© २०२३
काठमाडौं,१३ कात्तिक ।
राष्ट्रपति र प्रधानमन्त्रीले छठपर्व, २०७९ का अवसरमा शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना गाढा बनाउँदै राष्ट्रिय एकता सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन्। उनले प्रकृतिको पूजा गरिने छठपर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त नेपालमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो हुने विश्वास व्यक्त गरेकी छिन्।
‘छठपर्वले समाजमा विद्यमान सबै प्रकारका विभेद र विसंगतिको अन्त्य गरी न्यायूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु’, उनको सन्देशमा उल्लेख छ।
राष्ट्रपति भण्डारीले छठको पावन अवसरमा विश्वभर रहेका नेपालीलाई सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन्।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्न मद्दत पुगेको बताएका छन्।
छठपर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले छठजस्ता सांस्कृतिक पर्व र संस्कार समाजका अमूल्य गहना भएको बताएका छन्। उनले छठ नेपाली समाजमा शान्ति, सद्भाव र पवित्रता प्रवर्धन गर्ने धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा प्रसिद्ध रहेको बताएका छन्।
‘यी पर्व तथा संस्कृतिले हाम्रो समाजलाई स्वच्छ र पवित्र राख्न, आपसमा सद्भाव र सहिष्णुता बढाउन, विविधताभित्र एकता कायम गर्न तथा समाजलाई गतिशील र जीवन्त तुल्याउन सहयोग पुर्याएका छन्’, उनले भनेका छन्।
प्रधानमन्त्री देउवाले छठ पर्वले सबैमा सांस्कृतिक सद्भाव, सहअस्तित्व, एकता र पारस्परिक सहिष्णुताको भावना अझ प्रगाढ र सुदृढ तुल्याउन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेका छन्।