© २०२३
नेपाल सरकारले बन्द भएका तथा रुग्ण अवस्थामा रहेका उद्योग चलाउने घोषणा बर्षौदेखि गर्दै आएपनि उद्योग सञ्चालनको वातावरण तयार नहुँदा युवालाई नेपालमै रोजगारीको अवसर दिने काम प्रभावित भैरहेको छ । बन्द रहेका दर्जन बढी सरकारी उद्योग र नीजि स्तरका रुग्ण उद्योग सञ्चालन भए त्यसबाट हजारौं युवाले रोजगारीको अवसर पाउनेछन् । तर सरकार त्यस दिशामा कहिल्यै सकारात्मक हुन सकेन् । केवल घोषणामात्रै गर्ने तर कार्यान्वयन नगर्ने सरकारी रवैयाले अहिलेसम्म रुग्ण र बन्द उद्योग खण्डहरमा परिणत भैरहेका छन् । बुटवल धागो कारखाना बुटवलको मात्रै होइन, नेपालकै गहना हो । हेटौँडा कपडा कारखाना, गोरखकाली रबर उद्योग लगायतका दर्जन बढी उद्योग लामो समयदेखि बन्द अवस्थामा रहेका छन् । तिनको सञ्चालनको वातावरण तयार भएको छैन् । सरकारले यस बिषयमा खासै चासो दिएको छैन् । सरकार युवाजति विदेश गएकोमा चिन्ता ब्यक्त गर्दछ तर स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उद्योग चलाउन किन तयार हुँदैन ? प्रश्न उत्पन्न हुनु स्वाभाविक छ । औद्योगिक व्यवसाय ऐनले वन्द उद्योग पुनः सञ्चालनका लागि बाटो खोलेको झन्डै २५ वर्ष पुगे पनि सरकारी वेवास्ता र ढिलासुस्तीका कारण यस्ता उद्योग सञ्चालन गर्ने योजना अन्योलमा परेको छ ।
सरकारले समय–समयमा पुनः सञ्चालनको आश्वासन दिँदै आएकोमा नीजि क्षेत्र आशाबादी रहेपनि विश्वास गरिहाल्ने अवस्थामा पुगेको छैन । नेपालको रुग्ण उद्योगमा अर्बौं पुँजी फसिरहेको छ । बन्द उद्योगमा ठूलो मात्रामा सरकारको पुँजी डुबेको छ । औद्योगिक व्यवसाय ऐन २०४९ ले रुग्ण उद्योग पुनः सञ्चालनका सम्बन्धमा व्यवस्था गरेको थियो तर तीन दशक बितिसक्दा पनि त्यसलाई कार्यान्यवन गर्न आवश्यक नियमावली ल्याउन कुनैपनि सरकार तयार नहुनु चिन्ताको कुरा हो । सरकारको ढिलासुस्ती र मूकदर्शक बन्ने प्रवृत्तिले समस्या उत्पन्न भएको छ । उद्योगमा उचित व्यवस्थापन नहुनु, अनियमितता, अवैज्ञानिक मूल्य निर्धारण, परियोजना लागत वृद्धि, चालु पुँजीको अभाव, अध्ययन अनुसन्धानको कमी, नीति, ऐन, नियममा अस्थिरता, हडताल एवम् तालाबन्दी लगायत कारण ती उद्योग विगतमा रुग्ण बनेका थिए । ठूलो लगानी भइसकेका र सरकारको सानो सहयोगले पुनः सञ्चालनमा आउन सक्ने उद्योगलाई राज्यले चलाउनेतर्फ ध्यान नदिनु युवालाई विदेश जान अझै प्रेरित गर्नु हो भन्दा अतिसयोक्ति हुँदैन ।
विगतमा बन्द उद्योग चलाउन धेरैपटक छलफल भए । सरकारले सहुलियत दिने कुरा पनि उठ्यो । रुग्ण उद्योग सञ्चालनका लागि वातावरण तयार गर्न नीजि क्षेत्रले समेत होस्टेमा हैंसै गर्ने कुरा आयो तर सरकारकै ढिलासुस्ती र अरूचीका कारण उद्योगहरू रुग्ण भैसकेका छन् । उद्योगमा खिया लागेको अवस्था छ । अझैपनि संचालनको बाताबरण तयार भए मर्मत गरेर चलाउन सकिने अवस्था छ तर अब ढिलाई गर्ने हो भने निश्चितरूपमा यी उद्योग सधैका लागि बन्द हुनेछन् । तसर्थ केपी ओली नेतृत्वको सरकारले यो बिषयमा छिटै निर्णय गरोस् । सरकारीमात्र होइन बन्द भएका नीजि क्षेत्रका रुग्ण उद्योग संचालनका लागि पनि सरकारले प्रोत्साहन गरोस् । सरकारले त्यस्तो उद्योगले पाउने छुट, सुविधा तथा सहुलियत निर्धारण गरी उद्योग सञ्चालन गर्न, लगानीका लागि थप पुँजीको व्यवस्था गर्न, उद्योगको व्यवस्थापनमा परिवर्तन गर्न वा नेपाल सरकारले आवश्यक ठानेको अन्य कुनै उपाय अवलम्बन गरी उद्योग सञ्चालन गर्ने व्यवस्था मिलाउन सकिने भएकोले उद्योगहरू चलाउन सकिने कुरामा कुनै विवाद छैन् । अतः सरकारको यस बिषयमा ध्यान जाओस् ।