© २०२३
रोल्पालाई पर्यटनको वैभव मानिन्छ । पर्यापर्यटन, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन रोल्पाले पाएका अनुपम उपहार हुन् । पछिल्लो पटक भएको सशस्त्र युद्धले रोल्पालाई युद्ध पर्यटनको समेत उर्वरभूमि बनाइदिएको छ । पर्यटनको यति धेरै सम्भावना भएपनि यसबाट जिल्लाले लाभ लिन सकिरहेको छैन । पर्यटन सबैको मुखमा झुण्डीएको कर्णप्रिय शब्द मात्र भएको छ । गजुलकोट, थुनिकोट, खुंग्रीकोट, तित्रिकोट, जंकोट जस्ता दर्जनौं कोटको नामबाट बनेका गाउँहरू छन् रोल्पामा । वाईसे चौबिसे र भुरेटाकुरे राजाले राज्य गरेका यस्ता ठाउँहरू सामरिक दृष्टिकोणबाट महŒवपूर्ण छन् । यी स्थानहरू अहिले पनि सुरक्षित छन् तर यिनलाई पर्यटनसँग जोड्न सकिएको छैन । युद्ध पर्यटनको दृष्टिकोणबाट यस्ता कोटलाई समेत जोडेर रोल्पाको समग्र युद्ध पर्यटनको विकास गर्न सकिन्छ । युद्ध पर्यटनको कुरा गर्दा २०५२ साल फागुन १ गते तत्कालिन माओवादीले संचालन गरेको जनयुद्ध पछिको समयलाई मात्र बुझ्ने या चर्चा गर्ने गरिन्छ । त्यसपूर्व खासगरि नेपाल एकीकरण पूर्व पनि रोल्पामा ठूलाठूला युद्ध भएका थिए त्यसलाई अहिले चटक्कै बिर्सिएर एक काल खण्डलाई मात्र युद्ध पर्यटन सँग जोड्न खोजिएको छ जो अपुरो र अधुरो देखिन्छ ।
२०५२ साल फागुन १ गते जनयुद्ध सुरु गर्दा तत्कालिन माओवादीले देशका आधा दर्जन जिल्लामा गरेको पहिलो आक्रमण मध्ये रोल्पाको होलेरी पनि एक हो । दक्षिण रोल्पामा पर्ने सो स्थानका साथै कालिकोट, जाजरकोट, सिन्धुली जस्ता केही प्रभाव रहेका स्थान रोजेर माओवादीले आक्रमण ग¥यो । प्रहरी चौकी, कृषि विकास बैंक जस्ता सुरक्षा निकाय र वित्तीय संस्थामाथि कारबाही गरेर राज्य विरुद्ध विद्रोह सुरु भएको जनाउ दियो । २ थान भरुवा बन्दुक र केही थान ग्रिनेटको साहारामा देशकै व्यवसायिक सुरक्षा निकायलाई होलेरीबाटै चूनौति दिँदै देशमा जनयुद्ध सुरु भएको घोषणा भएको थियो ।
त्यसयताका १० वर्ष रोल्पालीका लागि साँच्चिकै कहाली लाग्दा वर्ष बने । रोल्पाका अधिकांश घर माओवादीको सेल्टरको रूपमा प्रयोग भए । श्रमशिविर वा अभियानका नाममा अधिकांश रोल्पाली माओवादीले आयोजना गर्ने कार्यक्रममा सहभागी भए । मौसमी चन्दा वा लेवीको नाममा कुन रोल्पाली छुटे होलान सहयोग गर्न । सरकारी कर्मचारी, शिक्षक, व्यवसायीले मासिक रूपमा प्रतिशतका आधारमा चन्दा दिनु पर्ने अनि किसानले हिउँदे र वर्षे बाली स्याहार्दा गच्छे अनुसार केही पाथी माओवादीलाई छुट्याई दिनु पर्ने । राज्य वा विद्रोही पक्षबाट प्रताडित नभएको कुन रोल्पाली होला त्यतिबेला । युद्धका कहाली लाग्दा गाथा सुनेका रोल्पाली आफैं कर्ता भएर दश वर्ष लामो युद्ध भोगे अनुभूती संगाले अनि १ हजार बढीले ज्यान गुमाए र वेपत्ता भए । हजारौं घाईते भए । अरवांैका भौतिक संरचना नष्ट भए ।
