© २०२३
छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयको कक्षा १ मा पेशागत सिप विकासको तालिम लिएका शिक्षक राम बहादुर डाँगी पहिलो घण्टीमा कक्षा कोठामा प्रवेश गर्छन् । चिटिक्क परेको कक्षाकोठा, बालबालिका बस्नलाइ पि फम, कुशन र पर्याप्त शैक्षिक सामग्री भएपछि जती उनलाई शिक्षण गर्न आनन्द आउँछ, त्यो भन्दा बढि बालवालिकालाई घरबाट स्कुल आउन बढि हतारो हुन्छ । स–साना बालबालिकालाई तपाई भनेर शिक्षकले सम्बोधन गर्छन् । शुरुमा बालवालिका गीत सुन्छन्, गाउँछन् र नाच्छन् । अनि नेपाली विषयको पढाइ ९० मिनेटसम्म हुन्छ ।
यो त एउटा उदाहरण मात्रै हो । अहिले सल्यान जिल्लाका ३० वटा विद्यालयमा नेपाली विषयको शिक्षण समय ९० मिनेट बनाइएको छ । उपल्लो कक्षामा गएको विद्यार्थीले नेपाली राम्रोसँग पढ्न सक्ने स्थितिमा अरू विषयमा झन प्रगती नै गर्न नसक्ने देखिएकाले यो कार्यक्रम लागू गरिएको जनाइएको छ । बालवालिकाको पढाइ सिप र पढ्ने बानीको विकास गर्न भन्दै ३० विद्यालयमा साक्षरता कार्यक्रम लागू भएको हो । कार्यक्रम लागू भएको छोटो समयमै शिक्षक तथा अभिभावकहरूले भन्ने गरेका छन्, ‘कक्षा १ का बालबालिकामा पढाइप्रतिको रुची बढ्दै गएको छ । हाम्रा नानीवावुहरूको आनीवानीमा परिवर्तन हुँदै आएको छ ।’
स्थानीय तहहरूको समन्वयमा र रुम टू रिडको सहयोगमा दलित विकास समाज (डीडीएस) ले शारदा, बागचौर नगरपालिका तथा कपुरकोट, त्रिवेणी, सिद्धकुमाख र छत्रेश्वरी गाउँपालिकामा साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । यी स्थानीय तहका ३० विद्यालयमा कक्षा १ को बसाइँ व्यवस्थापन, शिक्षकलाई नेपाली विषय शिक्षण तालिम दिएर शिक्षण कार्य सञ्चालन, ३० वटै विद्यालयमा फर्निचर सहित पुस्तकालय स्थापना तथा ६० जना शिक्षकलाई पुस्तकालय व्यवस्थापन तालिम प्रदान गरिएको साक्षरता कार्यक्रम संयोजक टेकराज शाहीले जानकारी गराए ।
साक्षरता कार्यक्रमको गत शुक्रबार गाउँ तथा नगरपालिका परियोजना सल्लाहकार समिति र पत्रकारको संयुक्त टोलिले अनुगमन समेत गरेको छ । सो क्रममा अनुगमन टोलिसंग पशुपति आधारभुत विद्यालय त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का प्रधानाध्यापक कृष्ण बहादुर डाँगीले कार्यक्रमले प्रदान गरेका सहयोगले विद्यालयको सिकाई उपलब्धि माथि उठाउन र विद्यालयमा सुशासन कायम राख्न निकै सहयोग पुगेको बताए । उनले भने, ‘अहिले अभिभावकहरू पनि निकै खुसी हुनुहुन्छ । बालवालिका पनि नियमित खुसिका साथ स्कुल आउने गरेका छन् ।’ अहिले प्रारम्भीक तहमा ‘म गर्छु’, ‘हामी गछार्’ैँ, ‘तिमी गर’ जस्ता क्रमिक सिकाइका रणनीती अपनाएर शिक्षण भइरहेको रुम टू रिडका फिल्ड प्रोग्राम अफिसर हेम लम्सालले बताए ।
विद्यालयमा भर्ना भएर पढेका ८० प्रतिशत बालबालिका गुणस्तरिय शिक्षा पाउन नसकेर भौतारिरहनुपरेको वर्तमान अवस्थामा साक्षरता कार्यक्रम प्रभावकारि बन्नेमा जिल्ला समन्वय समितीका प्रमुख केशबहादुर विष्टले विश्वास व्यक्त गरे । यस्तै जिससका उपप्रमुख हरिप्रकाश बुढाथोकीले राम्रो अभ्यासको अरू विद्यालयले पनि सिको गर्नुपर्ने बताए ।
अनुगमनमा कपुरकोट गाउँपाललिकाका अध्यक्ष भिम बहादुर सेनले यो कार्यक्रम प्रभावकारि देखिएको भन्दै कार्यक्रम लागू भएका वाहेकका अरू विद्यालयमा पनि कक्षा कोठा व्यवस्थापन, पुस्तकालय निर्माण जस्ता कार्य गरिने बताए । यस्तै त्रिवेणी गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीले कक्षाकोठा सफा र सिटीक्क देखेपछि बालबालिकाले घरमा पनि सरसफाइमा ध्यान दिन थालेको आफूले पाएको बताए । यस्तै सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउने, छत्रेश्वरी गाउापालिका उपाध्यक्ष सिता केसी, शिक्षा विकास समन्वय इकाइ सल्यानका प्रमुख लिलाधर बबाल, पत्रकार महासंघ सल्यानका सचिव शंकर के सी लगायतले शैक्षिक सुधारका लागि समाजका सबै सरोकारवालाहरू जिम्मेवार तरिकाले लाग्नुपर्ने बताएका थिए ।
बालवालिकाको पढाइ विकासको लागि परिवार एवं समुदायको सचेतनामा वृद्धी गर्न आवशयक रहेकोमा जोड दिँदै रुम टू रिडका कार्यक्रम अधिकृत बाबुराम पोख्रेलले साक्षरता कार्यक्रमका लागि विद्यालय आफैले श्रोत जुटाउन नसकेमा स्थानीय सरकारको भरपुर सहयोग हुनुपर्नेमा जोड दिए ।
साक्षरता कार्यक्रम सञ्चालन भइरहेको ३० विद्यालयले आधारभुत तहका विद्यार्थीका लागि एक हप्तामा कम्तीमा पनि एक घण्टी पुस्तकालय प्रयोगका लागि समय छुट्याएको साक्षरता कार्यक्रम अधिकृत विनायक रेग्मीले जानकारी दिए । पुस्तकालय व्यवस्थापन र नेपाली भाषा शिक्षणका लागि तालिम प्राप्त शिक्षकहरूलाई सरुवा गर्न नहुनेमा जोड दिँदै उनले बालबालिकाको पुस्तकालयमा पढ्ने बानी विकास भएमा अरू विषयहरू पनि पढ्नमा रुची बढ्ने बताए ।à