© २०२३
कपालका रंगले उमेर ढल्केको संकेत दिइरहेको छ तर मन भित्रको सिक्ने चाहना भने तन्नेरी नै छ । भारतको अछाम जन्मिएकी रेनुका रेग्मी उमेरले ५५ नाघेकी छन् । तर पनि उनको पढ्ने रहरले छाडेको छैन । बाल्यकालको पढ्ने रहर अहिले पूरा गर्दैछिन् उनी । जहाँ ईच्छा त्यहाँ उपाय भन्ने उखान उनको पढाइमा प्रयोग भइरहेको छ । दाजुभाई विद्यालय जाँदा लुकेर हेर्ने गरेकी रेग्मीको चाहना बुढेकालमा पुरा हुँदैछ । ११ जना दाजुभाई दिदीबहिनी मध्ये तेस्रो सन्तानको रूपमा जन्मिएकी रेनुकाको सानै उमेरमा नै पढ्ने रहर मनमा तीव्र थियो तर पनि छोरीले पढ्न हँुदैन भन्ने संस्कारले उनलाई रोक्यो । ‘मलाई अझै पनि सम्झना छ एक दिन म सानैमा भाईसँगै विद्यालय गएकी थिएँ त्यस दिन साँझ बुवाले लौरीले खुट्टामा किन विद्यालय गएको भन्दै पिट्नु भो त्यो दिन नै मेरो बाल्य कालको पहिलो र अन्तिम दिन थियो,’ विद्यालयको बाल्यकाल सभ्झिदै रेग्मीले भनिन् । ‘उमेर बढ्दै गयो, पढ्ने साेंच पनि भएन । घरधन्दा गर्दागर्दैमा मेरो झापामा विहे भयो । श्रीमानले त्यसबेला कक्षा १० मा पढदै हुनु हुन्थ्यो । त्यसपछि मैले नपढे पनि श्रीमानले धेरै पढेको हेर्ने रहर लाग्यो, मैले घर धन्दा सम्हालेर श्रीमानलाई पढ्न पठाएँ । उहाँले डिग्री पूरा गर्नुभयो । अहिले उहाँ जागिरे हुनुहन्छ । हाम्रा दुई छोरा र एक छोरी हुन् । उनीहरू सबैले अध्ययन पुरा गरेर बाहिरी देश गएका छन् । सबैको विहेदान सकेर म फेरी विद्यालय पढ्न आएकी छु । त्यसबेला जसरी मलाई श्रीमानले पढ्दा र पास हुदा खुशी लाग्थ्यो अहिले मैले पढ्दा उहाँ खुशी हुनुहुन्छ ।’
रेनुका अहिले बुटवलको साधना महिला विद्यालयको कक्षा सातमा अध्ययनरत छिन् । कक्षामा उनले दोस्रो स्थान लिने गरेकी छन् । घरैमा सामान्य लेखपढ गर्ने सिकेकी रेग्मीले कक्षा ५ बाट विद्यालयको यात्रा थालेकी हुन् । साधना महिला विद्यालयमा कक्षा ५ र ६ पढेसँगै पारिवारिक समस्याका कारणले बीचमा दुई वर्ष विद्यालय जान नपाएको बताइन् । अहिले फेरी कक्षा ७ बाट अध्यननलाई निरन्तरता दिएकी रेग्मीलाई जसरी पनि कक्षा १० पास गर्ने रहर छ । विहेपछि अध्यनन गर्ने कल्पना नै नगरेको बताउने रेग्मीलाई विद्यालय आउँदा अहिले बाल्यकाल जस्तै लाग्छ । बाल्यकालमा जस्तै हातभरी पुस्तक बोकेर आउनु, दिनभरी अध्यनन गर्नु साँझ घर फर्किनु उनको दैनिकी बनेको छ ।
उनलाई आफू केहि समय पहिले जन्मेकोमा भने पछुतो छ । हिजोआज जन्मिन पाएको भए पक्कै पनि राम्रो मान्छे बन्न सक्थ्थें होला । तर अझै पनि मलाई मिस बन्ने रहर छ । उनलाई विद्यालयमा पढाउने महिला शिक्षक निकै मन पर्छ । धेरै विद्यार्थीको माया हुन्छ । जहाँ निस्वार्थ बनेर अबोध बालबालिकाहरूलाई पढाईरहेका हुन्छन् । म पनि कक्षा १० पास गरे भने, विद्यालयमा शिक्षक बन्ने जागिर नपाए छरछिमेकका बालबालिकालाई टिउसन पढाएर भए पनि शिक्षक बन्ने धोको पुरा गर्छु रेग्मीले सुनाइन् । यति भन्दै गर्दा रेनुकाको मुहार खुशीले धपक्क बल्छ । दुई नाती विद्यालय जाने भइसके । उनीहरूसँगै विद्यालय जाँदा शुरुमा त केहि असजिलो लागे पनि मनमा भएको तिब्र रहरले आफूलाई विद्यालय पु¥याएको उनको भनाइ छ । विद्या भन्ने चीज जहिले पनि महŒवपुर्ण हुन्छ । उनी भन्छिन्–‘शिक्षा विना शारीरीक रूपमा सबल भए पनि मानसिक रूपमा अपाङ्गता भए जस्तै हुँदोरहेछ ।’ साँच्चै नै जीवनमा आफ्नो भन्ने कुरा नै शिक्षा हो जस्तो लाग्छ उनलाई । उनी भन्छिन्–‘सबै चीजहरू बाँड्नु परेपनि शिक्षा बाँड्नु पर्दैन ।’ बुढेसकालको उनको जोस र जाँगरले पक्कै पनि पढ्दै गरेका बालबालिकाहरूका लागि प्रेरणा बन्ने छ ।