© २०२३
बुढेसकालले उमेर त चाउरी परेकै छ । दाह्री कपाल सेतै फुलिसक्यो । चपाउने दाँत पनि आधा झरिसके । हिँडडुल गर्न लौरो, अक्षर चिन्न चस्मा र अरूको स्वर सुन्न चर्काे आवाज चाहिन्छ । ढाका टोपी, कोट पाइन्ट र छालाका जुत्तामा हिँडिरहेका बेला छत्रगञ्जमा भेटिए ८० वर्षीय तोमलाल भुसाल । तर, उनको जोश युवाको भन्दा कम छैन । भारतीय सेनाबाट अवकासप्राप्त भुसाल छत्रदेव गाउँपालिका–२ का सदस्य वडाको काममा दैनिक खटिन्छन । उनी दैनिक वडा कार्यालय जाने गर्छन । बैठकमा समयमै आइपुग्छन । गाउँभरी बा भनेर चिनिने उनले गाउँलाई काम गरेरै परिवर्तन ल्याउन सकिने बताए । ‘घरपरिवारको मात्रै होइन सिंगो गाउँकै रेखदेख गर्न युवाले नै अघि सारे,’ उनले भने, ‘गाउँको सेवा गर्ने जिम्मेवारी छ । उमेर ढल्क्यो भनेर म थाकेको छैन ।’ वडाको गाउँमा पिउने पानी बोक्न दुई घण्टा उकालो उक्लेनुपर्छ । बाँदरले घरभित्र र खेतबारीमा फलेको अन्न र सागपात खाइदिएर हैरानी बनाएको छ ।
टोलमा पुगेका मोटरबाटो व्यवस्थित, सबैका घरमा विद्युत सेवा र विदेश जाने युवालाई गाउँमै रोजगार दिन पूर्वाधार बनाउने योजनामा उनी छन । उमेर बूढो भएर के भो र ? गाउँको सेवा र विकास गर्ने मेरो सोच, विचार र योजनालाई त उमेरले छेक्दैन, उनले भने । गाउँलेको भरोसा उनी माथि नै छ । युवा जोस भारतीय सेनामा बितेकाले अब बुढेशकालको जीवनमा गाउँकै सेवा गर्न म थाकेको छैन, उनले भने । टोल छिमेकको विकास र व्यक्तिगत समस्याबारे गुनासो पोख्न गाउँले उनको घरमै पुग्छन । विकास योजना बटुल्न उनी टोलमै डुल्छन ।
युवा उमेर भारतमै बितेपछि बूढेसकालको उमेर गाउँको सेवा गर्ने इच्छा रहेको उनले बताए । ‘मलाई लोभ, लालच केही छैन,’ उनले भने, ‘मर्ने बेलामा गाउँलेको सेवा र विकास गर्ने मेरो इच्छा हो । सक्दोसम्म गर्छु, धेरैले बा भनेर माया र सम्मान गर्छन ।’ आफुजस्तै उनी एक्लै छैनन् ।
आठ वर्ष कान्छा उमेरका शम्शेरदिन मिया पनि वडा सदस्य जितेपछि जिल्ला समन्वय समिति सदस्य बने । उनले जीवन राजनीतिमै बिताए । २०१५ को पहिलो प्रजातान्त्रिक चुनावमा उनी भोटर थिए । २०२२ सालमा वडासदस्य भए । ०५४ मा वडाध्यक्ष र अहिले सदस्य । गाविस अहिले वडा भएका छन । ‘चुनाव जितेपछि कोदालो, गैती, बेल्चा आफै बोकेर मोटरबाटो खन्न गए’, उनले भने, ‘पैसा आउदैनथ्यो । काम नगरे प्रशासनले थुन्ने काम गथ्र्याे ।’ जनतालाई भोकमारीको चामल खुवाएर महिनै दिनसम्म बोटो खनाएको उनले स्मरण गरे । ‘घरबाट आटो, ध्यु, मही, रोटी, अन्न र कोदालो बोकेर बाटो खन्न, खानेपानीको कुलो खन्न सबै जान्थे,’ ७० वर्षीय उनले भने, ‘अहिले त बजेट नै धेरै छ । काम गर्न सक्नु परो ।’ द्वन्द्वको बेला माओवादीले ज्यान मार्ने धम्की दिएपछि ५ वर्ष तम्घासमा लुकेर बसे । शान्तिप्रक्रियापछि गाउँ फर्केका उनले गाउँको विकास गर्ने एकमात्रै सपना रहेको उनले बताए । भुसाल र उनको भाका मिल्छ । चुनावका बेला लौरो टेक्दै भोट माग्न हिँडेका उनीहरू अहिले विकास समस्याको बारे बुझ्दै र विकास योजना बनाएर काम गर्न व्यस्त छन् ।
उनले गाउँ सुशासन कायम गर्ने र भित्रिएको बजेट सदुपयोग गरेर विकासका काम गर्ने बताए । उमेर ढल्केपछि जनताको काम गर्न पाउँदा थकाई लाग्दैन, झनै खुसी लाग्छ, मियाले भने । छत्रदेव गापा अध्यक्ष लेखनाथ पोखरेल र वडाध्यक्ष राजेशकुमार पंथी युवा उमेरका छन ।
दुवै जनाले वुवा भनेर सम्बोधन गर्छन । दस वर्षे द्वन्द्व नभएको भए गाउँको विकासमा धेरै फड्को मार्ने उनको दावी छ । उतिबेला कोदालोले खनेका बाटो अहिले डोजर र स्काभेटरले निर्माण भएको छ । वर्षामा हिलो र हिउँदमा धूलो हुने सडक पीच र ग्राभेल गर्ने योजना रहेको उनले सुनाए । वडाध्यक्ष पन्थीले पाका उमेरका भुसाल र मियाबाट काम गर्न धेरै सहज भएको बताए । à