© २०२३
प्यूठान, १९ कात्तिक ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज प्रतिनिधीसभा सदस्य उम्मेदवार सूर्य थापाले आफू चुनाव जितेर जिल्ला नफर्किने उम्मेदवार नभएको स्पष्ट पारेका छन् । सरुमारानी गाउँपालिका वडा नम्वर १ र २ को संगमस्थल छहरेचौपारीमा आयोजित बृहत चुनावी सभालाई सम्वोधन गर्दै थापाले निर्वाचन जितिसकेपछि आफू एमालेको मात्र नभई सिंगो प्यूठानी आम नागरिकहरुको मनको प्रतिनिधित्व गरेर काम गर्ने बताए ।
‘अरुको साहारामा चुनाव जित्ने र जितिसकेपछि एकपटक पनि गाउँ नफर्किने उम्मेदवार म होइन्’,थापाले भने,‘म जुनसुकैबेला पनि जनताकै साथमा छु र हुनेछु ।’ थापाले समृद्ध प्यूठान बनाउनका लागि आफूसँग स्पष्ट खाका रहेको समेत सुनाए । ०७४ मा एमालेको साहारामा चुनाव जितेर प्यूठानीलाई धोका दिएका उम्मेदवार फेरी मत माग्न आउनु नैसर्गिक अधिकार नभएको समेत थापाले बताए ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा आवद्ध नेता, कार्यकर्ताहरुलाई आफ्नो उम्मेदवार नभएर दु:ख नमान्न समेत थापाले आग्रह गरेका छन् । कांग्रेस र माओवादीमा आस्था राख्ने मतदाताहरुको समेत आफू अभिभावक बनेर काम गर्ने उनले सुनाए ।
पहिलोपटक निर्वाचन लडेका थापाले आफूलाई प्रतिनिधी बनाएर पठाई कामको मूल्यांकन गर्नसमेत आग्रह गरे । एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज समेत रहेका थापाले प्रधानमन्त्रीको पूर्व प्रेस सल्लाहकार भएर काम गरेका थिए । प्यूठानका नौ स्थानीय तहमध्ये हालसम्म ६ वटा पालिकामा चुनावी सभा र भेटघाट कार्यक्रम सम्पन्न भइसकेको एमाले प्यूठानले जनाएको छ ।
सत्ता गठवन्धनबाट प्यूठानमा प्रतिनिधीसभा सदस्यमा राजमोकी दुर्गा पौडेल उम्मेदवार छिन् । उनले ०७४ मा बामगठवन्धनबाट चुनाव जितेकी थिइन् । पौडेललाई त्यसबेला एमाले माओवादीले साथ दिएका थिए भने अहिले कांग्रेस, माओवादीले सघाएका छन् । तर, अघिल्लो निर्वाचनजस्तो पौडेललाई यसपाली सहज देखिदैन् ।
चुनावी सभालाई सम्वोधन गर्दै प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर १ का उम्मेदवार तुल्सीराम शर्मा, संविधानसभा सदस्य हिरा बहादुर केसी, धन बहादुर रायमाझी, एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्ट लगाएतले सम्वोधन गर्दै यसपाली प्यूठानमा एमालेको जित सुनिश्चित रहेको ठोकुवा गरे ।