© २०२३
बुटवल, २ पुस ।
लामो समयसम्म शिक्षण पेशमा रमाएका विष्णुप्रसाद भुसाल अर्घाखाँचीमा जन्मिएका हुन् । उनी २००८ सालमा स्वर्गीय वुवा तुल्सीराम भुसाल र रम्भादेवी भुसालको पहिलो सन्तान हुन् । सामान्य परिवारमा हुर्किएका भुसाललाई सानैबाट पढ्ने रहर थियो । रहरले पढ्न हौसिएका उनलाई समय र परिस्थितिले पनि साथ दिएर अध्ययन पुरा गर्न सके ।
भुसाल भन्छन, “विद्यालय जानु भन्दा अगाडि घाँस, दाउरा ल्याउनु पर्ने, पानी टाढाबाट ल्याउनु पर्ने बाध्यता थियो । बिदाको दिन मेलापात, गाई गोरु चराउनु पर्दथ्यो । त्यो सबै काम सकेर मात्रै विद्यालय पुग्नु पर्ने अवस्था थियो । तर पनि त्यसबेला अभिभावकलाई सन्तानले पढ्नु पर्छ भन्ने चेतना थिएन । त्यसमा पनि छोरीले त पढ्न हँुदैन भन्ने संस्कार थियो । संस्कारले गर्दा हामी चार छोराहरुले विद्यालय गएर पढे पनि हाम्रै तीन बहिनीहरुले पढ्न पाएनन् । उनीहरु गाँउकै घाँस दाउरा र बस्तु भाउ चराउँदै दिन कटाए । हामी विद्यालय जाँदा र दिदी बहिनीले घरको काममा जाँदा हाम्रा बा आमा खुशी हुनुहुन्थ्यो । तर अहिले जमाना बदलिएको छ । छोरीहरु पनि विद्यालय गएको देख्दा, उच्च पदमा पुगेको देख्दा आनन्द आउँछ ।”
आफूले २०२६ सालमा एसएलसी पास गरेको उनी बताउँछन् । “त्यसपछि गाउँकै विद्यालयमा निःशुल्क एक वर्ष पढाएँ । त्यसबेलाको रमाईलो पक्ष त १० कक्षा पढेकोले १० कक्षा नै पढाउन सक्ने अवस्था थियो । मैले पनि कक्षा १० पढेपछि कक्षा १० लाई पढाएको हँु । शिक्षक नपाउने अवस्थाले गर्दा काम चलाउ गर्नका लागि विद्यार्थी उमेरमै शिक्षक बन्नुपर्ने र शिक्षक मान्नुपर्ने अवस्था थियो ”–उनी भन्छन् ।
हामी चार छोराहरुले विद्यालय गएर पढे पनि हाम्रै तीन बहिनीहरुले पढ्न पाएनन् । उनीहरु गाँउकै घाँस दाउरा र बस्तु भाउ चराउदै दिन कटाए । हामी विद्यालय जाँदा र दिदी बहिनीले घरको काममा जादा हाम्रा बा आमा खुशी हुनुहुन्थ्यो ।
एसएलसीपछि घरायसी कारणले अध्ययन केही वर्ष रोकियो । त्यसको केही समयपछि भारतमा गएर बिए पास गरे । त्यसलगत्तै फेरि त्रिभुवन विश्व विद्यालयबाट बि.एड पास गरे । “बि.एड.को अध्ययनले मलाई अध्यापनमा सहज भयो”–भुसाल भन्छन् ।
२०३५ सालबाट स्थायी शिक्षकको रुपमा अध्यापन गराउन सुरु गरेका भुसाललाई पछिल्लो समय अध्ययन देख्दा कता कता अच्चम लाग्छ । निजी विद्यालयको पढाईले बालबालिकाको सृजनात्मक क्षमतालाई कमजोर बनाएको जस्तो महसुस हुन्छ । विद्यार्थीमा पढाईको रुची जगाउनुपर्छ । विषयबस्तुलाई मात्र जोड भन्दा पनि समय अनुसारको शिक्षालाई व्यावहारिक बनाउनु पर्नेमा उनको जोड छ ।
भुसाल भन्छन्, “मेरो बाल्यकालमा नै विहे भयो । घरमा काम गर्न दुःख छ विहे गर्नु पर्छ भन्ने थियो । कामका लागि मागी विहे भयो मेरो शान्तासँग । पछि उमेर र भावनाले हामी एक भयौ र जिवनलाई आगाडि बढायौं । मेरो हरेक दुःख सुखमा श्रीमती शान्ताको सहयोग रहिरह्यो । तर अहिले बुढेशकालमा उनको साथ छैन । उनले हामी छाडेको पनि तीन वर्ष भयो । तर पनि समय अनुसार चल्नु पर्ने। हाम्रा तीन छोरा र तीन छोरी हुन् । हामीले हाम्रो सन्तानमाथिको जिम्मेवारी पुरा ग¥यौ । अहिले उनीहरु आआफ्नो पेशा र व्यवसायमा जिम्मेवारी पुरा गर्दैछन् ।”
“म अहिले छोराहरुसँग बस्छु । नौ वटा नाती नातिना छन् उनीहरुसँग रमाउँछु । बाँकी समयमा लेख्न मन पराउँछु लेख्छु पढ्छु त्यही नै जीवन हो जस्तो लाग्छ”–भुसाल भन्छन् । लामो समयसम्म शिक्षाका क्षेत्रमा रमाएका भुसाल अहिलेपनि आफुलाई कहि कतै यसै क्षेत्रमा टिकाउन चाहन्छन्, त्यसै उनका कितावहरु आईरहेका छन् । उनले २०७६ सालमा ज्योतिशरस, २०७९ सालमा मुक्तिपथका तीन पाईला नामक पुस्तक पनि प्रकाशित गरिसकेका छन् । अरु कितावहरुका लागि पनि आफुले गृहकार्य गरिरहेको उनी बताउँछन् ।