दाङ, २५ पुस ।
तुलसीपुरको बसपार्कमा बसको ठक्करबाट मृत्यु भएका तिर्सना घर्ती मगरको परिवार आन्दोलीत भएका छन् । बसको ठक्करबाट उनको मृत्यु भएपछि आफन्ती र स्थानीयहरूले न्यायको माग गर्दै बसपार्कमा विरोध प्रदर्शन गरेका हुन् ।
बुधबार विरेन्द्र चोकबाट बसपार्कतर्फ जाँदै गरेको लु प्र ०२००१ ख ४४ नम्बरको बसको ठक्करबाट तुलसीपुर–५ सम्झना टोलकी ३९ वर्षिय तिर्सना घर्ति मगरको मृत्यु भएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएकी तिर्सनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याए लगत्तै उपचारकै क्रममा मृत्यु भएको थियो ।
ठक्कर दिने बस र चालक तुलसीपुर–६ का ४२ वर्षका खेमराज ओलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ । तर मृतकका परिवारजनले यातायात व्यवस्था कार्यालय र प्रहरीले उचित कारवाही नगरेको भन्दै आन्दोलन जारी राखेका छन् । पीडित पक्ष, यातायात समिति र प्रहरी प्रशासनका बीचमा छलफल चलीरहेको छ । पीडित पक्षले चालकको लापरबाहीका कारण घटना भएको भन्दै उचित क्षतिपूर्ती पाउनु पर्ने माग गर्दै आएका छन् ।
पीडित पक्षको मागको आधारमा त्यो दुर्घटनाको यथार्थ पत्ता लगाउनको लागि सिसीटिभी फूटेजहरु हेर्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिए ।