तरकारीमा उच्च बिषादीको प्रयोग र सेवनका कारण गोरखाका किसानले क्यान्सर, मृगौला र मुटु रोगको भयावहता सामना गर्नुपरेको धेरै भएको छैन । नेपालीको चुलोमा अहिले बिषादीको अत्याधिक प्रयोग बढ्दै गएको छ । जसको कारण उपभोक्ताले विभिन्न किसिमका प्राणघातक रोगको सिकार बन्नुपरेको छ । गोरखा यसको ज्वलन्त साक्षी बनेको छ । गोरखाजस्तै उच्च बिषादीको प्रयोगका कारण उत्पन्न हुने गंभीर स्वास्थ्य समस्याका बिषयमा अहिलेदेखि नै सावधानी नअपनाउने हो भने बिषादी मानव जीवन विनासको प्रमुखमध्येको एक कारण बन्ने निश्चित छ । चिकित्सकहरूले हृदयघातको सम्भावना बढाउनुका साथै क्यान्सरजस्तो प्राणघातक रोग लागी ज्यान नै जान सक्ने चेतावनी दिएका छन । तरकारीमा अत्यधिक विषादीको प्रयोगले आर्थिकरूपमा मुलुकले समेत ठूलो भार व्यहोर्नुपरेको छ । किसानले थोरै लगानीमा धेरै आम्दानी गर्ने नाममा तरकारीजन्य उत्पादनमा अत्यधिक मात्रामा रसायन र विषादी प्रयोग गर्ने गरेका कारण यसले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने गरेको तथ्य सार्वजनिक भएपनि अत्यधिक विषादीको प्रयोग रोक्ने पहल कहीँ–कतैबाट भएको देखिँदैन । भएका प्रयास पनि देखावटीजस्तो मात्रै देखिन्छ । त्यसैले यो समस्या मुलुकका एउटा प्रमुख चुनौतीको रूपमा देखापरेको छ । नेपाली उत्पादन मात्र होइन, भारतबाट आयात हुने तरकारीमा समेत अत्यधिक विषादी प्रयोग हुने गरेको छ । त्यसको रोकथाम र नियन्त्रणका लागि सरकारी तबरबाट जुन किसिमले प्रयास हुनुपर्ने हो त्यो नभएको भन्दै उपभोक्तावादीहरूले चासो र चिन्ता व्यक्त गरेका छन् । यसरी चासो र चिन्ता व्यक्त गरिएपनि बिषादी नियन्त्रणको बिषयमा बेवास्ता गरिदै आईएको छ ।
तरकारी उत्पादन गर्दा बिषादीको मात्रा किटान गर्नेतर्फ सरकारको ध्यान जानु जरुरी छ । विषादी प्रयोग सम्बन्धी नीतितर्फ ठोस कदम चाल्न नसक्दा भान्सामा हरेक छाकमा विष भित्रिने गरेको छ भने त्यही विष नेपालीका लागि घातक बन्ने गरेको छ । नेपालमा भन्दा भारतबाट आउने तरकारीमा बिषादीको मात्रा उच्च रहेको विभिन्न समस्यमा भएका परिक्षणले पुष्टी गरिसकेको छ । तर, सरकार समेत निरीह छ । भारतबाट आयात हुने तरकारीमा रोक लगाउन सरकारले नै सक्दैन् । अर्कोतर्फ बिषादीको उत्पादन भारतमै बढी हुने गरेको छ । तसर्थ विषादीमा नै रोक लगाउन सक्यो भने मात्रै खाद्यान्नमा बिषादीको प्रयोगमा केही कमी आउन सक्छ । सरकार यसो भनेको जस्तो गरिरहने र किसान सरकारको कुरा नसुनेजस्तो गरेर विषादीको प्रयोग गरी उत्पादन बढाइरहने हो भने नेपालीको आयु बढ्ने होइन, ओरालोतर्फ नजाला भन्न सकिन्न । त्यसैले यसतर्फ सबैको ध्यान जान जरुरी छ ।
मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी यसरी तरकारीमा उच्च मात्रामा विषादीको प्रयोगले गर्ने हानीका बिषयमा सवैभन्दा पहिले किसानलाई चेतनाको ज्योति फैलाउनु आवश्यक छ । यद्यपि बिरुवा लगाएपछि हुर्काउन बिषादी नहाली हुँदैन । होइन भने अनेकखाले किराले बिरुवाको बोट नै नष्ट गरिदिने अवस्था छ । आफ्नै घरको सानो करेसाबारीमा तरकारी लगाउने किसानले भने बिषादी नहाले माहा लाग्ने र फल नै लाग्न नपाउने भन्दै बिषादीकै पछि दगुर्नुपर्ने अवस्था छ । जसका कारण किसान बाध्य भएर बिषादी प्रयोग गर्न विवस छन् । वास्तवमा जानजानी बिषादी खानुपर्ने यो बाध्यता नै हो । बिषादीको प्रयोग नगरे तरकारी नै फलाउन नसक्ने अवस्था उत्पन्न भएको छ । अवको दिनमा बिषादी पूरै नियन्त्रण त गर्न सकिदैन तर त्यसको मात्रामा कमी गर्नेतर्फ प्रयास गर्न सकिन्छ । त्यसैले अवको दिनमा तरकारी उत्पादक किसान र उपभोक्तालाई बिषादीको असरका बिषयमा चेतना जगाउनुका साथै तरकारीमा हुने अधिक विषादीको प्रयोगमा नियन्त्रण गर्नेतर्फ ध्यान जाओस् । यो बिषयमा संघीय, प्रदेश र स्थानीय सरकारका तर्फबाट बिषादीले पु¥याउने असरका बिषयमा ठोस प्रतिवद्धतासहितको कार्ययोजनाको खाँचो छ ।