© २०२३
अर्घाखाँची, १० पुस ।
छत्रदेव गाउँपालिका–३ बल्कोटका पशुपति पाण्डे घरको ऋण तिर्न २३ वर्षमै साउदी गए । त्यहाँ दुई वर्ष बसे । त्यसपछि दुवइमा एक वर्ष र कतारमा ३ वर्ष काम गरे । कतारमा उनको तलब महिनाको दुई लाख रुपैयाँ नेपाली थियो । त्यहाँको एक कम्पनीमा खरिद अधिकृत भएर काम गरे । कतारको मरुभूमिमा इरान, टर्की र साउदीबाट हवाइजहाजमा माटो ल्याएर टनेलमै गोलभेडा, सीमि, साग, ब्रोकाउली लगायत व्यावसायिक तरकारी खेती गरेको देखे । कम्पनीले बेलाबेलामा त्यही तरकारी फार्ममा हेर्न लैजान्थ्यो । त्यो बेला उनलाई घरको माटो, हावापानी र उब्जनी भएका खेतबारीको झलझल्ती सम्झना आइरहन्थ्यो ।
तीनवर्षअघि उनी स्वदेश फर्किए । त्यसपछि बल्कोट गाउँमै च्याउ खेती सुरु गरे, मार्केट सोचे जस्तो भएन । बारीमा लौका, घिरौला, करेला, काँक्रो, सीमि खेती गरे । तर, कोरोनाका कारण बिक्री गर्न पाएनन् ।
जन्मघर बल्कोट छाडेर सन्धिखर्क नगरपालिका–५ बलेवाङ फाँटमा ३० रोपनी खेत लिजमा ल्याएर अकबारे (डल्ले) खुर्सानी खेती सुरु गरे । अघिल्लो वर्ष २५ लाख रुपौयाँको कारोबार गर्दा सबै खर्च कटाएर ५ लाख बचत गरे । अहिले ५० लाखको कारोबारमा २० देखि २५ लाख रुपैयाँ आम्दानी हुने पाण्डेले बताए । ३० रोपनी खेतमा खुर्सानी फल्दै र पाक्दैछन् । पाकेका खुर्सानी बिक्री गर्न उनी काठमाडौं धाउँछन् । त्यहाँ कालीमाटी, बानेश्वर, जडिबुटी, उपत्यकाका अचार, छोप कम्पनी र सुपर मार्केटमा पु¥याएर थोकमा प्रतिकिलो एक सय ५० रुपैयाँ देखि ३ सय रुपैयाँसम्म बिक्री गर्छन् । ‘अकबारे (डल्ले) खुर्सानीको माग अत्यधिक छ,’ उनले भने, ‘खुर्सानीको खेती गर्दा बेग्लै आनन्द आयो । अब थप ३० रोपनी खेत भाडामा लिएर आउँदो वर्ष ६० रोपनी खेतमा खुर्सानी खेती गर्छु ।’ उत्पादित खुर्सानी अर्घाखा“चीमा मार्केट छैन । ‘ठुलो शहर काठमाडौ लगेपछि जति पनि बिक्छ,’ उनले भने, ‘किसानले उत्पादन गरेको वस्तु बजारसम्म पु¥याइदिने काम सरकारले गर्नुपर्छ ।’ खुर्सानी बिक्री गर्न उनी काठमाडौ आउजाउ गरिरहेका छन् ।
२०७० सालमा काठमाडौको पुतलीसड्कमा क्लिनिक पसल खोलेका थिए । त्यहाँ १० लाख ऋण लाग्यो । त्यो ऋण तिर्न क्लिनिक बेचेर २३ वर्षमै साउदी गएका थिए । साउदी, दुबई हुँदै कतार पुगे । मरुभूमी कतारमा विदेशबाट हवाइजहाजमा माटो ओसारेर तरकारी खेती गरेको देख्दा अचम्मै लागेको थियो । ‘त्यो देख्दा र काम गर्दा मलाई कृषि उद्य्म गर्नेबारे राम्रोसँग प्रशिक्षण नै पाएँ,’ उनले भने, ‘हाम्रो माटोमा जे खेती गरेपनि फल्छ । ६० रोपनी खेतमा खुर्सानी उत्पादन गर्न मलको लागि मंसिरबाट जर्सी गाई पाल्ने योजना छ, १२ रोपनीमा घाँस खेती हुन्छ ।’ कतारको महिनाको दुई लाख रुपैयाँ तलब भन्दा आफ्नौ गाउँमा श्रम गरेर कमाएको पैसाको बेग्लै आनन्द आएको उनले बताए । उनले खुर्सानीको आचार पनि बनाएर बिक्री गर्छन् ।
