© २०२३
तीजको खाजा मिठो पोलेका तामाले
नरोउ भान्जी लिन आउँला भन्थे मामाले ।
मामा आउँछन भनेर बाटो हेरी कुरेर
किन आउँथे पापी मामा माइजु छोडेर ।
यतिखेर तिजले बजार तातेको छ । अचेल तिज आउन एक महिना पहिलेदेखि नै महिला दिदी बैनीहरूको दर खाने कार्यक्रम चलिरहेको छ । यो चाड बिशेषगरि महिलाहरूकोमात्र भनेर चिनिने गर्छ । यस पर्वमा हिन्दू नारीहरूको जमघट राम्रै हुने गरेको छ । यो जमघटमा बिगतका दिनहरू देखिनै लामो समयदेखि भेट नभएका दिदी बैनीबीच भेटघाट हुने र भलाकुसारी गर्ने गरेको देख्न सकिन्छ । तिजलाई हिन्दु महिलाहरूको महान पर्वको रूपमा लिने गरिन्छ । यो भनिरहँदा पाटी तथा संघसँस्थामा आवद्ध कुनैपनि धर्म मान्ने महिलाहरूले पनि यो तिज कार्यक्रममा भाग लिने र दर खाने नाच्ने गाउँनेमा भाग लिने गर्दछन । जसले गर्दा तिज हिन्दु महिलाको मात्र नभएर सम्पूर्ण जाति र भाषाका महिलाहरूको पर्व हुन पुगेको छ । बर्षदिनमा एकपल्ट आउने पर्व तीजले यतिखेर सबैमा उमंग ल्याएको छ ।
आगनीको डिल बसी काली कौवै करायो
केकुमा समाचार ल्यायो बरिलै ।
पहिलो समाचार कागतुको चिर्कटो
दोसरी खबर तिम्लाई लिन हो ।
मेरो माया हुँदो हो त बाबा लिन आउँदा हुन
कागतुको चिर्कटाले जान्न बरिलै ।
कुनै बेला थियो दिदी बहिनीहरूले गाउने यस्ता गितले सबैको मन छुने गथ्र्यो । बर्षको एकपटक आउने हरितालिका तिजले आफ्नै मौलिकता बोकेको पाइन्छ । परापूर्वकालदेखि मान्दै र मनाउदै आएको तिज पर्व परम्परा धान्ने मात्र नभएर लोक संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने मान्यता बोकेको पाइन्छ । हरितालिका तीज बिशेषगरी दर खाने दिन, रमाइलो गर्ने दिन, बर्त बस्ने दिन र ऋषि पंचमीको पुजा गर्ने दिन गरी पाँच दिन मनाउने हो भनेर बुझने गरिन्छ । यो भनिरहँदा करिब दुई दशकदेखि यो पर्व महिना दिनको हुन पुगेको छ । महिना दिनभरिनै दर खाने नाममा पनि यसलाई मनाउने गरिएको छ । बिभिन्न पाटीका महिला संघ र संगठनहरूले तिन दशक पहिलेदेखि महिलाका हक अधिकारका बिषय उठान गरेर महिलाका पीर ब्यथाहरूलाई तिज गीतमार्फत महिलाको बाक्लो उपस्थितिमा ब्यक्त गर्दै नाच्दै मनाउदै आएका थिए । पछिल्लोसमय टोल संस्था, पाटीहरू र संघ संस्थाहरू गर्दै महिना दिन मनाउने र तीजका नाममा दर खाने नाच्ने गाउने चलनमा परिणत भएको छ ।
