© २०२३
नेपालगञ्ज उपमहानगरपालिकाले शहर प्रवेशद्वार मानिने राँझाचोकमा नकुहिने प्लाष्टिक मिसिएको फोहोरबाट खाल्डो पुर्न खोजिरहेको छ ।
त्यसरी पुरिएको खाल्डोमा वृक्षरोपण गरेर बगैंचा बनाउने वा अस्थायी टहरा बनाएर घरबारबिहिनलाई बसाल्ने योजना बनाइरहेको छ । प्राविधिकरूपमा गर्नै नसकिने काम गर्न थालेको उपमहानगरपालिकाका कारण यतिबेला हवाई र सडक यातायातबाट नेपालगन्ज प्रवेश गर्ने राँझाचोक भने फोहोरको डंगुरमा परिणत भएको छ । ‘बगंैचा बनाउने की घरबारबिहिनलाई टहरा बनाउने भन्ने योजना नै अस्पष्ट छ । पछि के बनाउँछन् थाहा भएन तर अहिले फोहोर दुर्गन्धले बसिनसक्नु भएको छ ।’—राँझाचोकका स्थानीयबासिन्दाले भने,—‘शहर प्रवेशबिन्दुमा दुनिया हँसाउने काम भएको छ ।’ सडकको पूर्वी किनारमा रहेको खाल्डो पुर्ने गरी उपमहानगरमा उठेको फोहोर त्यही थुपार्ने काम भएको छ । यसो गर्दा फोहोर व्यवस्थापन गर्न उपमहानगरलाई सजिलो भएको छ । तर प्रवेशद्धारा फोहोरी भएको छ ।
राँझाचोक ओहोरदोहोर गर्ने सर्वसाधारण मात्र होइन, नेपालगन्ज विमानस्थलमा भित्रिने र बाहिरिने विशिष्ठ व्यक्ति तथा पर्यटकहरूलाई पनि दुर्गन्धका कारण नाक छोपेर हिड्नुपर्ने बाध्यता छ । फोहोरबाट माटो पटान गरेर त्यसमा केही गर्ने जनप्रतिनिधिको तर्क भने बेग्लै छ । नेपालगन्ज उपमहा–नरपालिका वडा नं.२० का अध्यक्ष कृष्ण कार्कीले उक्त सडक किनारमा माटो पटान गर्न रु.५२ लाखभन्दा धेरै पैसा आवश्यक देखिएपछि फोहोरबाटै खाल्डो पटान गर्ने योजना अनुसार फोहोर फालिएको दाबी गरे । उनले भने, ‘एकातिर पैसा अभाव टर्ने र अर्कोतर्फ फोहोर व्यवस्थापन पनि हुने भएकाले त्यसो गरिएको हो ।’
तर नकुहिने फोहोरमो पुरिएको खाल्डोमा बगैचा वा टहरा दुबै बनाउन नमिल्ने प्राविधिकहरूले बताएका छन् । नकुहिने फोहोरमा कसरी बिरुवा उम्रेला ? नाम नबताउने सर्तमा नेपालगन्जका एक जना प्राविधिकले बताए । वडा अध्यक्ष कार्कीले फोहोर फालेपछि सँगसँगै माटो पटान गर्ने भन्ने योजना रहे पनि बर्षात्का कारण ढिलाई भएको वडाध्यक्ष कार्कीले बताए । उनले भने, ‘खाल्डोलाई छिट्टै पुर्ने योजना रहेकोले दुर्गन्ध पनि चाँडै हट्छ ।’ माटो पटान गरी सोही स्थानबाट केही समयअघि हटाइएका घुम्ती र टहराहरूलाई व्यवस्थापन गरिने कार्कीको भनाई छ ।
नेपालगन्ज उपमहा–नगरपालिकाका प्रवक्ता प्रमोद रिजालले घुम्ती र टहराहरूलाई व्यवस्थापन नभई सो स्थानमा वृक्षरोपण गरिने बताए । ‘के गर्ने भन्ने निर्णय भइसकेको छैन । विमानस्थलको प्रवेशद्वार भएकाले वृक्षारोपण गरी हरियाली बनाउँदा उपयुक्त हुन्छ,’ प्रवक्ता रिजालले भने, ‘घुम्ती र टहराहरू राख्ने विषयमा मलाई जानकारी छैन ।’ माटो पटानको कार्य बर्षात्का कारण ढिला भएकाले बर्षा रोकिएलगत्तै काम अघि बढ्ने उनको भनाइ थियो ।