© २०२३
आज सामाजिक सेवा दिवस हो । सेवा भन्ने शब्द निकै मीठो छ । यसलाई अंग्रेजीमा सोसियल सर्भिस भनिन्छ । कुनै एक दुई ब्यक्ति विशेषको मात्र नभएर सिंगो समाजको सेवा गर्ने ब्यक्ति वा समुह जब सेवा गर्ने उद्देश्यले मैदानमा खट्छन् त्यतिबेला पीडितहरूले निकै ठूलो राहत महशुस गर्छन् । नेपालमा महाभूकम्प आउँदा हजारौँ नेपाली जनता सेवाको भावना राखेर मैदानमा कुदेर पीडितको उद्वार गरे । आफ्नो निजी रकमबाट तथा चन्दा उठाएर विभिन्न राहत सामग्री दिएर उनीहरूको चहराएको घाउमा मल्हम लगाइदिए । नेपाली जनतामात्र हैन, घरहरू भत्कँदा मानिसहरू पुरिएको आशंका गर्दै विभिन्न देशका उद्धारकर्मीहरू आएर कैयौँ पुरिएका मानिसलाई सकुशल वा मृतकहरूलाई बाहिर निकाले । यो उनीहरूले गरेको सेवा हो । कैयौँ देशले भुकम्प पीडितका लागि बस्ने घर बनाइदिए । पैसा दिने कुरा गरे । नेपालका थुप्रै संघ, संगठन, ब्यक्तिहरूले अहिलेसम्म पनि भुकम्प पीडितहरूका बासस्थान बनाउन सहयोग गरिरहेका छन् । त्यसरी नै बाढी पहिरो आउँदा, आगलागी हुँदा, महामारी फैलँदा, कुनै दुर्घटना हुँदा संघ, संगठन, ब्यक्तिले सेवा भावनाले गर्ने सहयोग नै सामाजिक सेवा हो । सामाजिक सेवा गर्नका लागि मानिसको मन मस्तिष्क सेवा भावनाले भरिएको हुनुपर्छ । धार्मिक भाषामा भन्नुपर्दा मनमा हरिले बास गरेको हुनुपर्छ । अहिलेको स्वार्थी समाजमा मनमा हरि भएका मानिस निकै कम मात्रामा पाइन्छन् ।
नेपालमा सामाजिक सेवा भन्ने शब्द थुप्रै संघ संस्थाको थेगो बनेको छ । यहि थेगोलाई ठूला अक्षरमा लेखेर संस्था दर्ता गर्छन् । सेवाको नाम बेचेर बजेट पनि सँगाल्छन् । तर, सेवा हैन, त्यहाँ केही ब्यक्तिहरू मिलेर मेवा खाने काम गरिरहेका हुन्छन् । यस्ता संस्था नेपालमा बग्रेल्ती छन् । सेवाको नाम दिएर नाफामुलक कारोबार गर्नेहरू थुप्रै छन् । यहाँसम्म कि अहिले त कतिपय होटेलहरूले मूल्यभन्दा दोब्राएर, तेब्राएर सामान बेच्दा पनि त्यसलाई सेवा गरेको भन्न हिच्किचाउँदैनन् । मूल्य लिएर औषधि बेच्नेहरूले स्वास्थ्य उपचार सेवा भन्छन् । महंगो भाडा अशुल गर्ने बस, ट्रकहरूले यातायात सेवा ढुवानी सेवा भनेर साइनबोर्डमा लेखेको देख्न पाइन्छ । सेवा भनेको निःशुल्क गर्ने हो । त्यसमा आफ्नो लगानी लागेको हुन्छ । अफ्ठेरोमा परेकाहरूको संकटपूर्ण जीवनको उद्धार गर्ने हो । ब्यापारलाई सेवा भनिँदैन । किनभने त्यो मूल्य अशुलेर गर्ने ब्यापार हो । यदि नामको हिसाव गर्ने हो भने नेपालमा सेवा पाउन अपेक्षा राख्नेभन्दा सेवा गर्नेको संख्या धेरै छ । तर, ती सबै सेवाप्रदायक होइनन् । सेवा शब्द यसकारण जोडेका हुन्छन् कि त्यो नामबाट कारोबार गर्दा सरकारलाई तिर्नुपर्ने कर कम प्रतिशत लाग्छ । त्यो अर्थमा सेवाको नाममा लूट मच्चाउनेहरूको यहाँ ठूलो संख्या उपलब्ध छ भन्न सकिन्छ ।
सरकारी कर्मचारीले आफूलाई सेवाप्रदायक र जनतालाई सेवाग्राही भन्ने गर्छन् । राष्ट्रसेवक पनि भन्छन् । तर, तिनीहरू कति समाजसेबी, राष्ट्रसेबी हुन् भन्ने कुरा उनीहरूले केही बर्षमै आर्थिक बृद्धि गरेको देख्दा थाहा पाइन्छ । घुस, कमिशन, तलब भत्ता सबै चट पार्छन् । समाजलाई हित हुने कार्यमा पनि उनीहरूले घुस खान छाड्दैनन् । विद्यालयले नक्सा पास गराउन जाँदा विराटनगरका एकजना कर्मचारीले १६ हजार झ्वाम पारेको नगरप्रमुखले पक्राउ गरे । जनताको सेवा गर्ने संस्था हो नगरपालिका । तर, कर्मचारीले घुस डकार्न छाड्दैनन् । यो एकखालको माथि देखि तलसम्म सिलसिला नै चलेको छ । समाज सेवाको नाम पारेर आफू पोसिने समाजमा खास समाजसेबी ओझेलमा परेका हुन्छन् । यहाँ समाजसेबी नभएका हैनन् । छन् । तर, उनीहरू पनि कतिपय काम गर्न गराउनको लागि त्यस्तै चरित्रका कर्मचारी, नेताहरूको छलकपटमा दविन बाध्य हुन्छन् । नेताहरूमा जनताले भोट नदिएको रिस विकासका कार्यहरू रोकेर, रोकाएर बदला लिने संस्कार बसेको छ । निकासा भएको बजेट फ्रिज हुनुमा एउटा यो कारण पनि हो । र पनि समाजको सेवामा सबैले धेरै थोरै लगानी गर्नुपर्छ । सक्नेले तन, मन, धन सबै लगाउँछन् । नसक्नेले मन र तन लगाउँदा समाजमा पीडा भोगेर बाँचेकाहरूले केही भए पनि राहत पाउँछन् । समाज सेवा वास्तवमा धर्मभरीमा सबैभन्दा ठूलो धर्म मानिन्छ । यसले आत्मसन्तुष्टि मात्र दिँदैन, समाजमा शिर उँचा बनाएर हिँड्न सक्ने शक्ति प्रदान गर्छ । कम्तीमा आज समाज सेवा दिवसमा मात्र भए पनि समाजको लागि हित हुने केही महत्वपूर्ण काम गर्ने कि ?