हिंजोका दिनमा र अहिलेको अवस्थामा तिजले धेरै रंग बदलेको छ । बिगतमा छोरी चेलीलाई सानोमा बिबाह गर्दिने चलन थियो । टाढा टाढा अर्काको घर पुगेका चेलीहरूलाई तिजमा लिन जाने चलनले ठूलो महत्व राख्ने गर्दथ्यो । यातायातको व्यवस्था नभएको अवस्थामा बाटाघाटा पनि राम्रा थिएनन् । पैदल हिंडेर उकाली ओराली र घनघोर जंगलको बाटो असिना पसिना गर्दै लिन जानुपथ्र्यो । कुनै कारणबश लिन नआए छोरी चेली धरधरी रोएर तिजको भाकामा मनका बह पोख्दथे । धेरै दुःख कष्ट गरेर दिदी बैनी वा छोरीलाई लिन जाँदा पनि नपठाए मन खिन्न पारेर दाजुभाई वा बाबु फर्किने गर्थे र त्यो पनि एउटा दुःखदायी दिन हुने गथ्र्यो । यसै पिडामा आधारित मौलिक तिजका गीत गाएर तिजको डाँडो घन्किने गथ्र्यो ।
खर काटेको खरान गाइभैंसीलाई चरन
घोंडीलाई चरन चौर बरीरै ।
म एउटी छोरीलाई नौं डाँंडा कटायौ
हाम्रा बाबा के दयालु छौर बरिलै ।
जस्ता गीतले धेरै आमा बाबुको मन छुने गर्दथ्यो । हाम्रो चाल चलन, रीतिथिती, परम्परा अनुसार छोरीहरूलाई बिबाह गरेर टाढा पठाउने चलनले गर्दा दश भाई छोरा जन्म घर अटाउने एउटा भएको छोरीलाई पराई घर पठाउनु पर्ने बाध्यतालाई यस्ता गीतले छुने गर्दथ्यो । सानै उमेरमा पराईघर गएपछि ढिंकी जांतो र बस्तुभाउ सबै समाल्नु पर्ने छोरी चेलीलाई सारै कष्ट थियो । यसैले गर्दा बर्ष दिनको तिजमा माइतीमा गै तिज गीतमार्फत मनका पिडा र बिलौना पोख्ने गर्थे र केही दिन भए पनि आमाले पकाएको खाना, खाजा खाएर आराम गर्ने गर्दथे ।
तीज आयो भनेर सबै जान्छन माइत
हाम्रा माइती मुग्लाङ पसे छैन साइत ।
माइती मेरा हुंँदा हुनत तिजमा माइत जाँंदी हुँ
आमाले पकाएको दर खांँदी हुँ ।
जस्ता गीतहरू महिलाहरूले गाउने गर्थे । गाउँं पहाडमा डांँडाका चौपारी र चौर तीजका महिलाले भरिएर रातै रातै रंगिन्थ्यो । धेरै पछि भेट भएका बालसखासंग गित गाएर छमछम नाचेर रात पार्ने चलन थियो र बल्ल तिज आएजस्तो लाग्थ्यो । पछिल्लोसमय युटुबबाट स्पीकरमा बज्ने रेर्कडेड गीत अनि त्यसैमा तिजको गीत पनि दोहोरीमा परिणत भएको छ । पुरानो तीजको झझल्को मेटाएको छ । हुन त बिगत जस्तो अहिलेको अवस्था छैन, हातमा ठेला थाप्लोमा नामलोको डाम जस्ता कुराहरू देख्न बिकट गाउंँतिर लाग्नुपर्छ । अहिले प्रायका हातहातमा मोबाइल फोन छन । जेसिभीले भिरपाखा खनेर बाटो बनाइएको छ । प्रायजसो घरका मानीस बैदेशिक रोजगारमा छन । बिगतमा जस्तो तिजमा लीन आएनन भनेर रुनु पर्दैन र लिन आउने र नआउने बारेमा पनि छिन भरमा मोबाइलले बताइहाल्छ । दाजुभाई दिदीबैनी सबैलाई सजिलो भएको छ ।
