© २०२३
बुटवल, १३ कार्तिक ।
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापतिले संघीयताको मर्म र भावना अनुसार नबढ्ने हो भने संघीयता खारेज गर्नुपर्ने बताएका छन् । पुनले संघीयता कार्यान्वयनमा राजनीतिक नेतृत्व इमानदार नहुँदा संघीयताको औचित्यमाथि प्रश्न उठ्न थालेको बताएका छन् ।
जनताको लामो संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गर्दै सभापति पुनले भने – “कि संघीयताको मर्म र भावना अनुसार चल्नुपर्छ संघीयता आवश्यक छैन भने खारेज गरिदिए हुन्छ ।” साथै उनले प्रदेश सरकारका मन्त्री छनोट पनि केन्द्रबाटै गर्ने हो भने संघीयताको कुनै अर्थ नहुने बताए ।
प्रदेशलाई दिनुपर्ने अधिकार नदिँदा सरकारले काम गर्न नसकेको भन्दै उनले प्रदेशलाई अधिकार सम्पन्न गराउनुको सट्टा अंकुश लगाउने काम भएको बताए । नेपाल प्रेस युनियन रूपन्देहीद्वारा सोमबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति पुनले राजनीतिक नेतृत्व कर्मचारी प्रशासनमा रहेको केन्द्रीकृत मानसिकताका कारण जनताले संघीयताको अनुभुती गर्न नपाएको धारणा राखे । स्थानीय तहका जनता तथा कार्यकर्ताको भावना र समस्या बुझ्न आफूले सभापतिसँग पालिका सम्वाद कार्यक्रम लिएर स्थानीय स्तरमा पुगेको भन्दै उनले त्यस क्रममा जनस्तरबाट पनि संघीयताको अनुभूति गर्न नपाएको गुनासो गरेको जानकारी गराए ।
नेपाली कांग्रेस मात्रै नभएर सबै पार्टीका केन्द्रीय नेतृत्वमा रहेका नेता तथा कर्मचारी संयन्त्रले संघलाई नै बलियो बनाउने तर्फ लागेको भन्दै उनले राजनीतिक नेतृत्वले केन्द्रिकृत मानसिकता त्यागेर जनताका आवश्यकता र माहरू सम्बोधन गर्नुपर्नेमा जोड दिए । देश संकटमा परेका बेला कांग्रेस एमाले एक ठाउँमा उभिने गरेको स्मरण गर्दै उनले अहिले पनि मुलुक संकटमा परेकाले दुई दल मिलेर अन्य दललाई समेत मिलाएर अगाडि बढेको उल्लेख गरे । राजनीतिक स्थायित्व र मुलुकको समृद्धिका लागि दुई ठूला दल मिलेको भन्दै सभापति पुनले बर्तमान सरकारलाई फलनाले गर्न दिएन भनेर उम्किने छुट नभएको बताए । न्यायालयलाई प्रभाव पार्नेगरी प्रदर्शन गर्नु गलत भएको भन्दै उनले कुनै दल बिशेषलाई केन्द्रमा राखेर दल बिभाजन अध्यादेश ल्याउनुभन्दा समस्या छन् भने सबैलाई सधैं काम लाग्नेगरी ऐन ल्याउन सरकारलाई सुझाव दिए ।