प्यूठान, ०९ कार्तिक ।
महँगोमा बिक्री हुने अलैँचीलाई खोल्साको सुनको परिचय पाएपनि प्यूठानमा बजारीकरणमा समस्या देखिएको छ । जिल्लामा अलैँची किसानले उत्पादन बढाउँदै लगेपनि उचित मूल्य पाउन सकेको छैन । उत्पादन गरेर राखेको अलैँचीको बजारीकरण नै अन्यौलता छ ।
प्यूठानको गौमुखी गाउँपालिका–४ बाग्लीवाङका किसान हरी सुनारले महँगोमा बिक्री हुने खोल्साको सुन भनेर रोपेको अलैँचीले उचित मूल्य पाउन नसकेको गुनासो गरे । यस वर्ष १ सय किलोग्राम अलैँची उत्पादन गरेर घरमै थन्काउनु परेको छ । ‘सुकाएर तयार पारेको छु, बिक्री गर्न बाँकी छ’, सुनारले भने, ‘स्थानीय बजार बुझ्दा १ हजार ५ सय पनि नपर्ने देखिँदा दुःख लागेको छ ।’ गत वर्ष १ हजार १ सय प्रति के.जि.मै बिक्री गर्नु परेको थियो ।
शितलहर, खडेरी, आगो जस्ता प्रकोपबाट जेनतेन जोगाएर उत्पादन गरेको अलैँचीको बजारीकरणमा समस्या झेल्दै आएको नौबहिनी गाउँपालिका–१ स्याउलीवाङका किसान छविलाल घर्तिमगरले गुनासो गरे ‘भौगोलिक विकटता र बजार अभावमा अलैँची किसान समस्यामा प¥यौं ’ घर्तिमगरले भने,‘धेरै मिहेनत गरेर हुर्काएका केही बोट मर्ने, बचेका बोटबाट भएको उत्पादनले मूल्य नपाउँदा समस्या थपियो ।’ बजारीकरणमा सरकारी निकायबाट उचित पहल हुनुपर्ने उनको माग छ ।
जिल्लामा उत्पादन कम हुँदा बजारीकरणमा समस्या देखिएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख उमेशचन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार जिल्लाको गौमुखी गाउँपालिका र नौबहिनी गाउँपालिकाका गाउँहरूमा करिव २० हेक्टर क्षेत्रफलमा अलैचि खेती गरिँदै आएको छ । २० हेक्टर क्षेत्रफल मध्ये ५ हेक्टर क्षेत्रफलबाट करिव ३ दशमलव ५ मेट्रिक टन उत्पादन हुने गरेको छ । सरकारले केही वर्ष देखि अलैची खेतीका लागि कार्यक्रमहरू गरेपनि यस वर्ष कार्यालयको कुनै कार्यक्रम छैन् । ‘व्यवसायीक उत्पादन नहुँदा कुनै बजारीकरणको कार्यक्रम छैन्’ श्रेष्ठले भने,‘बजारीकरणमा किसानले जोहो गरेर विक्री गर्नु भएको छ भने, बोटमा रोग लागेर कुहिने समस्यामा केही सहयोग गरेका छौं ।’
१५ हेक्टर क्षेत्रफलमा रहेका बोटहरू थपिँदा बजारको थप आवश्यकता पर्ने हुन्छ तर बजार खोजीमा कुनै सरकारको भूमिका नदेखिदा अलैँची किसान निरास बन्दै गएका छन् । जिल्लामा उत्पादन भएको अलैँचीको मूख्य बजार नेपालगञ्ज हो । भारतीय व्यापारिले मुल्य नै नदिने समस्या भएको जडिवुटी व्यवसायी संघ प्यूठानका उपाध्यक्ष तथा अलैँसी किसान रुमान सिंह कुवरले बताए । गुणस्तरका हिसाबले नेपाली अलैँची धेरै राम्रो मानिए पनि बिक्रीका लागि भारतीय व्यापारीको मुख ताक्नु पर्ने बाध्यता चाँडै हटाउन सरकारले पहल गर्नुपर्ने आवश्यकता रहेको छ । धेरै आम्दानी दिने देखेर यसको खेतीतर्फ आकर्षित जिल्लाका किसान मूल्य स्थिर नहुने समस्याले भने निराश हुने गरेका छन् । बजारीकरणसंगै अलैँचीको उपचारका लागि जिल्लामा प्राविधिक कर्मचारीको व्यवस्थापन गरी किसानलाई प्रवर्धन गर्नुपर्ने कुवरको भनाइ छ ।