© २०२३
सल्यानको वन्गाड कुपिण्डे नगरपालिकामा पाँच करोडको लागतमा सम्पन्न गर्ने भनिएको खानेपानी योजना उपभोक्ता समिति गठनको विवादले शुरु नै हुन सकेको छैन । फलस्वरूप नगरको प्रमुख बजार सल्लीबजारबासीहरू खानेपानीको चरम संकटबाट गुज्रीरहेका छन् । नागरिकहरूले भनेका छन्, ‘नगरपालिकाले खानेपानी योजना अगाडि बढाउन पनि सकेको छैन । हामीले एक वर्षमा ४० लाख भन्दा बढि कर राज्यलाई बुझाएपनि सुबिधा केहि पाउनसकेका छैनौँ ।’ नगरले खानेपानी समस्या समाधानका लागी पाँच करोड बढि खर्च गर्न तयार भएपनि समिति गठनको विवादले योजनाको कुनै पनि काम अगाडि बढ्न नसकेको स्थानीय व्यापारी गणेश बुढाले बताए ।
सल्लीबजारमा पानी आउने पुरानो मुहानको पानी मर्मत र तत्काल बजारमा खानेपानी आपूर्तिका लागि इनार सिस्टमबाट पानी तान्नको लागि नगरपालिकाले ३ लाख ५० हजार खर्च समेत गरेको छ । तर उक्त काम सफल हुन सकेको छैन ।
बजारमा आपूर्ति भएको पुरानो खानेपानीको पाईप लाईन मर्मतमा समेत नगरले ७० हजार खर्च गरिसकेको छ । मर्मत कार्य प्रभावकारि नहुँदा मुहानको पानी समेत अहिले आउन नसकेको स्थानीय बताउँछन् । नगरले खर्च गरेको ७० हजार कहाँ र कसरी सकियो भनेर स्थानीयहरूले प्रश्न गर्न थालेका छन् ।
यद्यपी प्राविधिक कारण र अपुग बजेटले इनारबाट पानी आउन नसकेको वजार व्यवस्थापन समितिका अध्यक्ष तथा कामको जिम्मा लिएका उपभोक्ता समितिका अध्यक्ष शिव ओलीले बताए । प्राविधिकले त्रुटिपुर्ण इष्टिमेट बनाएर रकम अपुग भएकोले उक्त आयोजना असफल भएको ओलीको भनाइ रहेको छ । तर नगरका प्राविधिकहरूले भने ७० हजारले उपभोक्ताहरू इनारबाट पानी तानेर उपयोग गरिरहेको तथा २ लाख ८० हजार बराबरको रकमले ३ वटा मोटरबाट पुरानै टंकीमा पानी खसाउन सकिने गरि इष्टमेट तयार गरिएको दाबी गर्छन् ।बजार व्यवस्थापन समितिका अध्यक्ष ओलीले भने नगरले २ लाख ७ हजार मात्रै रकम निकासा गरेको र आफ्नो व्यक्तिगत ८० हजार खर्च भएको दाबी गरेका छन् । कामको जिम्मा लिएका व्यक्तिले नै त्रुटिपुर्ण कार्य गरेको, इनारको गहिराई कम खनेको, कमशल खालको मोटर प्रयोग गरेका कारण इनारबाट पानी आउन नसकेको प्राविधिकहरू र स्थानीयको दाबी छ । नगरले बजारबासीको मागलाई तत्काल मध्यनजर गरेर छोटै समयका लागि भनेर बजेट विनियोजन गरेको थियो । तर इनारबाट पानी नआउँदा कामले सार्थकता पाउन नसकी अलपत्र अवस्थामा छ । काम अलपत्र र अधुरो रहेकाले नगरपालीकाले कामको जिम्मा लिएका बजार व्यवस्थापन समितिका अध्यक्ष ओलीलाई २ लाख ७ हजार मात्रै भुक्तानी दिएको बताएको छ । खानेपानीमा यस्तो प्रकारको बेतीथी देखा पर्दा र वर्षातको समयमा पनि खानेपानीको चरम संकट व्यहोर्नुपर्ने स्थिति आउँदा समेत जनप्रतिनिधिले कुनै वास्ता नगरेको स्थानीयको गुनासो छ ।