महोत्तरी, २५ पुस।
जनयुद्धको विषयमा चौतर्फी चर्चा भईरहेको बेला माओवादीहरू एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउन चाहेको नेकपा कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले बताएका छन्।
जनयुद्धको रक्षा गर्न माओवादी एक भएर मात्र नहुने भन्दै अझै थुप्रै काम गर्न बाँकी रहेको उनको भनाइ थियो।
पार्टीको एक कार्यक्रममा सहभागी हुन महोत्तरी आएका महासचिव विप्लवले नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचन्ड’ द्वारा केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनलाई लिएर असन्तुष्टि जनाए।
दुवै अध्यक्षको प्रतिवेदन संसदीय गोलचक्करमा घुमेको भन्दै उनले एकले अर्कोलाई आरोप लगाउने बाहेक केही नभएको बताएका छन्। तर माओवादी केन्द्रसँगको एकता प्रक्रियामा भने आफू नरम रहेको र केन्द्रिय समितिको बैठकमा माओवादी केन्द्रले बनाएको कार्यदललाई स्वागतयोग्य भन्दै धारणा राखेका छन्।
“हामी सधैं तयार छौं, तर माओवादी केन्द्रले भने चासो देखाएको छैन,” महासचिव चन्दले भने, “नेकपाले त पहिले नै एकताको विषयमा निर्णय गरिसकेको हो।”
यो देशको समृद्धि उत्पादनबाट मात्र सम्भव हुने कुरा गर्दै महासचिव विप्लवले उत्पादन र क्रान्तिलाई सँगै लैजानुपर्ने जोड दिएका छन्। उनले आफ्नो पार्टी अहिले उत्पादनबाट आत्मनिर्भर भइसकेको र दुई वर्षभित्र उत्पादन क्रान्ति हुने विश्वास व्यक्त गरेका छन्।