© २०२३
हरेक बर्ष जस्तै यो बर्षपनि तराईमा शितलहरको कहर सुरु भैसकेको छ । तराईमा शितलहर, पहाड र हिमालमा हिमपातले जनजीवन नराम्रोसंग प्रभावित भएको छ । शितलहरका कारण खासगरि बृद्धबृद्धा र बालबालिका बढी प्रभावित हुने भएकोले उनीहरूको स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने आवश्यकता छ । त्यसो त यो बर्ष चिसोकै कारण अहिलेसम्म कसैको मृत्यु भएको सुन्नु परेको छैन तर अवस्था यस्तै रहेमा र चिसोबाट बच्नेतर्फ पूर्व होसियारी भएन भने दुःखद खबर सुन्नुपर्ने बाध्यता आउन सक्छ । तसर्थ अहिलेदेखि नै चिसोबाट बच्ने उपायको बिषयमा नजरअन्दाज गरिनुहुँदैन । खासगरी पुस १५ देखि तराईमा शितलहर सुरु भएको छ भने हिमालमा हिमपात त्यसपछिमात्रै सुरु भएकोले हिमाल, पहाड, तराई सवैतिर चिसो बढेको छ । चिसो बढेसंगै शितलहरले तराईमा तापक्रम धेरै तल झर्दा जनता प्रभावित भएका छन । हिमालका जनता हिमपातका कारण प्रभावित भएका छन । यतिबेला चिसो मौसमका कारण तराई क्षेत्रका स्थानीय जनता सकसपूर्ण जीवन जिउन बाध्य छन् । तापक्रम घट्दै जाँदा यो समयमा यी क्षेत्रमा चिसो हावासँगै पानीको थोपा चुहिने र बाक्लो हुस्सु लाग्ने गर्छ । यो अवस्था बढ्दोक्रममा रहेकाले यी क्षेत्रका बासिन्दाले अझै चिसो मौसमको सामना गर्नुपर्ने निश्चित छ । प्रकृतिजन्य समस्या भएकाले यसलाई कसैले रोक्न तथा छेक्न त सक्दैन, तर पूर्वतयारी गर्न सकियो भने क्षति न्यूनीकरण गराउन भने अवश्य सकिन्छ । बेलैमा सचेत भएर चिसोबाट बच्ने र बचाउन सकिने विकल्पबारे सोच्नुपर्छ । यतिखेर पहाडी जिल्लाका तुलनामा तराईका जिल्लामा चिसोको समस्या धेरै छ । मंगलबारदेखि एक्कासी अझै धेरै शितलहरको अवस्थाले जनजीवन नराम्रोसंग प्रभावित भएको छ । शितलहरकै कारण बुटवलमा जारी मदन भण्डारी भलिबलको मंगलबारको दोश्रो सेमीफाईनल खेल अवरुद्ध हुन पुगेको छ । त्यसैले अन्दाज गर्न सकिन्छ– शितलहरको कहर कतिसम्म छ भन्ने कुरा । चिसोले खासगरि गरिब र न्यून आय भएकाहरू बढी प्रभावित भएका छन् । यद्यपि विभिन्न सामाजिक संघ संस्थाहरूले चिसोबाट नागरिकलाई बचाउन न्यानो कपडा समेत वितरण गरेका छन । यद्यपि यो प्रत्येक बर्षको नियमित प्रकृया जस्तै बनेको छ । जाडोमा एकसरो कपडासमेत किन्न नसक्ने र रातीमा ओढ्ने ओछ्याउन नहुँदा दुःख पाएका नागरिक सबैभन्दा धेरै पीडामा छन् । यो समयमा उनीहरूलाई गास, बास र कपासको उचित प्रबन्ध गर्न कुनै कसर बाँकी राख्नु हुँदैन । असहाय नागरिकको संरक्षक राज्य भएका कारण उनीहरूलाई चिसोबाट जोगाउने अभिभारा पनि राज्यले बहन गर्नुपर्छ । सरकारसंगै मानव सेवामा लागेका धार्मिक, सामाजिक संघ संस्थाहरू र आर्थिकरूपले सम्पन्न नागरिकले पनि यतिबेला मानवता प्रदर्शन गरेर चिसो पीडितहरूलाई सघाउनुपर्छ । सम्वन्धित पालिकाहरूले पनि चिसोबाट प्रत्यक्ष राहत पाउने उपायको खोजी गर्नु जरुरी छ । त्यसमा टोल टोलमा काठ दाउरा बितरण गरेर भएपनि नागरिकले राहतको अनुभूति गर्ने अवस्था हुन सक्छ ।
हरेक वर्ष चिसो बढ्नु र त्यसबाट नागरिक प्रभावित हुनु नियति हो । तर, यसलाई वर्षैपिच्छे दोहोरिने समस्या हो भन्दै सरकारले नजरअन्दाज गर्नु हुँदैन । चिसो प्रभावतलाई कपडा वितरण गर्ने, दाउरा बालेर घर–गोठभित्र तातो बनाइराख्ने व्यवस्था गर्ने काममा स्थानीय सरकारले समेत सघाउनु पर्दछ । यो बेला निशुल्क दाउरा वितरणमा सरकारको ध्यान जाओस् । शीतलहर, हुस्सु, कुहिरो र चिसो हावाको समयमा रोगले समेत छिटो आक्रमण गर्छ । नागरिकले पनि सरकारको मात्र मुख नताकी आफ्नो स्वास्थ्यको हेरचाह र ध्यान दिनेतर्फ प्रयास गर्नुपर्छ । चिसोका कारण ज्येष्ठ नागरिक र बालिबालिकामा निमोनिया, दम, ब्रोङकाईटिस जस्ता रोगजन्य समस्या देखापर्ने भएकोले पूर्व होसियारीमा ढिलाई नगरौं । सानो असावधानीले ठूलो समस्या निम्तिन सक्छ । शितलहरको कहर अझै केही दिन कायमै रहने अवस्था देखिएकोले चिसोबाट प्रभावितलाई सुरक्षित राख्ने कुरामा ढिलाई नहोस् ।