काठमाडांै बस्नेहरूले रोल्पा कहाँ पर्छ जान्दैनथे । रोल्पा आउने चिठ्ठी डोल्पा पुग्थे । यस्तो गुमनाम जिल्ला दश वर्षमा राष्ट्रियस्तरमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमै चर्चाको शिखरमा पुग्यो । चालिसको दशक काठमाडौं जाँदा आफुले रोल्पा थवाङमा पर्छ भनेर चिनाउन बाध्य भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका अध्यक्ष सुरेन्द्र घर्तीले स्मरण गरे । २०३७ सालको निर्वाचन बहिष्कार गरेर सैनिक अप्रेशन व्यहोर्न परेका कारण थवाङ चर्चित रहे पनि रोल्पा भने काठमाडांैबाट अपरिचित थियो घर्तीले भने ।
समग्र रोल्पा युद्ध पर्यटनको संग्राहलय हो । यहाँका हरेक नागरिक युद्धका साक्षी हुन् । युद्धले सबैलाई छोएकै हो । संभवतः देशमै यतिधेरै प्रभाव अन्य स्थानमा परेन होला । युद्धले रोल्पाका टोल टोल र बस्ती बस्तीमा नेता जन्मायो । अहिले पनि राज्यका महत्वपूर्ण स्थानमा युद्धले उत्पादन गरेका रोल्पाली नेताहरू नै छन् ।
उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्व सभामुख ओनसरी घर्ती, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन त्यही युद्धबाट स्थापित भएका नेताहरू हुन् । वर्तमान व्यवस्थालाई चूनौती दिएर राज्यको टाउको दुखाई बनेका नेत्र विक्रम चन्द विप्लव, सन्तोष बुढामगरहरू पनि रोल्पाली नै हुन् ।
माओवादीले जनयुद्ध सुरु गर्दा पहिलो पटक फायर खोलेको होलेरी । देशमै सवभन्दा धेरै सहिद भएको गाउँ जेल्वाङ, ऐतिहासिक गाउँ थवाङ, सेना माओवादी भिडन्तमा धेरै नेपाली सेना हताहति भएको गाम, युद्धमा प्रयोग गरिएका वंकरहरू, युद्धकालमा तयार गरिएका जनवादी विद्यालय, जननमूना अस्पताल, जनसहकारी, जनकम्युन, शहिद मार्ग, माओवादी नेतृत्व वसेका सेल्टरहरू आदी युद्ध पर्यटनका लागि महत्वपूर्ण क्षेत्रहरू हुन् ।
सशस्त्र युद्धमा राज्य र गैर राज्य पक्षवाट देशमै सबभन्दा धेरै हताहती भएको जेल्वाङ पूर्वी रोल्पामा पर्ने एक मगर बाहुल्य गाउँ हो । मगर संस्कृतीलाई बचाई राखेको सो गाउँ प्रशिद्ध पर्यटकिय स्थल जलजला, सुनछहरी झरना र विवाङ दहको वीचमा पर्दछ । जेल्वाङवाट जलजला पुग्न ३ घण्टाको पैदल हिँड्नु पर्दछ भने पूर्व तर्फ गाममा रहेको विवाङ दह र सिउरीमा रहेको सुनछहरी झरनामा पुग्न पनि ५ घण्टा पैदल हिँड्नु पर्दछ । जेल्वाङको युद्ध पर्यटनलाई अन्य पर्यटन संग जोड्न सकिने आधार देखिन्छ । तत्कालिन नेकपा माओवादीले संचालन गरेको जनयुद्धमा देशमै सवभन्दा वढी बलिदानी गर्ने रोल्पाको जेल्वाङ, जुन गाउँवाट विद्रोही पक्षवाट १० र सरकारी पक्षवाट ६३ गरि ७३ जनाले ज्यान गुमाएका थिए । ५ सय ५० घरधुरी रहेको जेल्वाङको त्यस्तो कुनै परिवार छैन जसलाई युद्धले प्रभावित नगरेको होस् ।
