© २०२३
चन्द्रौटा(कपिलवस्तु), पुस ।
कपिलवस्तुका लघुउद्यमीहरुले उत्पादन गरेका स्थानीय सामग्री बिक्री नभएपछि निराश भएका छन् । स्थानीय सरकारले बजारीकरणका लागि व्यवस्थापन गर्ला भनेर लघु उद्योग सञ्चालन गरि उत्पादन गरेका सामग्री बजार नपाउँदा बिक्रीमा समस्या भएको उनीहरूले बताएका छन् ।
स्थानीय सरकारले स्थानीय उत्पादनमा प्रोत्साहन गरे पनि बिक्रीवितरणका लागि पहल नगर्दा उत्पादित सामग्री घरमै थन्क्याएर राख्ने बाध्यता रहेको उनीहरुले गुनासो गरेका छन् । लघु उद्यमी व्यवसायीले स्थानीय सरकारले विभिन्न सीपमूलक तालिम दिए पनि उत्पादित वस्तु बिक्री नभएपछि यसको कुनै अर्थ नभएको भन्दै दुखेसो पोखेका छन् ।
कपिलवस्तुमा दुई वर्ष अगाडि शिवम दुना टपरी उद्योग सञ्चालन गरी लघुउद्यमी बनेकी कमला राना प्लास्टिकजन्य सामग्रीको प्रयोग बन्द भएपछि स्थानीय उत्पादन बिक्री हुने अपेक्षा राखिन् । शिवराज नगरपालिका वडा नम्बर–९, तुरन्तपुरकी राना पालिकाले प्लास्टिकका सामग्री प्रयोग गर्न निरुत्साहित गर्ने समाचार सुनेपछि दङ्ग परिन ।
पालिकाले त्यसको कार्यान्वयनको पहल नगरेपछि अहिले उनी लगायत उद्यमी निराश बनेका छन् । ग्रामीण क्षेत्रमा स्वरोजगार हुन लघु उद्यम सञ्चालन गरेको व्यवसायी तथा समूहलाई उत्पादन बिक्रीको समस्याले पिरोल्ने गरेको छ । सुरुवाती चरणमा रानाले टपरीको गहिराइ सानो हुने टपरी बनाएकी थिइन् ।
गहिराइ ठूलो भएको माग बजारमा भए पछि गहिराइ बढी हुनेखालको साँचो खरिद गरेको राना बताउँछिन् । ठूलो गहिराइ भएको उत्पादन हाल स्थानीय बजारमा माग हुँदैआएको छ । यद्यपि उत्पादन क्षमता अनुसार बिक्री हुन सकेको छैन । प्लास्टिक भाँडा प्रयोगमा रोक नलगाउँदा सालको पातबाट बनेका दुना टपरी र झोलाले बजार नपाएको उद्यमी रानाको भनाइ छ ।
राना जस्तै विजयनगर गाउँपालिकामा वडा नम्बर ७ मधुनगरबाट दुई वर्ष अगाडि २३ जना महिला झोला बनाउने साना उद्यमी बनेका थिए । उत्पादनले बजार नपाए पछि अहिले ९ जना महिलाले मात्र काम गर्दै आएका छन् । उत्पादन बिक्रीका लागि विभिन्न पालिका संघ संस्थामा जाँदा दर्ता, कर विजक नहुँदा बिक्री गर्न असहज भएको लिलावती कहाँरले सुनाउँछिन् । उनीले भनिन् ः “अहिले दर्ता प्रक्रियामा गएका छौँ ।“ करको दायरामा आएपछि पनि बजारीकरणको अभाव रहेको उनीहरूको गुनासो छ ।
यस क्षेत्रका ग्रामीण भेगमा स्थानीय सरकार र विभिन्न गैरसरकारी संस्था मिलेर हस्तकला सामग्रीको उत्पादनलाई जोड दिएको पाइन्छ । सोही गाउँपालिका वडा नम्बर ४, ५ र ६ मा १५ जना महिला माला, पोते र चुरा निर्माण गर्ने काम गर्दै आएका छन् । ग्रामीण भेगमा माग कम हुने र भारतीय बजारमा किनमेल गर्न जाने प्रचलनले उत्पादन बिक्री गर्न कठिनाइ भएको बद्धौरका तुलसा न्यौपानेले जनाइन् ।
सीमान्तकृत महिला, समुदायलाई लक्षित गरी पालिकामा सामूहिक र व्यक्तिगत रूपमा लघुउद्यमी रहेका छन् । तर ती उद्यमीको उत्पादन बिक्रीका लागि पालिकाले चासो नदिएको आइआरडीसीका अध्यक्ष विष्णु प्रसाद पौडेलले जनाए । संस्थाले सीमान्तकृत समुदाय सामाजिक तथा आर्थिक सबलीकरण परियोजना मार्फत जिल्लाभरि ५० बढी लघुउद्यमी तयार गरेको राम बुढा मगर बताउँछन् ।
पालिकामा लघुउद्यम शाखा भए पनि प्रभावकारी काम नगरेको उद्यमी बताउँछन् । विभिन्न जिल्लामा उद्यमीको संख्या अत्यधिक रहेपनि यकिन हुन नसकेको घरेलु तथा साना उद्योग महासंघका लुम्बिनी प्रदेश सदस्य सञ्जीव गहतराजको भनाइ छ ।