© २०२३
अब मनसुन बिदा भएको छ । यदाकदा चक्रबायुको प्रभावमा पानी पर्न सक्ला । तर, नियमित झरी लाग्ने बेला टरेको छ । मनसुनले उचित मात्रामा पानी पार्दा यो बर्ष बर्षे बाली विगतमाभन्दा राम्रो उत्पादन हुने बाली विशेषज्ञले बताएका छन् । मधेश, पहाड सबै ठाउँमा खासगरी धानको उत्पादन राम्रो हुने अनुमान सबैले गरेका छन् । कतिपय ठाउँमा समयमा रासायनिक मल पाउन नसक्दा किसानहरूले गुनासो गरेको पनि सुन्नमा आयो । सरकारले यसको ब्यवस्थापन गर्न किन सकेन यसको उचित जवाफ किसानहरूले पाउनु पर्छ । बर्षाले विभिन्न ठाउँमा सडक भत्काउने, पुल बगाइदिने गरेको छ । कतिपय खोलानालामा आवागमन अवरुद्ध भएका छन् । सरकारले यसको अवस्था कस्तो छ, कसरी यातायात सुचारु गर्नुपर्छ त्यतातर्फ लाग्नु आवश्यक छ । सबै काम असार लाग्ला र गर्ने भनेर बजेट मन्त्रालयमा राख्ने काम गरिनु हुँदैन । संघीय सरकारले प्रदेशलाई र प्रदेशले स्थानीय निकायलाई कामको योजना छिटो पूरा गर्न लगाउने, जनतालाई सुविधा दिने काममा तदारुकता देखाउनु जरुरी छ । विगतमा जस्तो भ्रष्टाचार र कमिशनलाई केन्द्रमा राखेर असारमा नै सबै काम गर्ने चलनको अन्त्य गरिएन भने अब जनताले छाड्नेवाला छैनन् । गाउँपालिकाले असौजमा भेला बोलाएर कार्ययोजना पारित गरेर प्रदेश सरकारलाई बुझाउनु पर्छ भने प्रदेशले ढिलो भनेको कार्तिकमा ती योजनालाई छनौट गरी केन्द्रमा पठाइसक्नु पर्छ । केन्द्रले मंसिरसम्म बजेट पठाउनु जरुरी हुन्छ । यसमा सरकारको ध्यान पुग्नु आवश्यक छ ।
सरकारमा बस्नेहरूले नामको खेती त निकै गरेका हुन्छन् । चीनबाट यति बन्दरगाहहरूमा नेपालले सोझै सामान आयात गरेर ल्याउन सक्ने समझदारी गरियो भनेर डंका बजाउँछन् । तर, त्यहाँ पुग्नको लागि गाडी जाने बाटो छ कि छैन त्यसतर्फ बोल्दैनन् । केरुंग जानको लागि लामो समयसम्म आवागमन अबरुद्ध भयो । यातायातका साधनहरू जहाँ पुगेका थिए त्यहिँ महिनौँ रोकिनु प¥यो । त्यहाँमात्रको कुरा हैन, सुगम मानिने नारायणगढ मुग्लिनमा झरी परेको बेला पहिरो खस्दा यातायात अवरुद्ध भयो । सिद्धबाबामा खसेको पहिरोले पाल्पा बुटवल सडकखण्ड अबरुद्ध भयो । यस्ता अड्चनहरू थुप्रै सडकमा देखिए । तिनलाई सुचारु गर्नको लागि सरकारले बजेट समयमा उपलब्ध गराउन सकेन । यो मन्त्रालय र त्यो विभागमा कागजातहरू अलपत्र परे । कुन काम छिटो छरितो गर्नुपर्ने हो त्यसमा ख्याल पुराउने काम हुन सक्तैन । तर, मन्त्रीहरूका गफले आकाशका तारा छोइरहेका हुन्छन् । कामलाई बेवास्ता गर्ने, गफलाई प्राथमिकता दिने एकखालको स्वभाव बन्दै गएको छ । यो स्वभावलाई नेताहरूले काममा रूपान्तरण गर्नु आवश्यक छ ।
सरकारको नेतृत्व लिनेले यो कुरा बुझ्नु आवश्यक छ कि हरेक काम बिगार्ने मुख्य निकाय नै माथिल्लो संस्था हो । अब राणाकालका कुरा काटेर, पञ्चायतकाललाई गाली गरेर समस्या समाधान हुनेवाला छैन । न त माओवादीले संरचना भत्काए भनेर त्यसको ब्याज खान पाइने अवस्था छ । पुरानो रवाफ देखाएर सत्ता चलाउने समय सकिएको छ । नेता हुँदैमा, मन्त्री हुँदैमा चिल्ला कारमा हिँडेर र तथानाम भाषणबाजी गरेर जनतालाई उल्लू बनाउने समय अब छैन । देशको विकास कसरी गर्न सकिन्छ, जनताको जीवनस्तर माथि उठाउन कसरी काम गर्नुपर्छ, जनताको क्रयशक्ति कति छ, परक्यापिटा इन्कम कति छ त्यसको मापदण्डमा नेताहरू पनि समाहित हुनुपर्छ । जनतासँग एकाकार गर्न नसक्ने नेताहरूलाई जनताले अब सत्तामा बस्न दिनेवाला छैनन् । नेता मान्न तयार छैनन् । यो कुरा बुझेर समयमै नेताहरूले आफूलाई सुधार्नु पर्छ ।