© २०२३
दाङ, १४ भदौ ।
तत्कालीन १० वर्षे सशस्त्र द्वन्द्वका बेला आफन्त गुमाएका तथा बेपत्ता भएकाहरुको परिवारले लामो समयसम्म न्याय पाउन नसकेको दुखेसो पोखेका छन् । बलपूर्वक बेपत्ता विरुद्धको दिवसका अवसरमा शुक्रबार दाङको घोराहीमा आयोजित कार्यक्रममा सहभागी द्वन्द्वपीडितहरुले आफन्त बेपत्ता भएको लामो समयसम्म पनि लास वा सास केही पनि पत्तो पाउन नसकेको पीडा सुनाएका छन् । बलपूर्वक बेपत्तासँगै ज्यान गुमाएका आफन्तहरुले हरेक दिन विगतको पीडा सहेर बाँच्नु परेको दुख सुनाएका छन् ।
द्वन्द्व पीडित सन्जाल दाङ, द्वन्द्व पीडित राष्ट्रिय सन्जाल, नेपाल महिला सामुदायीक सेवा केन्द्र र औपचारिक सेवा केन्द्र (इन्सेक) को संयुक्त आयोजनामा बलपूर्वक बेपत्ता पार्ने विरुद्धको २४औँ अन्तराष्ट्रिय दिवसका अवसरमा सहभागी बेपत्ता नागरिकका आफन्तले चाँडो सत्यतथ्य पत्ता लगाउन सरकारसँग माग गरेका हुन् ।
घोराही उपमहानगरपालिका १७ पचुर्खाका विरजु चौधरी २०५९ साल चैत १९ गते काम बिशेषले घोराही बजार आए । उनलाई घोराही १४ मा रहेको दुरसञ्चार कार्यालयको नजिकैबाट तत्कालीन शाही सेनाले गिरफ्तार गरेको खबर उनको घरपरिवारमा पुग्यो । उनकी श्रीमती कृष्णा चौधरी अर्कोदिन आर्मी क्याम्पमा श्रीमानको खोजीमा पुगिन् । तर, आजका दिनसम्म उनले श्रीमानको अवस्था बारे थाहा पाउन सकेकी छैनन् ।
श्रीमान आउने प्रतिक्षा गर्दागर्दै आज २२ वर्ष बितिसकेको छ । त्यो बेला ३ र १ वर्षका छोराछोरी ठूला भैसके । छोरीको विहे भैसकेको छ । छोरा कमाउन भारत गएका छन् । कमाउने घरका मुली नै बेपत्ता भएपछि घरमा आर्थिक समस्या भएपछि छोरालाई मुग्लान पठाउनु परेको छ । श्रीमानको मृत्यु भएको प्रमाण ल्याए राहत रकम दिने सरकारले घोषणा गरेपछि उनले न्यायीक मृत्यु घोषणा गरेर राहत रकम त लिइन् तर मनको पीडा आजसम्म सेलाएको छैन ।
‘घरको मूलि बेपत्ता भएपछि आर्थिक जोहो गर्ने मानिसको अभाव भयो छोराछोरी पढाउन सजिलो होला भनेर मृत्यु दर्ता गरेपनि मनले स्वीकारेको छैन’ कृष्णाले भनिन् ‘अझैपनि आउनुहुन्छ की भन्ने आश लागेको छ सरकारलाई खोजबिन गर्न आग्रह छ ।’
घोराही उपमहानगरपालिका– १७ गैरागाउँकी चुमा आचार्यको पीडा पनि कम छैन । उनी २८ वर्षको छँदा उनको श्रीमान बेपत्ता भएका हुन ‘श्रीमान् बेपत्ता भएको २२ वर्ष भयो न चुरा सिन्दूर फाल्न सक्छु न त खुसीले लाउन पाउँछु । एकल महिला भत्ता पाउन श्रीमानको मृत्यु दर्ता गराउन भन्छ । लास नदेख्दै कसरी मृत्यु स्वीकार गरूँ खै ?’ चुमाले भनिन ‘ससुराको अंश आफ्नो नाममा गराउन पाएको छैन । मेरो कारण अंश पाउन नसक्दा जेठाजुहरू रिसाउन थालेका छन् । आजका दिनसम्म बालबच्चा के गरी पालेको हुँला, के गरी घरव्यवहार धानेको हुँला ।’
उनी जस्तै बेपत्ता परिवारकी दंगीशरण – ३ का मसुरी चौधरी २०५९ सालमा श्रीमान् बेपत्ता हुँदा ३ महिनाकी गर्भवती थिइन । ३ वर्षको छोरा र ७ महिनापछि जन्मिएकी छोरीलाई ज्याला मजदुरी गरेर पढाइन । ‘श्रीमानको नाममा आउने अंश आफ्नो नाममा ल्याउन अन्तिम विकल्पका रुपमा श्रीमानको न्यायिक मृत्यु दर्ता गरेर काम गर्नुपर्यो । लास नदेखे पनि मृत्यु दर्ता गर्न बाध्य भएँ । ‘श्रीमान हराएको २२ वर्षसम्म मेरो जीवन कसरी चल्यो म आफै भन्न सक्ने अवस्थामा छैन’, उनले भनिन् ।
द्वन्द्वपीडित राष्ट्रिय महिला सञ्जाल दाङकी लक्ष्मी चौधरीले बेपत्ता परिवारका पीडा सबैको आ–आफ्नै रहेको बताइन् । उनले आफन्त गुमाउनुको पीडाबोध गर्न निकै गाह्रो हुने भन्दै बेपत्ताको अवस्था अज्ञात हुँदा यसले पारेको असर अझ गम्भीर रहेको बताइन । ‘सबै भन्दा गाह्रो पर्खाई रहेछ । युद्धले परिवर्तन त भयो होला तर पीडितका पीडा कम भएनन् । अब स्थानीय तहले पनि द्वन्द्वपीडितका समस्याका बारेमा ध्यान दिन पहल गर्नुपर्छ ।’
नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ, द्वन्द्वपीडित सञ्जाल, ईन्सेक र द्वन्द्वपीडित राष्ट्रिय महिला सञ्जालको संयुक्त आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले बेपत्ता परिवारलाई न्याय दिन टीआसी विधेयक कानून बनाएर अबिलम्ब कार्यान्वयनमा ल्याउनु पर्ने बताए । शान्ति प्रकृया अघि बढेको यतिका वर्षसम्म पनि पीडितले न्याय पाउन नसकेको भन्दै यो पीडाको यात्रा अब नलम्ब्याउन आग्रह गरे ।
दाङमा १ सय २६ जना बेपत्ता भएको तथ्यांक छ । यसैगरी, ३ सय ४५ जनाको द्वन्द्वका क्रममा मृत्यु भएको थियो भने एक हजार बढीको अंगभंग भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठलगायत बोलेका थिए ।