© २०२३
मंसिर ४ को निर्वाचन सम्पन्न भएर नेपाली जनता परिणाम सुन्न आतुर भैरहेका थिए, त्यही बेला विदेशमा कामको खोजीमा पुगेकी एक नेपाली चेलीको शारीरिक यातनाको पीडासहितको दर्दनाक भिडियो बाहिरिदै थियो । नेपाली जनता नयाँ जनादेशमार्फत नयाँ सरकार निर्माण भएर सुनौलो नेपालको परिकल्पना गरिरहेको बेला बिदेशबाट बाहिरिएको नेपाली चेलीको दर्दनाक भिडियोले एकपटक नेपाली शासकलाई गहिरिएर सोँच्न बाध्य बनाएको छ । आखिर नेपाली चेलीले यस्तो पीडा कहिलेसम्म सहनुपर्ने ? कतिञ्जेल नारकीय जीवन व्यतित गर्नुपर्ने ? नेपालमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा महिला हिंसाको चर्चा भैरहेको बेला विदेशमा नेपाली चेलीले पाएको पीडाको चर्चामात्र पनि हुँदैन । त्यसो त बिदेसिनु नेपाली चेलीको रहर मात्र नभई, बाध्यता हो । तर नेपालीको त्यही बाध्यतालाई दुरुपयोग गर्ने काम भैरहेको छ । आखिर नेपाली युवा युवती विदेशमा कतिञ्जेल रगत पसिना वगाउनु पर्ने हो ? विदेशी भूमिमा पसिना चुहाएर पनि स्वदेशी माटोका लागि युवाहरूको महत्वपूर्ण योगदान छ । अर्थात उनीहरूले पठाएको रेमिट्यान्स नै देशको प्रमुख आयस्रोत बनिरहेको छ । विदेशमा युवाले चुहाएको रगत र पसिनाबाट कमाएको पैसा स्वदेशमा आउँदा सरकारले गौरव महसुस गर्छ तर तिनै पसिना चुहाउनेहरू समस्यामा पर्दा भने बेखबर जस्तै बन्छ । सन्दर्भ अहिलेको मात्र होइन, देश रेमिटान्समा बाँचीरहेको छ । समस्या पर्दा भने सरकार औपचारिकताका पुलिन्दा अघि सार्छ, समस्याबाट ‘पुच्छर लुकाएर’ भाग्ने कोसिस गर्छ । नेपालमा २०४६ सालयता बनेका हरेक सरकारले यही निरिहता प्रकट गर्दै युवालाई विदेशको भडखालोमा जाक्ने काम गरिरहेका छन । युवालाई नेपालमै रोजगारीको विषयमा सम्वोधनसम्म गर्दैनन् ।
बैदेशिक रोजगारीका क्रममा सबैभन्दा बढी नेपाली घरेलु कामदारका रुपमा खाडीका विभिन्न मुलुकमा जाने गरेका छन् । त्यसमा नेपाली युवतीहरुको बाहूल्यता छ । त्यसरी गएका युवतीहरु अहिलेपनि भाषागत ज्ञानको अभावमा दोहोरो सञ्चारमा समस्या, सोचेको भन्दा फरक काम, घेरै घण्टा काममा घोटिनुपर्दा पनि धेरै दुःख पाएका छन् । नेपालीहरु श्रम शोषणमा मात्र होइन शारीरिक र मानसिक शोषण अर्थात घरेलु हिंसामा पर्ने गरेका छन् । वैदेशिक रोजगारीमा जानेहरु धेरै ठगिएका छन् । सामान्य कुरा नजान्दा कतिपयले सजाय पाएका छन् । नेपाली युवाहरु विदेशमा बन्दी जीवन जिउन बाध्य छन् । नेपाली चेलीको पीडा जस्तै थुप्रै युवाहरू विदेशमा अलपत्र छन । स्वदेशमै रोजगारीका अवसर र आर्थिकरूपमा सुरक्षित भविष्यको निर्धारण नगरेसम्म नेपाली युवाहरू हरेक दिन विदेश गइरहनुपर्छ, रेमिट्यान्स पठाइरहनुपर्छ । स्वदेशी उत्पादन विदेश निर्यात गर्नुपर्ने सरकारले युवा निर्यात गरिरहनेछ । नेपालीलाई चेलीमाथि पीडा दिने काममा पहिलो दोषी नेपाली नै छन । नेपाली दलाल र म्यानपावर कम्पनीले एउटा काम भनेर विदेश पठाउँछन्, त्यहाँ पुगेपछि थोरै पैसामा अर्कै काममा लगाउने गर्छन । असन्तुष्टी जनाए मानसिक यातनामात्र होइन शारीरिक पीडा समेत दिइन्छ । अव बन्ने सरकारले विदेशमा कामदार पठाउने म्यानपावर कम्पनीमाथि कडाइ गर्नैैपर्छ । आखिर नेपाली चेलीको रोदन कहिलेसम्म ? अव नयाँ बन्ने सरकारले यसको जवाफ दिनुपर्छ ।