© २०२३
अमरपथ भन्नाले बुटवल उपमहानगर पालिका वार्ड नं. ४ को पश्चिम र वार्ड न. ५ को पूर्वपट्टिको हाटबजारबाट दक्षिणतर्फको सीमा सडक भएर वार्ड न. ६ को बुद्ध मन्दिर प्रादेशिक अस्पताल उत्तरतर्फको राजमार्गसम्म जोडिने सडकलाई बुझिन्छ । यस सडकको उत्तर खण्ड शिल्पकला भवनदेखि दक्षिण डाँफे गल्लीसम्मको भागमा केही वर्षअघि पनि लगातार ३/४ घण्टा वर्षा हुँदा सडकमा पानी भरिने र भरिँदै आएको पानी डाँफे गल्लीबाट पश्चिम हुँदै खोल्सीमा जाने गरेको यहाँका स्थानीय बासिन्दा बताउछन् ।
अमरपथमा वर्षाको पानीको जलाधार क्षेत्रः
बुटवल उपमहानगर पालिका वार्ड न. ३ पुल्चोक उत्तर भत्केका पुल पूर्वको दक्षिणतर्फको पानी ढलदेखि हाटबजारसम्मको सम्पूर्ण पानी उपमहानगर पश्चिमको मुल सडक हुँदै अमरपथ प्रवेश गर्छ । बमघाट उत्तरको चुरेदेखि गोलपार्क, इलाका प्रहरी कार्यालय, सैनिक स्कुल, उच्च अदालत बुटवल, जेसिज चौक पश्चिमको सबै पानी पनि बुटवल उपमहानगरपालिका पूर्वको खोल्सी हुँदै अमरपथ मै आउँछ । २०७२÷०७३ सालसम्म अमरपथ पूर्वपट्टि मोहडा हुने अधिकांश घर जग्गाको पश्चिमतर्फ खोल्सी भन्ने सिमाना थियो । विकासपथको पश्चिम मोहडाका घरको पिछवाड र अमरपथको पिछवाडबिचको खोल्सीतर्फ खाली जग्गालाई बहुमूल्य बनाउन खोल्सीमाथि सडकको माग स्थानीय घर÷जग्गा धनीले फोहोर खोल्सीलाई ढाकछोप गरी त्यसैमाथि सडकको परिकल्पना गरे र त्यसमा बुटवल उपमहानगरपालिकाले लागत सहभागिता नहुने सर्तमा २०७४ सालमा निर्माणको स्वीकृति दियो । खोल्सीको दुवै किनाराका जग्गाधनीले निर्माणमा हुने खर्चको बन्दोबस्त गरी प्राकृतिक खोल्सीलाई कहिल्यै सफा गर्न नमिल्ने डिजाइनमा ढल बनाइयो । पहिलो चरणमा ढाकाटोपीको गल्लीको उत्तरदेखि डाँफे गल्लीसम्म निर्माण भएको खोल्सीमाथिको सडक (पछि त्यही सडकलाई न्यु रोड भनी नामकरण गरियो) समय क्रमसँगै दक्षिणतर्फ मृगेन्द्रकुमार शेरचनको घरको पश्चिमसम्म र उत्तरतर्फ काठेपुल (शिल्पकला) सम्म पुग्यो । यही अमरपथको खोल्सीमाथिको वाइपास सडक नै अमरपथ डुवानको कारण बन्यो । यो अदुरदर्शी र अव्यावहारिक निर्माणलाई सही र जोखिम रहित साबित गर्न अमरपथका घरजग्गा धनीकोको दबाबमा बुटवल उपमहानगरपालिकाले बमघाट गोलपार्क क्षेत्रबाट आउने पानीमध्ये एउटा निश्चित परिमाणभन्दा माथिको पानी इलाका प्रहरी कार्यालय दक्षिण सडकको उत्तरतर्फ हुँदै नलकुपको बिचबाट डाइभर्सन गरी तिनाउ नदीमा खसाल्ने गरी करोडौँ खर्चेर निर्माण गरियो जुन संरचना सञ्चालन नआउँदै काम नलाग्ने भयो । परिणामस्वरूप हरेक वर्ष लेदो माटोसहितको भल पानीले भिजेका पसलका मालसमान व्यवसायीका बलिनधारा आँसुले धुँदै केही दिन राख्दै फाल्नुपरेको छ ।
अमरपथको डुवान रोक्ने उपायहरू
क) अप्राकृतिक रूपमा खोल्सीमाथिका सबै संरचना हटाई साबिकको चौडाइसहितको खोल्सी पुनस्र्थापित गराउने ।
