© २०२३
बुटवल,१८ कात्तिक । सत्तारुढ दल नेपाली कांग्रेसका नेतादेखि कार्यकर्ताले नेकपा एमालेले अघि सारेको रेल र सुरुङमार्गको आयोजनाहरुको आलोचना गर्दै आएका थिए र छन् । तर अहिले कांग्रेसको केन्द्रले जस्तै लुम्बिनी प्रदेश समितिले पनि प्रदेशमा रेल चलाउने र सुरुङमार्ग बनाउने योजनासहित निर्वाचन घोषणा पत्र सार्वजनिक गरेको छ ।
घोषणापत्रमा शंकर पोखरेल नेतृत्वको सरकारले अघि सारेका योजनाहरु पनि समेटिएका छन् ।
घोषणापत्र सार्वजनीक गर्दै कांग्रेस सभापति अमरसिंह पुनले पार्टी केन्द्रको घोषणापत्रलाई आधार मानेर प्रदेशका कामलाई प्राथमिकता दिदै घोषणापत्र तयार गरिएको बताए ।
प्रदेशका मुख्य शहर रुपन्देहीको बुटवल, भैरहवा, दाङको तुलसीपुर, घोराही र बांकेको नेपालगन्ज कोहलपुरमा रेल संचालन गर्ने कांग्रेसको घोषणापत्रमा उल्लेख छ । यस्तै सिद्धबाबा, माडी र दाङमा सुरुङ मार्ग निर्माण गर्ने उसको योजना छ ।
नेपाली कांग्रेस लुम्बिनीले बिहीबार बुटवलमा सार्वजनिक गरेको घोषणापत्रमा लुम्बिनी विकास कोषलाई संघ र प्रदेशको सामुहिक कार्यक्षेत्रमा ल्याउनुपर्ने भनिएको छ । लुम्बिनीमा बौद्ध मुलुकबाट प्रसुति गराउन आकर्षित गर्न बर्थिङ सेन्टरका रुपमा विकास गर्ने घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रमा प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गर्ने, एक पालिका एक प्राविधिक विद्यालय बनाउने र स्टेम शिक्षा प्रणाली लागू गर्ने उल्लेख छ ।
यस्तै कृषितर्फ कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने, मल कारखाना खोल्ने, चिस्यान केन्द्र, जडिबुटी प्रशोधन केन्द्र बनाउने र कृषिलाई बजार र अनुसन्धासित जोड्न आवश्यक पूर्वाधारको स्थापना र स्तरोन्नति गरिने उल्लेख छ । यस्तै युवा तथा उद्यमशीलतातर्फ एक पालिका, एक पालिकास्तरीय उद्यम परामर्श र आविश्कार केन्द्र स्थापना, एक पालिका एक खेलकुद केन्द्र र पुस्तकालय स्थापना गर्ने भनिएको छ । यस्तै लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल र राप्ती विज्ञान प्रतिष्ठानलाई विशिष्टीकृत अस्पतालका रुपमा विकास गर्ने भनिएको छ । अत्यावश्यक औषधी उद्योग प्रदेशभित्रै स्थापना गर्ने, दीर्घरोग तथा डाइलासीसका विरामीलाई निशुल्क उपचार गर्ने, निरोधात्मक स्वास्थय सेवा संचालन गर्ने उल्लेख छ ।
पूर्वाधारतर्फ यस्तै कृषि र उर्जाका लागि नौमुरे, बबइ, शारदा कालीगण्डकी र माडी बहुउद्देश्यीय अयोजना अगाडि बढाइने बताइएको छ ।