© २०२३
नवलपुर, ४ भदौ ।
पुर्वी नवलपरासीमा अहिले डेङ्गु दिनानुदिन बढ्दै जान थालेको छ । नवलपुरमा डेङ्गु रोगबाट एक जनाको मृत्यु समेत भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका ७ का ६४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । बुटवल अस्पतालमा उपचारको क्रममा ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका किटजन्य रोग फोकल पर्सन डिल्लीराम तिवारीले असारको दोस्रो हप्तादेखी हालसम्म प्राप्त तथ्याङ्कअनुसार २४ जनामा यो रोगको पहिचान भएको बताए । जिल्ला भित्रका स्वास्थ्य संस्थामा परीक्षण गराएका मध्ये १३ जना पुरुष र ११ जना महिलामा रोग पुष्टि भएको हो । जसमा बिनयी त्रिवेणीमा सात जना, हुप्सेकोटमा आठ, देवचुलीमा तीन जना, मध्यविन्दुमा एक जना, गैडाकोटमा चार जना र बुलिङटारमा एक जना गरी २४ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
नवलपुरबाट अधिकांश चितवन लगायत जिल्ला बहिर समेत परीक्षणका लागि जाने र जिल्ला भित्रका पोलिक्लिनिक लगायतका निजी अस्पतालको रेकर्ड प्राप्त हुन नसकेकोले यो अझै बढ्न सक्ने उनले बताए । विशेषगरी भदौ र असोजमा डेङ्गु रोग बढी देखिने गर्दछ । यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्छ । वर्षातको महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोग देखिने गर्छ ।