© २०२३
सरकारले आठ महिनापछि आयातमा लगाएको प्रतिबन्ध पुस १ देखि खुला गर्ने निर्णय गरेको छ । आयात खुल्ला गर्ने निर्णयसंगै अर्थतन्त्रमा सुधारको अपेक्षा गरिएको छ । आउँदो पुसदेखि लागू हुने गरी गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरिएको हो । यसअघि मुख्यसचिवको संयोजकत्वमा गठित कमिटीले आयातमा गरिएको बन्देज खुलाउन सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिसलाई स्वीकृत गरी आयात खुला गर्ने निर्णय गरेको छ । आयात खुल्ला गर्ने सरकारी निर्णयले नीजि क्षेत्र उत्साहित वनेको छ । यद्यपि विदेशी मुद्रा सञ्चितिको अवस्था अझै उत्साहप्रद भने भैसकेको छैन । त्यसै त कोभिड महामारीले अघिल्लो आर्थिक वर्षसम्म नेपालको अर्थ व्यवस्था करिव करिव ऋणात्मकको अवस्थामा थियो । अव भने आयात खुल्ला भएकोले आर्थिक वृद्धिदरमा झिनो भए पनि सुधार आउने संभावना छ । सरकारले पछिल्लोपटक करिब ४ प्रतिशतले आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । तर, यो हाराहारीमा नभएपनि ऋणात्मक हुने वातावरण भने देखिँदैन । यो बर्ष सरकारले पुँजीगत खर्च समयमा गर्न सकेको अवस्थामा अर्थव्यवस्थाका धेरै अवयव चलायमान बन्ने छ जसबाट आर्थिक सुधारका विषयमा आशा गर्ने ठाउँ हुनेछ ।
अर्थतन्त्र लयमा आउने अर्को मूख्य कारण रेमिटान्स पनि हो । अहिले नेपालमा रेमिटान्स आगमनमा भारी बृद्धि भएको छ । रेमिटान्स आय अघिल्लो वर्षको तुलनामा करिब एक खर्ब रूपैयाँले बढेको छ । अघिल्लो वर्षको तुलनामा करिब १० प्रतिशतले बढेर यो आवमा १२ अर्ब पुगेको छ । वैदेशिक रोजगारीमा जानेको संख्या घटेको र विदेशमा भएकाको पनि रोजगारी गुमेका बेला रेमिटान्स आयमा बढोत्तरी हुनु भनेको अर्थतन्त्रका लागि सकारात्मक पक्ष हो । रेमिटान्ससंगै अहिले इ कारोबार बढेको छ । यो पनि मुलुकका लागि सकारात्मक पाटो हो । विगतका बर्षदेखि नै कोभिडका कारण धेरै क्षेत्रमा असर परेपनि त्यसले केही क्षेत्रमा भने सकारात्मक प्रभाव पारेको देखिएको छ । अर्थबीदहरुले त्यसमध्ये एउटा इ–कमर्स बढ्नु हो भनेका छन । कोभिडका कारण आम जनता बाहिर निस्कने वातावरण कम भएपछि गत वर्ष एक्कासी डिजिटल कारोबार बढेको थियो । गत वर्षको डिजिटल कारोबार बृद्धिले आगामी सम्भावनालाई झनै बढाएको छ । गत एक वर्षमा नै इ–कमर्समार्फत आठ अर्ब ६४ करोड रूपैयाँको कारोबार भएको देखिएको छ । यस्तो कारोबारले सेवा छिटो हुने मात्र नभएर आर्थिक पारदर्शिता कायम गर्न पनि उत्तिकै सहयोग पु¥याउँछ । अर्थतन्त्र चलायमान बनाउने धेरै क्षेत्रमा भएको सुधारले मुलुकको अर्थव्यवस्थामा परिवर्तन आउने संभावना छ । यो सकारात्मक पक्ष हो ।
अर्थतन्त्र सुधारमा चुनौतिका रुपमा देखिएका एक दुई पक्षमा अझै सुधार ल्याउन सक्ने हो भने नेपालको बित्तिय अवस्था दक्षिण एसियाका सम्मृद्ध मुलुकसंगको स्तरमा आउ सक्छ । अहिले व्यापार घाटा चुनौतिका रुपमा देखापरिरहेको छ । अहिले कुल व्यापार घाटा १५ खर्ब बढी रूपैयाँको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २७ प्रतिशतको वृद्धि हो । वैदेशिक व्यापारमा उच्च घाटा भएकै कारण यसको असर मुलुकको शोधनान्तर स्थिति र चालू खातामा परेको छ । अघिल्लोको तुलनामा यो वर्ष शोधनान्तर बचतमा गिरावट आएको छ भने चालू खाता घाटा पनि बढेको छ । तर यही अवस्थाले आत्तिनुपर्ने भने छैन । नेपालले व्यापार घाटा घटाउनेतर्फ पहल थाल्ने हो भने अर्थतन्त्र बलियो हुँदै जाने आशा गर्न सकिन्छ । नेपाल कुनैपनि अवस्थामा श्रीलंका बन्न सक्दैन । तसर्थ अझैपनि समय छ– आयात खुल्ला गर्ने निर्णयले सुधारको जुन आशा गरिएको छ, त्यो आशा कायमै राख्न गरिने प्रयासले अर्थतन्त्र लयमा फर्काउन सहयोग पुग्नेछ ।