© २०२३
अधुरो सडक, छाडा पशु नियन्त्रण र फोहोर व्यवस्थापनमा भएको लापरवाहीका कारण नेपालगन्ज उपमहानगरपालिकाका सर्बसाधारणका सामु यहाँका जनप्रतिनिधि आलोचित छन् । त्यति नै बेला नगर प्रमुख डा. धवल शमसेर राणा ‘कार्यवहाक प्रमुख’ तोक्दै उपमहानगरपालिका छाडिरहेका छन् । ‘नगई नहुने’ कामका लागि भन्दै भदौ लागेयता हप्ता बिराएरै नगरप्रमुख राणाले जिल्ला छाडेका छन् । उपप्रमुख उमा थापामगर ‘महिला नेतृत्व सम्बन्धित’ कार्यक्रममा भाग लिन अमेरिकामा गएकी छन् । उनी नेपाल आइसकेको र केही दिनमा उपमहानगरमा आउँदैछिन् । उपप्रमुख पनि नभएको र उपप्रमुखले समेत जिल्ला छाडेपछि भदौयता नेपालगन्ज उपमहानगरपालिका निमित्तकै भरमा चलेको छ ।
यसअवधीमा नगर प्रमुख राणाले तीन जना वडा अध्यक्षलाई कार्यवहाकको जिम्मेवारी दिइसकेका छन् । पोखरामा सम्पन्न भएको नगर प्रमुखहरू कै कार्यक्रममा सहभागिता जनाउन गएका बेला उनले वडा नम्बर ४ का अध्यक्ष सद्दिक बेहनालाई कार्यवहाक जिम्मेवारी दिए । त्यहाँबाट आइसकेपछि केही दिनको अन्तरालमा राणाले नेपालगन्ज उपमहानगरपालिका–१ का वडा अध्यक्ष प्रमोद रिजाललाई कार्यवहाक जिम्मेवारी दिए । रिजाललाई कार्यवहाक जिम्मेवारी दिने बेला राणा नगर प्रमुखको निर्वाचनमा भाग लिन काठमाण्डौं गएका थिए । त्यहाँबाट पर्खिएको केही समयमै बिहीबारदेखि राणाले वडा नम्बर ८ का अध्यक्ष सुरेन्द्र गुप्तालाई कार्यवहाकको जिम्मेवारी दिएका छन् ।
उपमेयर पनि नभएको बेला प्रमुख नगएर नहुने कार्यक्रम परेकाले नगरप्रमुखले जिल्ला छोड्नुपरेको उपमहानगर कार्यपालिकाका एकजना सदस्यले भने,—‘मेयर सा’बको बाध्यताले कार्यवहाक तोक्नुपरेको हो । उपमेयर पनि नभएको र त्यति नै बेला मेयर नै जानुपर्ने कार्यक्रम परेकाले कार्यवहाक तोक्नुपर्ने अवस्था आयो ।’ कार्यवहाककै भरमा उपमहानगरपालिका चल्नुपर्ने जुनसुकै कारण भएपनि एकपछि अर्को कार्यवहाक तोक्दै गएपछि आलोचना समेत हुन थालेको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले हाललाई जानै पर्ने काम परेकाले नगरप्रमुखले कार्यवहाक जिम्मेवारी दिनुपर्ने अवस्था आएको बताए । उनले भने,—‘काममा ठूलै समस्या सिर्जना भएको छैन ।’