Butwal Today

नेकपा एमालेमा विवाद, रावलको निष्कासन र पाण्डे-तिम्सेनाको निलम्बनको निर्णय

११ पुष २०८१, बिहीबार
अ+
अ-

काठमाडौं ।

भीम रावललाई पार्टीबाट निष्कासन र विन्दा पाण्डे तथा उषाकिरण तिम्सेनालाई ६ महिना निलम्बन गर्ने निर्णयका कारण नेकपा एमाले पंक्ति विभाजित भएको छ।

पार्टीको एक हिस्साले रावललाई निष्कासन गर्ने र पाण्डे र तिम्सेनालाई निलम्बन गर्ने निर्णयको समर्थन गर्दै त्यसलाई रक्षा गरिरहेका छन्। बुधबारको सचिवालय बैठकमा पनि केही पदाधिकारीहरूले कारबाहीको निर्णयमा खुलेर समर्थन जनाएका थिए। बैठक स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र सचिव रघुबीर महासेठ कारबाहीको पक्षमा उभिएका थिए।

तर, केही पदाधिकारीहरूले भने निष्कासन र निलम्बन जस्ता चर्का निर्णय लिनु हुँदैन भन्ने अडान राखेका थिए। ती पदाधिकारीहरूका अनुसार उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेले निष्कासनको निर्णयलाई समर्थन नगरेका थिए। यसैगरी, उपमहासचिव प्रदीपकुमार ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण बिष्ट र योगेश भट्टराईले पनि कारबाहीको प्रस्तावमा फरक मत राखेका थिए।

पार्टीको निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै ४ कात्तिकमा तीनै जनालाई स्पष्टीकरण सोधिएको थियो। पाण्डे र तिम्सेनाले १२ कात्तिकमा स्पष्टीकरणपत्र बुझाएका थिए, जसको आधारमा निलम्बनको निर्णय लिइएको पार्टीले जनाएको छ।