© २०२३
तुलसिपुर–कालिमाटी हुँदै सुर्खेत जोड्ने सडक एक महिनादेखि अवरुद्ध छ । कालिमाटी गाउँपालिका सल्यानको मेरुदण्डको रूपमा रहेको यस सडकखण्ड अवरुद्ध हुँदा नागरिकलाई समस्या परेको छ । कालिका कन्ट्रक्सनले स्तरोन्नति गरिरहेको यस सडकखण्ड लगातारको वर्षाले ठाउँठाउँमा पहिरो झर्दा अवरुद्ध बनेको हो । विशेष गरेर दाङको बबै गाउँपालिका स्थित बगाले देखि सल्यानको कालिमाटी गाउँपालिका सम्मको सडकमा पहिरो झरेकाले कालिमाटीबासीलाई समस्या परेको छ । कालिमाटीका व्यापारी नोट बहादुर बुढाथोकीले कालिमाटीमा चाहिने दैनिक उपभोग्य सामग्री देखि हरेक सामग्री दाङबाटै आउने भएकाले सडक अवरुद्ध हुँदा धेरै समस्या व्यहोर्नुपरेको बताए । एक आधा घण्टाको समयमा कालिमाटीबाट दाङ पुग्न सकिने यस सडकखण्ड बन्द हुँदा महिना दिनदेखि सल्यान खलंगा हुँदै कपुरकोटबाट दाङ पुग्नुपर्ने बाध्यता रहेको छ । सडक सुचारु गर्नका लागी कालिमाटी गाउँपालिकाले कालिका कन्ट्रक्सनलाई पटक पटक आग्रह गरेको गाउँपालिकाका उपाध्यक्ष सनशिलता ओली डिसीले जनाइन् । तर कालिका कन्ट्रक्सनले सडकमाथिबाट झरेको पहिरो हटाएपनि लगातार परेको झरिले फेरि पहिरो झर्ने र सडक अवरुद्ध हुने समस्या रहेको उनले बताइन् । ‘ठेकेदारले पनि पटक–पटक बाटो खुलाउने काम गरिरहेको छ । तर फेरि पानी पर्छ र पहिरो झर्छ,’ उनले भनिन् ।
यसैबीच कालिमाटी गाउँपालिकामा नेपाल टेलिकमको नमस्ते फोन सेवा पनि एक महिना देखि अवरुद्ध छ । विद्युत र इन्टरनेट सेवाले नछोएको यस गाउँपालिकामा टेलिकमको ल्याण्डलाइन तथा स्काइ फोन सेवा छैन । तर भएको नमस्ते फोन सेवा पनि महिनौँ दिनदेखि बन्द हुँदा सेवाग्राहि मर्कामा परेका छन् । नमस्ते फोन सुचारु भएको अवस्थामा पनि बेला बेला समस्या आइरहने जनाउँदै स्थानीयले यसपालि त महिना दिन वितिसक्दा समेत अवरुद्ध सेवा सुचारु नहुँदा हरेक काम प्रभावित भएको र सबैसंग सम्पर्क विच्छेद भएको जनाएका छन् ।
फोन सेवा अवरुद्ध भएपछि कालिमाटी गाउँपालिकाले नेपाल टेलिकमलाइ मोवायल नेटवर्क भरपर्दाे र विशवाशिलो बनाउन आग्रह गरेको छ । उपाध्यक्ष डिसीले भनिन्, ‘मैले टेलिकमका प्रतिनिधीलाइ बिग्रिएको फोन सेवा यथाशिघ्र बनाउन आग्रह गरेँ । टेलिकमका प्राविधिकहरू बल्ल यहाँ आएका छन् ।’ कालिमाटी स्तीत मोवायल टावरमा विद्युत सेवा नहुँदा सोलारको भर पर्नुपर्ने स्थिति रहेको जनाइएको छ । र सोलार जडान गरिएको भएपनि ब्याट्रि ब्याकपमा समस्या रहेकाले नमस्ते मोवायल फोन सेवा प्रभावित हुने गरेको टेलिकमले जनाएको छ । फोन सेवा अवरुद्ध हुँदा गाउापालिका कार्यालय तथा विभिन्न सरकारि तथा गैरसरकारि संघसंस्था, कार्यालयका काम प्रभावित भएका छन् । साथै व्यापारि, व्यवसायी र आम सेवाग्राहीहरूले पनि समस्यामा परेको बताउँछन् ।
पश्चिम क्षेत्रको बनगाड कुपिण्डे नगरपालिका वडा न ५ राउँचे स्थीत लाटुगैरेमा रहेको नेपाल टेलिकमको नमस्ते फोन सेवाको टावर अवरुद्ध भएको छ । ६ महिना अघि फागुनमा मात्र सञ्चालनमा आएको टावर शुक्रवार देखि अवरुद्ध हुदा बनगाड कुपिण्डेको वडा न १, ४, ५ , ६ र सिद्धकुमाख गाउँपालीकाको केहि भाग तथा छिमेकी जिल्ला सुर्खेतको सिम्ता गाउँपालिकाको केही भागमा सञ्चार सेवा अवरुद्ध भएको छ । सञ्चार सेवा अवरुद्ध हुदा त्यस क्षेत्रका नागरिक मर्कामा परेका छन् । नेपालगन्ज बाके नेपाल टेलिकमले कार्यालयले भने खराबी आएको र त्यसको समस्या समाधान गर्ने सुर्खेत टेलिकमलाई निर्देशन दिएको प्राबिधिक शिव खनालले जानकारी दिएका छन् । photo: file