© २०२३
काठमाडौँ ।
जय ट्रफी एलिट कप क्रिकेटको तेस्रो खेलमा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई एक पारी र ३५ रनको अन्तरले पराजित गरेको छ।
खेलको दोस्रो दिन खाना समयपछि मधेश प्रदेश दोस्रो पारीमा ९४ रनमा अलआउट भएको थियो। मधेशका विशाल पटेलले २७ रन र मयन यादवले २२ रन बनाएका थिए। पुलिस क्लबका कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए।
पहिलो पारीमा, वीरगञ्जमा टस हारेर ब्याटिङको निम्तो पाएको मधेश प्रदेश १ सय २९ रनमा अलआउट भएको थियो। नेपाल पुलिस क्लबले पहिलो पारीमा २ सय ५८ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो, जहाँ ४ विकेट मात्र गुमाए।
जय ट्रफी एलिट कपको चौथो खेलमा त्रिभुवन आर्मी क्लब र बाग्मती प्रदेश बीच प्रतिस्पर्धा भइरहेको छ। दोस्रो पारीमा ब्याटिङ गरिरहेको आर्मी क्लबले यो समाचार तयार पार्दासम्म ५ विकेट गुमाएर ९८ रन बनाएको छ। आर्मी क्लबले बाग्मती प्रदेशमाथि १ सय ७४ रनको अग्रता लिएको छ।
पहिलो पारीमा, आर्मी क्लबले ५ विकेट गुमाएर २ सय ७६ रन बनाएको थियो। बाग्मती प्रदेशले ९ विकेट गुमाएर २ सय रन बनाउँदा पारी समाप्तिको घोषणा गरेको थियो।