गाउँका युवा रोजगारी खोज्दै विदेश जानेको लहर थियो । तर, उनले गरेको खुर्सानी खेतीबाट बल्कोट गाउँका २० जना युवाले खुर्सानी खेती शुरु गरेका छन् । बल्कोटका हरि पाण्डेले ७ रोपनीमा खुर्सानी खेती गरेका छन् । ‘पशुपति दाइकै देखेरे अन्न उब्जनी हुने बारीमा खुर्सानी खेती गरेको छु,’ उनले भने, ‘म मलेसिया जाने तयारीमा थिएँ, यतै राम्रो हुन्छ अब भिसा सिरानीमुनि राखेर खुर्सानी खेतीमा लागेको छु ।’ मलेसिया ३ वर्ष बसेर छुट्टिमा आएका हरि फेरी जाने तयारीमा थिए । पशुपतिले गाउँभरको खुर्सानी खरिद गर्ने वचन दिएपछि हरि सहित २० जना युवा उत्साहित भएरै खेतीमा लागेको उनले बताए । आफै बारीमा खनजोत गर्ने, खुर्सानी स्याहार गर्नेमा युवाहरु व्यस्त छन् ।
वैदेशिक रोजगारमा दुःख पाएर फर्केर युवाहरु कुटोकोदालोमा लागेका छन् । पाणिनि गाउँपालिका–४ नियाली देउराीका शंकर घिमिरले चार वर्ष मलेसिया रोजगारी गरे । ‘मलेसिया बस्दा धेरै दुःख पाए“, त्यसपछि घरमै फर्केर भैसी पाल्न थालें,’ उनले भने, ‘पुर्खौली सम्पत्तीमै भैसीपालेर दैनिक ६० लिटर दूध बिक्री गर्छु । दूध विहानै बसमा पाल्पाको तानसेन पुग्छ ।’ रोजगारी खोज्दै विदेश जाने युवा अहिले गाउँमै रोकिएका छन् । ‘विहान दूध संकलन केन्द्रमा लैजान्छु, दिनभर ख¥यानमा घाँस काटेर ल्याउँछु, भैसीलाई पेटभरी घाँस कुँडो खुवाउँदा दूध बढाउँछ,’ उनले भने, ‘बारीमा तरकारी खेती छ । दूधसँगै बसमा तरकारी पढाइदिन्छु, बेलुका त्यही बसले पैसा ल्याइदिन्छ ।’ गाउँमा पाखोबारी छ । भैसीपाल्दा दूध बेच्न पाइन्छ । भैसीको गबर मल र पिसाब संकलन गरेर अन्नबाली, तरकारीमा राख्दा उत्पादन तेब्बर हुन्छ । ‘गहुँतले बारीमा मकै, गहुँ, कोदो, फापर, तोरी तेब्बर फल्छ,’ उनले भने, ‘आफै उत्पादन गरेको अर्गानिक खान पाइयो, उपभोक्तालाई बजारमा पठाएर दूध, तरकारीबाट पैसा आयो । बेग्लै आनन्दको जिन्दगी छ ।’ डाँडोमा स्वच्छ हावापानी छ । अहिले नियाली गाउँका एक सय जना कृषकले दूध बेच्छन् । त्यसमध्ये ६० जना पढेलेखेका युवा छन् । ‘पहिला धेरै दूध हुँदा खिर, कुराउनी पकाएर खाइन्थ्यो, बेचिदैनथ्यो,’ नियाली दूध उत्पादन संस्थाका अध्यक्ष यमलाल पाण्डेले भने, ‘अहिले त धमाधम बिक्री भएर पैसा आउँछ । विदेशबाट फर्केर आएका युवाले गाइभैसी पाल्न शुरु गरेर गाउँलाई नै परिवर्तन गराए ।’ बजारबाट व्यापारीले ताजा तरकारी पठाइदिन फोन गर्छन् । घिउ माग्छन् । गोठमा गाइभैसी, पाखोबारीमा तरकारी उत्पादनले गाउँमै युवा स्वरोजगार उन्मुख भएका छन् ।
