© २०२३
रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर २ लाई बालमैत्री वडा घोषणा गरिएको छ । विगत लामो समय देखि गाउँपालिका वडा नम्बर २ को प्रयासपछि सोमबार एक कार्यक्रमको आयोजना गरी बालमैत्री वडाको रूपमा घोषणा गरिएको हो ।
यसभन्दा पहिला बालविवाह मुक्त वडा घोषणा गरिएको शुद्धोधन २ लाई अहिले बालमैत्री वडा घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक तथा पूर्वमन्त्री सांसद बालकृण खाँणले बालमैत्री स्थानीय शासन वडा घोषणाबाट रूपन्देहीमा एउटा सकारात्मक सन्देश पैदा भएको बताएका थिए ।
प्रदेश ५ राजधानी बुटवल नै उपयुक्त हुने नेपाली कांग्रेसका प्रमुख सचेतक तथा प्रतिनिधि सभाका सदस्य बालकृष्ण खाँणले बताएका छन् । रूपन्देहीमा गौतम बद्धको जन्म स्थल, निर्माणधिन अवस्थामा रहेको अन्तर्राष्ट्रिय विमान स्थल रहेकाले बुटवल नै प्रदेश नम्बर ५ को राजधानी उपयुक्त हुने बताएका हुन् ।
बालमैत्री स्थानीय शासनलाई कार्यान्वयनमा ल्याउन चुनौती रहेको बताउँदै उनले विभिन्न सुचांकहरू पुरा गरेर वडालाई बालमैत्री स्थानीय शासन घोषणा गरेपनि कार्यान्वयनमा ल्याउन सबै पक्ष लाग्नुपर्ने उनले बताए । वडाले जिल्लामा नै पहिलो हुन सफल भएकोमा खाँणले प्रसंसा गर्दै अरू स्थानीय तहले पनि यस्को अनुसरण गर्न आवश्यकता रहेको बताए ।
बालवालिका महिला माथि कुनै पनि किसिमको हिंसा हुनुहुँदैन सांसद खाँणले भने–‘तर अहिले बालबालिका, महिला माथि जगन्य अपराध भएको हुँदा सरकारले सुरक्षा ब्यवस्थालाई कडा पार्न सक्नु पर्दछ ।’
समृद्धि र सुखी जीवनको लागि वालवालिकाको पक्षमा लगानी गर्न आवस्यकता रहेको भन्दै खाँडले घर, विद्यालय समाजलाई वालमैत्री बनाउन सक्नु पर्ने बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँडले एक फरक प्रशंगमा संघीयतालाई सफल पार्नको लागि सबै पक्ष लाग्नु पर्ने बताए । संघीयता सफल भएमात्र जनता, राष्ट्र सफल हुने दाबी गरे । उनले उक्त कार्यलाई घोषणामा मात्रै सिमित नराखेर यसलाई निरन्तरता दिन समेत आग्रह गरे ।
साविक खडवा बनगाई गाविस वडा नम्बर, १, २, ५, ६ , ७ र ८ नम्बर वडा मिलेर बनेको हालको सुद्धोधन गाउँपालिका वडा नम्बर २ हो । वडा नम्बर २ का अध्यक्ष विष्णु प्रसाद बस्यालले सबैको साझा पहलबाट नै वडा पूर्ण बालमैत्री शासनयुक्त वडा घोषण हुन सकेको बताए । उनले पुर्णरूपमा बालमैत्री शासन भएको घोषणको गरेर कार्यान्वनको लागि १० वटा आचार संहिता समेत निर्माण गरिएको र सोही अनुसार कार्यान्वयन गरिने जानकारी दिए ।
स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८ बमोजिम नेपाल सरकारले निर्धारण गरेका बाल अधिकारकारमा आधारित सुचकहरू अनुसार नै वडालाई बालमैत्री वडा घोषणा गरिएको जनाए ।
कार्यक्रममा नेपाली कांग्रेस प्रदेश ५ का संसदीय दलका नेता बलदेव शर्मा पोखरेल, प्रदेश सभा सदस्य तुलसी चौधरी, पुष्पा थरुनी, रमा अर्याल, जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख एकराज विश्वकर्मा, सुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरी, उपाध्यक्ष शान्तीदेवी ज्ञवाली, जिल्ला संमन्वय समति रूपन्देहीका समन्वय कर्ता हरि ज्ञवाली, नमुना एकिकृत विकास परिषद्की अध्यक्ष ज्ञानु पौडेल, बुटवल उपमानगरपालिका प्रवक्ता रामप्रसाद रेग्मी, सुद्धोधन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाण्ी मरासिनी सेतो गुराँस बाल विकास केन्द्रकी अध्यक्ष सुमित्रा शर्मा, दलित संघ रूपन्देहीका अध्यक्ष बुद्धिराम हरिजन, सुद्धोधन गाउँपालिका वडा नम्बर १ का अध्यक्ष उदयराज गडोरिया, नमुना विकास संस्थाका अध्यक्ष खिम बहादुर गोदार, स्काई युनाईटेड क्लबका अध्यक्ष सरोज खनाल लगायतले बोलेका थिए ।