© २०२३
जिल्लाको अति दुर्गम गौमुखी गाउँपालिकाले चालु आर्थिक वर्षमा सबै खरका छाना फेरिदिने भएको छ । यसवर्षको नीति तथा कार्यक्रममै गाउँपालिकाले ‘खरका छाना विस्थापन’ गर्ने नीति ल्याएको छ । लामो समयदेखि खरको छानामा बसेकाहरूलाई आगलागी र पानी पर्दा धेरै त्रास हुने गरेको थियो । पालिकाले घरमा जस्ताका पाता लगाइदिने भएपछि स्थानीय खुसी भएका छन् । ‘खरको छाना हटाउने खवरले खुसी बनाएको छ’,नारीकोट बन्चरेका स्थानीय छविलाल घर्तिले भने,‘वर्षौदेखि खरको छाना फेर्न नसक्नेहरूलाई यसले मद्दत गर्नेछ ।’ कार्यक्रमलाई पारदर्शी बनाएर कार्यन्वयन गर्न समेत उनले जनप्रतिनिधीहरूलाई सुझाव दिए ।
खुङ, रजवारा, अर्खा, पूँजा, नारीकोट र लिवाङका गरी झण्डै एक हजार घरधुरी यस कार्यक्रमबाट प्रत्यक्ष लाभांवित हुने पालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा खरको छाना विस्थापन कार्यक्रमका लागि तीन करोड ५५ लाख रूपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिए । ‘सरकारी जागिरे, पेन्सनवाला र व्यवसायीहरूलाई यस कार्यक्रमले समेट्दैन’,उनले भने,‘असोजसम्म टेण्डरको प्रक्रिया सकेर कात्तिकबाट काम थाल्छौँ ।’ संभवत यसै वर्षमा सवै खरका छानामूक्त गराउने योजना रहेको उनले बताए । एउटा घरलाई पुग्ने जस्तापाता गाउँपालिकाले प्रदान गर्ने र अन्य खर्च सम्वन्धित घरधुरीले व्यहोर्ने कार्यविधि बनाएको उनले जानकारी गराए । ‘प्रति घरमा अनुमाति ३०/४० हजार रूपैयाँ लगानी गर्ने योजना छ’, गिरीले भने,‘यसले जनताको जीवनयापनसँग प्रत्यक्ष सरोकार राख्ने अपेक्षा गरेका छौँ ।’
नौ स्थानीय तहमध्ये गौमुखी जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने गाउँपालिका हो । अन्यको तुलनामा यस क्षेत्रका नागरीकहरूले विकास निर्माण लगाएत सामाजिक परिवर्तनको क्षेत्रमा जनप्रतिनिधीहरूबाट धेरै अपेक्षा राखेको देखिन्छ । खरको छाना विस्थापन कार्यक्रमले गाउँ सरकार घरमै आएको अनूभूति दिलाउने देखिन्छ ।
िजल्लाका अन्य गाउँ तथा नगरपालिकाले समेत यस सम्वन्धी कार्यक्रम ल्याएका छन् । तर, गौमुखीले पालिकाभरी नै कार्यक्रम गर्नेगरी योजना अघि बढाएको हो । अन्य गाउँ तथा नगरपालिकाले क्रमशः छाना हटाउने तयारी गरेको जनाएका छन् । प्रदेश पाँच सरकारले समेत आगामी पाँच वर्षभित्र प्रदेशका सवै जिल्ला खरका छाना विस्थापन गर्ने नीति अवलम्वन गरेको छ ।