अहिले तिजमा देखिएको भड्किलो चलनलाई बरु नियन्त्रण गर्नुपर्ने देखिएको छ । कोरोना कहर अगाडी देखिएको तिजको भडकिलो चलनलाई तिन बर्ष जति कोरोनाले रोक्ने काम गर्यो । जुन तिज भन्दा एक महिना पहिलेदेखि बिभिन्न प्रोग्रामको नाममा महंगो टिकट बिक्री गरेर कसैकसैलाई जबरजस्ती टिकट किन्न बाध्य पारेरमहंगा होटलमा दर खुवाउने नाममा सब थोक राखेर खुवाउने चलन बढ्दो थियो । भड्किलो तिज केहि समय कोरोनाका कारण बे्रक लाग्न पुग्यो, यो सबैको धेरैबाट आलोचना हुन गयो । जसका कारण यो गतिबिधिमा केही कमी हुन गएको देखिएको छ । तिजका नाममा भएका जति संघसस्थाले दर खानुपर्ने, महिलाको नाम बेचेर सबैले दर खाएर खर्च बढाउनु पर्ने जस्ता गतिबिधीमा नियन्त्रण गर्नुपर्छ भन्ने लाग्छ ।
कोरोना महामारी पछि सबैभन्दा धेरै यो बर्ष आर्थिक मन्दी छाएको देखिएको छ । ब्यापार ब्यबसाय चौपट छ । शहरका घरका सटर फल्याट खाली छन । दैनिक उपभोग्य सामान किन्न मानीसलाई धौ धौ परेको छ । धेरैजसो मानिस ऋणले चुर्लुम्म डुबेका छन । यस्तो अवस्थामा लस्करै आएका चाड पर्वलाई ढाक्न सर्वसाधारणलाई हम्मेहम्मे परेको छ । परम्पराका नाममा मनाउदै आएका असार पन्ध्र, साउने सक्रान्ती, नागपन्चमी, जनैपूर्णीमा, कृष्ण जन्माष्टमी, कुशे औंशी र हरितालिका तिज जस्ता पर्वहरूले घेरीसकेको छ । मुख्य चाड बडा दशैं, तिहार र छठ त लाइनमै छन । कसरी यी पर्वहरूलार्ई धकेल्ने होला भनि धेरैको मनमा ढ्यांग्रो ठोकेको छ । यस्तो अबस्थामा तिजलाई भडकिलो बनाउने तिर लाग्नु हुंदैन भन्ने लाग्छ ।
यो बर्षको तिज महिला हिंसा र पिडाको तिज बन्न पुगेको छ । तिजको मुखमा नेपाली चेली ममता काफ्लेको अमेरिकामा निर्मम हत्या आफनै श्रीमानबाट भएको छ । बर्ष दिनकी बच्ची निमा टुहुरी बनेकी छिन । बच्चालाई स्तनपान गराइरहेकी आमा मारिएकी छिन । सानो बच्चा स्तनपानबाट बञ्चित हुन पुगेकी छन । यस्तै अर्को घटना अमेरिकामै घटेको छ । कोठामा गोली हानेर अर्की नेपाली चेली मारिएकी छिन । यस्ता घटनाहरूले यो बर्षको तिजमा खासै रौनकता ल्याउने देखिँंदैन । परम्पराका रूपमा मनाउदै आएको हरितालीका तिज सबै नेपाली चेलीले मनाउन सक्ने हुनुपर्छ । केही हुने खाने बिशेषगरेर शहरका महिलाहरू महिना दिन पहिलेदेखि यो पर्व मनाइरहेका छन । हुँंदा खाने चेलीहरू राम्रो लगाउन, एक दिनको तिजको दर खान पनि सकिरहेका छैनन् । यसैले सबैले मनाउन सक्ने हरितालीका तीज बन्नुपर्छ । केही चिटिक्क सजिएर बाटोमा नाच्दै हिंँडदा केहीको मन खिन्न नहोस । प्रत्येक बर्ष यसै आउने तिज भडकिलो र खर्चिलो नबनोस, आयो चाड ढोल बजाइ, गयो चाड ऋण बोकाइ भन्ने दिन नआओस् भन्दै सबैमा तिजको शुभकामना ।