्व प्राणी दिवसले दिन खोजेको हो । मानिसले आफ्नो आवास बनाउने क्रममा जंगल फँडानी गर्दा कैयौँ जंगली जनाबरहरू आवास नपाएर लोप हुँदैछन् । जंगललाई जथाभावी फँडानी रोक्नुपर्ने भएको छ । समुद्र, नदीनालाहरूमा घातक रसायन छाडिएको छ । यसले जलचरहरूलाई क्षति पुराएको छ । बर्षा हुनका लागि समस्या निम्तँदै छ । त्यसैले वातावरणविद्हरूले विश्वब्यापी रूपमा चिन्ता प्रकट गरेका छन् । आज विश्व प्राणी दिवसका दिन यो विषयमा सबैले मनन गर्नु आवश्यक छ ।