© २०२३
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मुक्तिनाथ यादव (भोला यादव) ले आफ्नो वडा अन्तर्गत गरिने ब्यक्तिगत घटना सम्बन्धी कामहरू निःशुल्क गर्ने घोषणा गरेका छन् ।
वडा अध्यक्ष यादवले सार्वजनिक सूचना नै जारी गरि वडाबाट हुने जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता, सम्बन्धविच्छेद जस्ता घटना दर्ता निःशुल्क रूपमा गर्ने बताएका छन । स्थानिय तहहरूले कर बढाएको भन्ने गुनासो आई रहेको अवश्थामा वडा नं. ४ ले आफ्नो वडामा आउने सम्पूर्ण सेवाग्राहीलाई यस्तो सुविधा प्रदान गर्ने भएको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भोला उमेर अहिले २५ बर्ष मात्र पुगेका छन । सम्भवतः जिल्लाकै कान्छो रहेका यी जनप्रतिनिधिले कर छुट दिने मात्र हैन आफुले वडाबाट पाउने पारीश्रमिक पनि समाजसेवामा नै समर्पित गर्ने बताएका छन । उनले आफुले पाउने सेवासुविधाबाट वडाका नागरिकलाई सेवा दिने जनाएका छन । वडा अध्यक्ष यादवले आफुले पाउने मासिक पारिश्रमिक तथा भत्ताबाट वडा नम्बर ४ का नागरिकलाई स्वास्थ्य सेवा तथा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने बताए । वडामा आफ्ना पारिश्रामिकबाट वडामा रहेका विपन्न परिवारलाई पर्दा सहयोग गर्ने उनले बताए । “अरू केही नभए पनि एम्बुलेन्स बापतको रकम परिश्रमिकबाट दिने घोषणा गरेको हु ” यादवले भने । वडा नम्बर ४ का जनताले आफुलाई आफ्नो प्रतिनिधि चयन गरेको हुदा उनिहरूको समपूर्ण सुख दुखमा आफुले सहभागीता जनाउने यादवको भनाई छ ।
त्यस्तै नागरिकता, जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता, सम्बन्धविच्छेद जस्ता घटना दर्ता सिफारिसको पनि निःशुल्क व्यवस्था गरिएको उनले बताए । वडा नम्बर ४ का वडा अध्यक्षले गरेको यो घोषणाले सो वडामा मात्र नभई नगरमै तरङ्ग ल्याई दिएको छ । अरू वडाले पनि वडा नम्बर ४ का अध्यक्ष भोलाबाट सिक्नु पर्ने नगरवासीहरूको भनाई रहेको छ । संघिय समाजवादी फोरम नेपालबाट वडा अध्यक्षमा बिजयी यादव नगरमा फोरमका एक मात्र निर्वाचित वडा अध्यक्ष हुन । नेकपाको बहुमत रहेको नगर कार्य समितिमा उनले पटक पटक बिभिन्न निर्णयहरूमा एक्लै भए पनि असहमति जनाउँदै आएको बताए ।