© २०२३
प्युठान, ११ भदौ ।
प्युठान नगरपालिका– ९ र १० बुढादेवीमा विस्थापित परिवारको पुनःस्थापनाको कुनै टुंगो छैन् । एक महिना अघि घरमा बाढी पस्दा विस्थापित परिवारको पुनःस्थापना नहुँदा पीडितहरू चिन्तित छन् । आफन्त, भाडाको घरमा बसेका पीडितहरूलाई सरकारले पुनःस्थापना गर्न कुनै कदम नचालेको गुनासो गर्न थालेका छन् ।
साउन १० गते भुसवाङ खोलामा लेदो सहितको बाढी आइ घरमा पस्दा प्युठान नगरपालिका–९ र १० का १५ घर विस्थापित भएका थिए । त्यस मध्ये ७ घर पूर्ण रूपमा विस्थापित छन् । प्युठान नगरपालिका–१० की बाढी पीडित पार्वता सुनारले सरकारले आफ्नो आवासको टुंगो लगाइदिनु पर्नेमा केही चासो नदेखाएको गुनासो गरिन । गत वर्ष पनि वर्खा याम शुरु भएपछि विस्थापित भइ दुई महिनामा घरमा फर्केको बताइन । विस्थापित समयमा स्थानीय सरकारलाई सुरक्षाको लागि अनुरोध गरेपनि वेवास्था गरेका कारण यस वर्ष पनि सोही नियती भोग्नु परेको छ ।
‘हाम्रो माग सुनुवाई भएन, सोही कारण यस वर्ष समस्या थप भइ विस्तापित हुनुप¥यो,उनले भनिन्,‘यस वर्ष त घर फर्किन मिल्ने छैन् अव कहा जाने ? कति दिन अरूको घरमा बस्ने ?’
सुनार प्युठान नगरपालिका–९ पारपाखा स्थित देवरको घरमा सहारा लिएर बसेकी छन् । पक्की घर काम नलाग्ने भएपछि श्रीमानको जीवनभरको कमाई खेर गएको छ । घर बनाउनका लागि जग्गा भएपनि पुरिएर क्षतिग्रस्त घर बनाउँदाको ऋणले घर बनाउन नसकिने अवस्था रहेको उनको भनाइ छ ।
प्युठान नगरपालिका–१० कै लिल बहादुर नेपालीको घरमा बाढी पस्दा बस्न योग्य छैन् । स्थानीय बजारमा जुत्ता सिलाएर गुजारा गरेका उनी पनि पुनःस्थापनाको पर्खाइमा रहेको बताउछन् । ‘हामी हाम्रा जग्गामा घर बनाउन चाहन्छौं’ नेपालीले भने,‘त्यसका लागि स्थानीय तह सहित सबै सरकारले चासो सहयोग गर्नुप¥यो ।’ बाढीले सताइरहेको क्षेत्रको सुरक्षाका लागि दीर्घकालिन योजना लिनुपर्ने उनको भनाइ छ ।
प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु योगीले बाढीपीडितहरूको विषयमा छलफल गर्न कार्यपालिकाको बैठक आयोजना गरी छलफल गरिने बताए । उनको भनाइ अनुसार बाढी प्रभावित भएको एक महिनासम्म विस्थापित परिवारको पक्षमा कुनै योजना बनाउन सकेको छैन् । ‘बाढी रोक्नका लागि नगरपालिकाले बायोयञ्जिनियरिङ गर्न डिपिआर गर्न थालेको छ ‘नगर प्रमुख योगीले भने, ‘डिपिआर पश्चात सबै सरकोरवालाहरूसंग अन्तरक्रिया राखेर तीनै तहका सरकारले काम गर्ने गरी समन्वय गर्दैछौ ।’
गत वर्ष मल्लरानी–४ खलङ्गा पातिहाल्ना बुकेनी सोलाहाल्ना हुँदै अर्घाखाँची गुल्मी जोड्ने सडक निर्माण भएदेखि खोलामा बाढी आउन थालेको छ । बुढादेविको शिरमा खलंगादेखि अर्घाखाँची जोड्ने सडक खन्दा भूक्षय रोक्ने कुनै विधि प्रयोग नहुँदा दुई वर्ष देखि बर्षायाममा समस्या झेल्दै आएका छन् । सडक डिभिजन कार्यालय प्युठानले भूक्षय रोक्न बायो इञ्जिनियरिङ गरेपनि पानी परेपछि बाढी रोकिएको छैन् । बुढादेवीका २३ घर बाढीबाट प्रभावित भएका छन् ।