ऐतिहासिक गढी, किल्ला र कोटहरूलाई २०५२ सालपछि भएको जनयुद्धसंग जोडेर युद्ध पर्यटनको रूपमा विकास गर्न सकिने पर्यटनका जानकार दिपक डिसीले जानकारी दिए । डिसीका अनुसार मध्यकालमा स्थापना गरिएका गढी र बाइसे चौविसे राजाका पालामा निर्माण भएका गढी र कोटहरू पनि यस अन्तर्गत जोडिनु पर्छ । २०५२ साल फागुन १ गतेवाट संचालित जनयुद्ध युद्ध पर्यटनको मुख्य विषय वस्तु हुन सक्ने उनको भनाइ छ । गुरिल्ला ट्रेल र सव ट्रेलको रूपमा जिल्लाका होलेरी, दहवन, टिला, जननमूना अस्पताल, सहिद मार्ग, चप्का, माओवादी हेडक्वाटर संचालन भएको रांसी, थवाङ, जेल्वाङ आदी ठाउँ जोड्न सके युद्ध पर्यटनको स्मृतीलाई बेचेर पर्यटनको विकास गर्न सकिने डाँगीको भनाइ छ ।
जिल्लाको युद्ध पर्यटन बिकासका लागि केही कामको थालनी गरिएको छ । त्रिवेणी गाउँपालिका ७ तिलामा जनयुद्ध संग्रहालयको स्थापनाको काम आरम्भ गरिएको छ । नेपाल सरकार पुरातत्व विभागवाट सो स्थानको करिब २० रोपनी जग्गामा निर्माण गरिने संग्रहालयको लागी १२ करोडको लागत विवरण तयार गरि गत वर्ष १ करोड वजेट समेत विनियोजन भएको थियो । उपभोक्ता समितिले समयमै काम गर्न नसक्दा करिव ६० लाख बजेट फिर्ता गएको जिल्ला समन्वय समिति रोल्पाले जनाएको छ ।
निर्माण थालिएको जनयुद्ध संग्रहालयमा यस अघि पूर्व जनमुक्ती सेनाको अस्थायी शिविर थियो । जनसेनाको संरचना अनुसार पाँचौ डिभिजन अन्तरगत ज्वार स्मृती व्रिगेडको नाममा संचालित सो शिविरमा जनसेनाले प्रयोग गरेका भवनहरू अझै पनि देख्न सकिन्छ । यसका साथै जनयुद्धमा साहदात गरेका विभिन्न नेताहरूको शालिक समेत रहेको छ ।
जिल्लाका अन्य स्थानहरूमा समेत जनयुद्धको स्मरणमा सहिदहरूको शालिक, प्रवेशद्धार र स्तम्भहरू निर्माण भएपनि ठूलो मात्रामा यसको विकास र प्रवद्र्धनका लागि राज्यवाट लगानी भएको देखिँदैन । केही स्थानीय तह र युवाहरूले स्वतःस्फूर्त रूपमा पर्यटनको विकासका लागी अभियान संचालन गरेका छन् । स्थानीय तह संग समन्वय गरि पूर्वी रोल्पाको पर्यटन विकासमा अभियान चालेको सुनछहरी गाउँपालिका–४ का हर्क घर्तीले जानकारी दिए । ‘पर्यटनलाई संगसंगै भन्ने अभियान सहित पूर्वी रोल्पामा पर्यटन अभियान चलाएका छौं,’ घर्तीले भने ।
आफूहरूले स्थानीय सरकारलाई पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागी संचार पैरवी गरिरहेको नेपाल पर्यटन पत्रकार संघ रोल्पाका अध्यक्ष लोकेन्द्र चन्दले भने । सवैको मुखमा पर्यटन झुण्डीए पनि व्यवहारमा पर्यटनको योजनावद्ध विकासमा लागेको देखिँदैन चन्दले भने । पर्यटनका लागि छुट्याएको बजेट फ्रीज भएको नमिठा विगत रहेको चन्दले बताए ।