© २०२३
काठमाडौँ ।
सल्यानको कुपिण्डे नगरपालिका–११ स्थित सिस्नेपातालमा बुधवार बिहान दुई बालिका मृत अवस्थामा भेटिए। मृतक बालिका पूर्णिमा रानाकी ३ वर्ष र ६ महिनाका दुई छोरीहरू घरमै मृत फेला परेका हुन्।
मृतकहरूको घाँटीमा डाम देखेपछि प्रहरीले पूर्णिमा रानालाई नियन्त्रणमा लियो। नियन्त्रणमा लिएर सोधपुछ गर्दा पूर्णिमाले हत्या स्वीकार गरेर सल्यानका डीएसपी केशर न्यौपानेले बताए। उनले भने, “प्रारम्भिक अनुसन्धानमा आमाले हत्या स्वीकार गरेकी छन्, थप अनुसन्धान गर्दैछौं।”
पूर्णिमाले २४ पुसमा बिहान छोरीहरू बिरामी भएको भन्दै जेठानीलाई खबर गरिन्। छिमेकीहरू घरमा जम्मा हुँदा दुई बच्चाको मृत्यु भैसकेको थियो। त्यसपछि घटना प्रहरीसम्म पुग्यो। घटनास्थलमा खटिएका इन्स्पेक्टर नेतृत्वको टोलीले बच्चाको घाँटीमा डाम देखेपछि शङ्का गरे। डीएसपी न्यौपाने भन्छन्, “शङ्का लागेर आमालाई नियन्त्रणमा लियौँ।”
प्रारम्भिक अनुसन्धान अनुसार १७ वर्षीया पूर्णिमाले घरको बलोमा सल बाँधेर दुईतिर छोरीहरूलाई झुन्ड्याएर हत्या गरेको प्रहरीको निष्कर्ष छ। उनले १४ वर्षको उमेरमा टेकमान रानासँग विवाह गरेकी थिइन्। टेकमान नुवाकोटमा मजदुरी गर्दै घर फर्किँदै छन्। टेकमानको जाहेरी लिएर शव पोस्टमार्टम गरिने डीएसपी न्यौपानेले बताए।
पूर्णिमाले प्रहरीसँग भनेकी छन्, “श्रीमानले दुई बच्चाहरू आफ्नो नभएको भनेर शङ्का गरेपछि हत्या गरेँ।” तर, टेकमान र पूर्णिमाबीच झगडा भएको कुनै प्रमाण प्रहरीले फेला पारेको छैन। दसैँ मनाएर नुवाकोट गएका टेकमान बिचमा घर गएका थिएनन्। घटनास्थल जिल्ला सदरमुकामबाट ४ घण्टाको दुरीमा पर्छ। टेकमान राना २५ वर्षका छन्।