सुनवल, १३ कार्तिक ।
पश्चिम नवलपरासीमा दिपावली (तिहार) नजिकिएसंगै पटका बिक्री वितरण गर्ने कार्य खुल्लमखुल्ला भईरहँदा प्रहरी प्रशासन भने मुकदर्शक बनेका छन् । पटका, भुईचम्पा लगायत विस्फोटक पदार्थ पड्काउन र बिक्री वितरण गर्न प्रतिबन्ध भएपनि जिल्लाका विभिन्न स्थानमा यसको खुलेआम विक्रि वितरण भईरहेको छ । जिल्लाको भारतसंगको मुख्य भन्सार नाका महेसपुर भन्सार नजिकको बजार क्षेत्रमा प्रहरीकै अगाडी विभिन्न प्रकारका पट्का विक्रि वितरण भईरहेपनि प्रहरीले भने विक्रि वितरणका लागी मौन स्वीकृति दिएको पाईएको छ ।
अहिले महेसपुर भन्सार कार्यालय नजिकै प्रहरीकै अगाडी त्रिपाल टागेर पटका बिक्रिका लागि राखिएको छ । अझै पट्का बिक्री वितरणमा बालबालिका संलग्न छन् । प्रहरीले पक्राउ गर्न आएपनि केटाकेटी भनेर त्यसै छाड्ने भएकाले धेरै अभिभावकले नै बालबालिकालाई पट्का विक्रि गर्न पसल खोलिदिने गरेको पाईएको छ । मुख्य भन्सार नाका महसेपुरमै पटाका पाईएपछि भारत तर्फ गएर चेकजाँचको झन्झट भोग्नुभन्दा नेपालतर्फ बाटै पट्का सहितका झिरझिरे, आलुबम लगायतका विभिन्न प्रकारका कम क्षमताका विस्फोटक पदार्थ धेरैले खरिद गर्ने गरेका छन् । भारत बाट लुकाईछिपाई ल्याउने र नेपालमा पड्काउने गर्ने गरिएकोमा पछिल्लो समय नेपालमै पसल थापेर पट्का बिक्री गर्दा समेत प्रशासन मौन बस्ने गरेको छ । महेसपुर क्षेत्र मात्र होईन् जिल्लाका अन्य सिमावर्ती साना बजार क्षेत्रमा पनि पटकाको विक्रि खुलेआम भईरहेको छ । पट्का जथाभाबी पड्काउने क्रम पनि बढ्दै गएपनि यसको नियन्त्रण तर्फ पनि प्रहरीले ध्यान दिने गरेको छैन् । चाडपर्व लक्षित सुरक्षा योजना अनुसार पनि यसको नियन्त्रण गर्नुपर्ने जिम्मेवारी भएपनि प्रहरी प्रशासनले चासो दिएको छैन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमै रहेकाले प्रहरीले निगरानी गरिरहेको बताए । एसपी फुयाँलले हल्काफुल्का पटका बिक्री वितरण तथा प्रयोगमा प्रहरीले खासै कडाई नगरेको संकेत समेत गरे ।
चाडपर्वमा रमाइलोका लागि भन्दै पड्काईने पटकाका कारण आगलागी तथा अंगभंग समेत जोखिम हुने गर्दछ । कानुनतः पनि यो कार्य बर्जित छ । पट्का लगायत विस्फोटक पदार्थ पड्काएको पाइए मुलुकी अपराध संहिता २०७४ को विस्फोटक पदार्थसम्बन्धी कसुरअन्तर्गत तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।