अडगुरीका तारादिपक न्यौपाने १४ वर्ष साउदी अरब र पुनाराम भुसाल चार वर्ष कतार बसे । वैदेशिक रोजगारीमा गएर घरको ऋण तिरेर भ्याए । कमाएको पैसाले तीनथुप्रेमा शिवालय पोल्टी फार्म खोलेर ६ हजार कुखुरा पालेका छन् । त्यहाँ अण्डा उत्पादन हुन्छ । ३५ रोपनी खेत भाडामा लिएका छन् । सात जनाले आठ–आठ लाख रुपैयाँ शेयर लगानी गरेर खोलेको फार्मले राम्रो आम्दानी दिएको छ । ‘छ वर्ष देखि अण्डा उत्पादन गरिरहेको छु,’ उनले भने, ‘कुखुरालाई दानापानी, हेरचाह गर्ने, बजारमा अण्डा बेच्न मार्केट खोज्ने गर्छु । केही ग्राहक फार्ममै आएर किन्छन् ।’ गाउँमै ठूलो कुखुरा फार्मले बेग्लै आनन्द दिएको उनले बताए । ‘अब विदेश जाने कुरा छैन,’ उनले भने, ‘अण्डासँगै खेतमा लौका, सीमि, आलु लगायत तरकारी उत्पादन छ । विदेश गएर पैसा कमाएपछि शहरमा घर बनाएर बस्न मन लागेन, आफ्नै जन्मठाउँमै कृषि उद्य्म गरेको छु ।’ फार्मबाट दैनिक ४ हजार अण्डा उत्पादन हुन्छ ।
पाणिनी गाउँपालिका–१ सिम्लेका रेवतीप्रसाद पौडेलका घरमा केही बोट सुन्तला थिए । सुन्तला नातेदार र साथीभाइलाई बाँडिन्थ्यो । पन्धवर्ष अघि रोजगारी खोज्दै साउदी पुगे । त्यहाँ तीन वर्ष काम गरेर फर्किए । बुटवल, काठमाडौका बजारमा सुन्तला बिक्री भएको देखे । त्यहाँका व्यापारीले सुन्तला किनिदिने आश्वास दिएपछि गाउँ फर्केर बारीभारी सुन्तला खेती गरे । भएका बोटलाई मलजल गरेर धेरै र ठूला दाना फलाए । पाकेका सुन्तला बजार पठाएर पैसा आउन थाल्यो । उनी उत्साहित भए । ‘साउदीबाट फर्केर फेरी जाने तयारीमा थिएँ, सुन्तलाबाट आम्दानी हुन थाल्यो,’ उनले भने, ‘सुन्तलाका बोट मुनि पीडालु, अदुवा, प्याज, लसुन खेती गरें, त्यो पनि बिक्री भयो । दोहोरो बालीबाट विदेशभन्दा यहीं पैसा धेरै भएपछि म यतै रोकिएँ ।’ उनले बारी र ख¥यानमा १२ सय भन्दा बढी बोट सुन्तलाले फल दिन्छ । तरकारी र सुन्तलाबाट वर्षमा ६ लाख भन्दा बढी आम्दानी हुने उनले बताए ।
‘गाउँमै केही उद्यम गर्न पाए, रोजगारी खोज्दै विदेश जाने रहर कहाँ हुन्छ र ? पुख्यौली थलोमा नातेदारलाई खुवाउने सुन्तलालाई विस्तार गरी व्यवसायी खेती छ,’ उनले भने, ‘बारीभरी फल दिने सुन्तलाका बोट छन् । बोटभित्र काउली, साग, मुला सहित तरकारी फलाएको छु, यसमै म रमेको छु, अब विदेश जाने कुरा नगरम ।’
सिम्ले जिल्लाकै धेरै सुन्तला उत्पादन हुने गाउँ हो । अहिले डेढसय कृषकले अन्नखेती छाडेर व्यवसायी सुन्तला खेती गरेका छन् । यहाँ सुन्तलाबाट वर्षमा ४ करोड रुपैयाँ गाउँमा भित्रिन्छ । पढेलेखेका युवाले बारी र ख¥यानमा सुन्तला खेती गरेका छन् । ‘वैदेशिक रोजगारी जाने युवालाई सुन्तला खेतीले गाउँमै रोक्यो,’ उनले भने ।