ख) यस खोल्सीको जलाधार क्षेत्र बमघाटदेखि तिनाउ नदीमा पुग्दासम्मको खोल्सी किनारामा सार्वजनिक जग्गामा निर्माण भएका सबै खालका व्यावसायिक, सामाजिक, धार्मिकलगायतका सबै संरचना हटाउनुपर्ने ।
ग) पुल्चोक र हाटबजार क्षेत्रको पानीलाई अमरपथ नआउने गरी वैकल्पिक व्यवस्थापन गराई तिनाउ नदीमा खसाल्ने प्रबन्ध मिलाउनुपर्ने ।
घ) इलाका प्रहरी कार्यालय दक्षिणको डाइभर्सनलाई निर्माणको समयमा परिकल्पना गरे अनुसार कार्यान्वयन गर्ने ।
ङ) अमरपथ सडकलाई पुल्चोकबाट हाटजार हुँदै आउँदा जस्तै अमरपथको सडक पनि दक्षिणतर्फ होचो गराउँदै कुला र नहरमाझैँ सररर पानी बग्न सक्ने गरी निर्माण गर्नुपर्ने ।
च) लेदो माटोसहितको बाढीका कारण बन्द खोल्सीभित्र थुप्रिएको माटोसहितको फोहोर नियमित सरसफाइ गर्ने प्रबन्ध मिलाउनुपर्ने ।
उपसंहार
बुटवल उपमहानगरपालिकाले बुटवलको मुख्य बजार क्षेत्रमा हुने डुबानको समस्यालाई आफ्नो सामर्थ्य र क्षमताले भ्याएसम्म तत्काल केही न केही कहीँ न कहीँबाट कामको थालनी गरी व्यवसायीलाई आश्वस्त पार्दै व्यावसायिक सुरक्षाको प्रत्याभूति दिलाउन जरुरी छ । आफ्नो श्रोत र साधनले नभ्याउने भएमा प्रदेश र सङ्घ सरकारलाई आव्हान गर्नुपर्छ । डुबानले कुन जातका मानिसको घर पसल भन्दैन । हिन्दु, बौद्ध, मुस्लिम, इसाई धर्म छुट्याउँदैन । महिलाको होस्, पुरुषको होस् अथवा अल्पसंख्यक तेश्रो समूहका साथीहरूको होस् लिङ्ग छुट्याउँदैन र थर पनि छुट्याउँदैन बरु पानीको जल सतह बढेपछि हुने डुबानमा कहीँ कतै पक्षपात गर्दैन । भेगीय हिसाबले बेनी र बाग्लुङबाट आएको मानिसको होस् कि गुल्मी, पाल्पा, अर्घाखाँचीबाट आएक मानिस होस् डुबानले फेरि पनि सबैलाई समान हानिनोक्सानी नै गर्छ ।
त्यसकारण मानव निर्मित संरचनाका कारण हुँदै आएको अमरपथ डुबानको नियन्त्रण गर्न निर्मित संरचना हटाएर गरोस् कि नियमित खोल्सी सफाइ अथवा इलाका प्रहरी कार्यालय दक्षिणको डाइभर्सन सुचारु गरेर होस् डुबानको अन्त्य हुनैपर्छ । अमरपथ बुटवलको कुनै एउटा स्थान मात्र होइन, यो व्यवसायसँग जोडिएका प्रत्येक व्यक्तिको व्यावसायिक गन्तव्य हो । बुटवलको व्यावसायिक प्रतिष्ठा बोकेको अमरपथलाई बाढीको मानसिक त्रास र भौतिक विनाशबाट रोक्नु प्रत्येक नेतृत्व लिने पर्टी वा व्यक्तिको दायित्व हो । विभिन्न कारणले व्यवसायमा क्षति बेहोरिरहेका व्यवसायीलाई मानव सिर्जित प्रकोपबाट तत्काल सुरक्षित नगर्ने हो भने यसले ठूलो वर्गलाई व्यवसायपृथक वा वैकल्पिक स्थान चयन गर्नुपर्ने अवस्थामा पु¥याउँछ । यस्तो अवस्थाको प्रत्यक्ष मारमा व्यवसायी देखिएपनि अप्रत्यक्षरूपमा स्थानीय सरकारले दीर्घकालीन मार बेहोर्नुपर्छ । अहिले देखिएको डुबानको विकल्प नखोज्दा भोलि व्यवसायीले अमरपथको विकल्प खोज्ने परिस्थिति नआओस् । त्यसैले समस्या समाधानमा सरोकारवालाको दृष्टि पुगोस् ।